कोरोनाले रोकेको भन्सार एजेन्टको परीक्षा फागुन २८ गते हुने
काठमाडौं । कोरोना भाइरसका कारण पटक/पटक रोकिएको भन्सार एजेन्टको लिखित परीक्षा फागुनमा हुने भएको छ । भन्सार विभागले बुधबार एक सूचना जारी गर्दै फागुन २८ गते भन्सार एजेन्टको परीक्षा तोकेको हो । यसअघि दुई पटक सम्म कोभिडका कारण लिखित परीक्षा स्थगित गरिएको थियो । पहिलो पटक गत जेठ २२ गते र दोस्रो पटक गत माघ १९ गते लिखित परीक्षाको मिति तोकिएको थियोे । तर उक्त समयमा कोरोना संक्रमणको उच्च जोखिम भएको भन्दै परीक्षा स्थगित गरिएको थियो । पछिल्लो समय पुराना भन्सार एजेन्टको पक्षमा सरकारी निकाय लागेको भन्दै विरोध समेत हुन थालेको थियो । विभागले २०७७ को चैत १६ गते ठूलो संख्यामा भन्सार एजेन्टको माग गरेको थियो । २० वर्षदेखि नयाँ भन्सार एजेन्ट थप हुन नसकेको भन्दै एकैपटक ६६० एजेन्टका लागि इजाजत खुला गरिएको थियो । दुई दशक यता भन्सार एजेन्ट नियुक्त गर्न नसक्दा हाल एक सय ७० जना एजेन्टमात्रै रहेका छन् । विभागले नयाँ माग गरेको एजेन्टका लागि लोकसेवा आयोगमार्फत लिखित तथा मौखित परीक्षा लिने तयारी गरेको थियो । भन्सार एजेन्टले आयात निर्यातमा व्यापारी र भन्सार कर्मचारीबीच पुलको काम गर्छन् ।
हेटौँडा सिमन्ट उद्योगको महाप्रबन्धकका लागि दरखास्त आह्वान
काठमाडौं । सरकारले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो । महाप्रबन्धकका लागि इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ । उद्योग मन्त्रालयको प्रशासन तथा संस्था शाखामा दरखास्त दिन सकिनेछ । दरखास्तका साथमा निवेदकले उद्योग सञ्चालनका लागि व्यावसायिक कार्ययोजना पेश गर्नुपर्ने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । ३५ वर्ष उमेर पुगेको र ६५ वर्ष ननाघेको व्यक्तिले महाप्रबन्धकका लागि दरखास्त दिन सक्नेछन् । प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जीनियरिङ वा कानुन विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कुनै संस्थाको व्यवस्थापकीय जिम्मेवारीमा अधिकृतस्तरको पदमा कम्तीमा पाँच वर्ष काम गरेका व्यक्तिले दरखास्त दिनसक्ने मन्त्रालयले जनाएको छ । दरखास्त स्वीकृत भई छनोटमा परेका उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्तामार्फत उत्कृष्टलाई नियुक्तिका लागि सिफारिस गरिनेछ । सरकारी स्वामित्वको उद्योग विगत डेढ महिनादेखि महाप्रबन्धकविहीन छ । महाप्रबन्धक प्रेमशङ्कर सिंहको कार्यकाल गत पुसमा सकिएको थियो । सिहंले २०७१ सालदेखि महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
डीडीसीको महाप्रबन्धकका लागि दरखास्त आह्वान
काठमाडौं । सरकारले दूग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले डीडीसीका महाप्रबन्धक रुद्र पौडेलको कार्यकाल सकिनु अगाडी नै दरखास्त आह्वान गरेको हो । पौडेलको दुई वर्षे कार्यकाल आगामी फागुन २५ गते सकिदैछ् । कार्यावधि एक महिना बाँकी हुँदै मन्त्रालयले खुल्ला दरखास्त आह्वान गरेको हो । डीडीसीको महाप्रबन्धक बन्नका लागि सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७६ को दफा ३ उपदफा २ (ग) बमोजिमको शैक्षिक योग्यता हासिल गरी कुनै संस्था वा निकायमा व्यवस्थापककोे हैसियतले कम्तिमा दश वर्षेको कार्य अनुभवका साथमा दुग्ध विकास संस्थानको वर्तमान अवस्था, चुनौती र सुधारका विषय समेटिएको बढीमा ५ हजार शव्दको व्यावसायिक कार्ययोजना समेत पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ । दरखास्त दिने इच्छुकले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योेग्यताको प्रमाणपत्रको प्रतिलिपि, अनुभव खुल्ने कागजातको प्रतिलिपि, वैयक्तिक विवरण, एक प्रति पासपोर्ट साइजको फोटोका साथमा रु तीन हजार शुल्क लाग्नेछ । मन्त्रालयले २१ दिनको अवधि राख्दै मंगलबार दरखास्त आह्वान गरेको हो ।