प्रधानमन्त्री कार्यालय मातहतकै निकायमा कर्मचारीसँगै बजेटको अभाव
काठमाडौं । विकास निर्माणका आयोजनालाई दिगो बनाउन राष्ट्रिय सतर्कता केन्द्रले शुरु गरेको प्राविधिक परीक्षणका लागि बजेट एवं प्राविधिक कर्मचारीको अभाव भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको केन्द्रमा विसं २०७६ असारदेखि प्राविधिक महाशाखा प्रमुखसमेत रिक्त छ । साढे दुई वर्षदेखि महाशाखा प्रमुखलगायत प्राविधिक कर्मचारी अभाव हुँदा विकास निर्माणका आयोजना गुणस्तरीय भए भएनन् भनी परीक्षण गर्न असहज भएको केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदीले जानकारी दिए । केन्द्रको प्राविधिक महाशाखाका लागि पाँच जना प्राविधिक उपसचिवको दरबन्दी भए पनि लामो समयदेखि दुई जनाका भरमा काम चलाउनु परेको छ । प्राविधिक महाशाखामा तोकिएको दरबन्दीको आधा सङ्ख्यामा मात्र इञ्जिनीयर कार्यरत रहेका छन् । केन्द्रले राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त गरी नं १ मा परेका आयोजनाको प्राविधिक परीक्षण गर्दै आएको छ । केन्द्रमा जनशक्ति आउनै नचाहने भएका कारणले काममा समस्या हुने गरेको प्रवक्ता सुवेदीले बताए । बल्लबल्ल आएका कर्मचारी पनि छिट्टै सरुवा मिलाएर हिँड्छन् । सरकारले प्रत्येक वर्ष संसद्मा प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा विकास निर्माणका आयोजनाको प्राविधिक परीक्षण बढाउने उल्लेख गर्ने गरिए पनि बजेट भने न्यूनमात्र विनियोजन हुने गरेको उनको भनाइ छ । चालु आर्थिक वर्षमा १६ खर्ब रुपैयाँको बजेट प्रस्तुत गरिँदा विकास निर्माणका आयोजनाको प्राविधिक परीक्षणका लागि ८५ लाखमात्र बजेट छुट्याइएको छ । चालु आर्थिक वर्षको बजेट वक्तव्यको ४२१ नं बुँदामा प्राविधिक परीक्षणको दायरा बिस्तार गरिने उल्लेख गरिए पनि बजेट र जनशक्ति अभाव भएकाले धेरै काम गर्न सकिने अवस्था नरहेको केन्द्रले जनाएको छ ।
नेपाल बैंकका नवनियुक्त सञ्चालक शाक्यले लिए शपथ, भन्छन्- सक्दो योगदान गर्छु
काठमाडौं । नेपाल बैंकको सञ्चालक समितिमा रितेशकुमार शाक्य नियुक्त भएका छन् । शाक्य अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । नवनियुक्त सञ्चालक शाक्यले गत कार्त्तिक ४ गते सञ्चालक समितिको अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण कार्यक्रम पश्चात् बैंक सञ्चालक समिति अध्यक्ष सुमनराज अर्यालले नवनियुक्त सञ्चालकलाई सञ्चालक समितिमा स्वागत गर्दै सञ्चालक समितिमा रहेर बैंकको नीति निर्माण र व्यावसायिक विकासमा सञ्चालक सदस्य रितेशकुमार शाक्यको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरेका छन् । त्यस्तै, नवनियुक्त सञ्चालक शाक्यले नेपाल बैंकको सञ्चालकको जिम्मेवारीका लागि नेपाल सरकारलाई धन्यवाद दिँदै आफूले बैंकको हितमा सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शपथ ग्रहण कार्यक्रममा यस बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिव समेतको उपस्थिति रहेको थियो । यसअघि उक्त पदमा सुमन दाहाल रहेका थिए । अब उनको सट्टा मन्त्रालयका सहसचिव शाक्यले बैंकको सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने छन् ।
प्रुडेन्सियल इन्स्योरेन्समा श्रवणकुमार रावललाई कार्यवाहक सीईओको जिम्मा
तस्विर: रावलको सामाजिक सञ्जालबाट काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी श्रवण कुमार रावलले पाउने भएका छन् । कार्त्तिक ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रावललाई इन्स्योरेन्सको कार्यवाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । बैठकले कार्त्तिक ७ गतेदेखि लागू हुने गरी रावललाई कार्यवाहक सीईओको जिम्मा दिएको हो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले कार्त्तिक ३ गते राजिनामा दिएका थिए । उनको राजिनामालाई स्वीकृत गर्दै इन्स्योरेन्स सञ्चालक समितिको बैठकले कार्यवाहक सीईओमा रावललाई नियुक्त गर्ने निर्णय गरेको हो ।