सानिमा बैंकको सीईओमा निश्चलराज पाण्डे, सम्हाले कार्यभार

काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले पाण्डेलाई रिक्त रहेको उक्त पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ पाण्डेले माघ १२ गतेदेखि बैंकको सीईओ पदको कार्यभार सम्हालेका छन् । यसअघि बैंकको सीईओमा भुवनकुमार दहाल थिए । उनको कार्यकाल माघ ११ गतेबाट सकिएको हो ।

ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का

काठमाडौं । ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का चयन भएका छन् । माघ ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्ष पदमा चयन गरेको हो । खड्का बैंकको संस्थापक सेयरधनी हुन् । उक्त समूहको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गरेका सञ्चालक खड्काले अब बैंकको अध्यक्ष पदको जिम्मेवारी सम्हाल्ने भएका छन् । यसअघि बैंकको अध्यक्षमा हरि प्रसाद थिए । उनको राजिनामा स्वीकृत भएसँगै रिक्त रहेको पदमा खड्कालाई चयन गरिएको हो ।

निर्माण क्षेत्रमा काम गर्न नेपाली इजरायल जान सुरु

काठमाडाैं । नेपालीलाई इजरायलले निर्माण क्षेत्रमा पनि रोजगारीको व्यवस्था गर्ने भएको छ । नेपाल र इजरायल सरकारले नेपाली नागरिकलाई इजरायलमा निर्माण क्षेत्रमा काम गर्न पठाउने द्विपक्षीय सम्झौताको तयारी गर्न संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेसँगै इजरायलमा रोजगारीको नयाँ क्षेत्र खुलेको हो । परराष्ट्रमन्त्री डा नारायण खड्का र नेपालका लागि इजरायलका राजदूत हानान गोडर–गोल्डबर्गरबीच आज दिउँसो भएको वार्तापछि उक्त निर्णय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै पक्षले सुसारे/सेवासुश्रुवा क्षेत्रमा सहायक कामदार छनोटका सम्बन्धमा आवश्यक सबै प्रक्रिया पूरा भएकामा सन्तोष व्यक्त गर्दै यस क्षेत्रका ९९ जना कामदारको पहिलो टोली आज इजरायल प्रस्थान गर्ने घोषणा गरेका छन् । सुसारे/सेवासुश्रुवा क्षेत्रका लागि छनोट गरिएका एक हजारभन्दा बढी कामदार आगामी हप्ताहरूमा इजरायल प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।