३५ खर्बभन्दा बढीको बजारप्रति सरकारको बेवास्ता, सेबोन र नेप्से ४ महिनादेखि प्रमुख विहिन
काठमाडौं । पुँजी बजारका दुबै नियामक निकाय प्रमुख विहिन भएको ४ महिना वित्न लागे पनि सरकारले नयाँ प्रमुख नियुक्त गर्न ढिलाई गरेको छ । प्रमुख नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) र फ्रण्ट लाइन रेगुलेटर नेपाल स्टक एक्सचेन्ज (नेप्से) भदौ दोस्रो सातादेखि प्रमुख विहिन छन् । बुक विल्डिङ विधिबाट साधारण सेयर जारी गर्न लागेको सर्वाेत्तम सिमेन्टको सेयर सस्तो मूल्यमा आफन्तको नाममा खरिद गरेको आरोप लागेका सेबोनका तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई भदौ १६ गते बसेको मन्त्रिपरिषद बैठकले निलम्बन गरेको थियो । सो प्रकरणमा उनी दोषी देखिएको भन्दै पूर्वन्यायाधिश अनन्तराज डुम्रे संयोजकत्वको समितिले प्रतिवेदन दिएपछि असोज १९ गते बसेको मन्त्रिपरिषद बैठकले ढुंगानालाई पदबाट हटाएको थियो । अध्यक्ष ढुंगानाले आफ्नी छोरी रेबिका ढुंगानाको नाममा सेयर किनेको पाइएको थियो । यस्तै, सोही प्रकरणमा मुछिएका नेप्सेका तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भदौ ८ गते राजीनामा दिएका थिए । साउदले आफ्नी श्रीमतीको नाममा सर्वाेत्तम सिमेन्टको सेयर खरिद गरेको खुलेको थियो । भदौ दोस्रो सातादेखि नै पुँजी बजारका दुबै नियामक निकाय प्रमुख विहिन भएपनि सरकारले अहिलेसम्म कसैलाई पनि नियुक्त गर्न सकेको छैन । सरकारले गत कात्तिक ११ गते सार्वजनिक सुचना प्रकाशित गरी सेबोनको अध्यक्षका लागि आवेदन मागेको छ । १५ दिनभित्रमा आवेदन दिइसक्नुपर्ने भन्दै सुचना प्रकाशन भएको एक महिनाभन्दा लामो समय वितिसकेपनि सरकारले सरकारले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत छान्न अझै नसकेको हो । यस्तै, सरकारले कात्तिक १३ गते सार्वजनिक सुचना प्रकाशित गरी नेप्सेको प्रमुख कार्यकारी अधिकृतको लागि आवेदन मागेको थियो । सुचनामा १५ दिनभित्र आवेदन दिन भनिएको थियो । अर्थमन्त्रालयले प्रकाशित सुचना अनुसार आवेदन दिने म्याद कात्तिक २७ गते नै सकिएको छ । को–को छन् प्रतिस्पर्धामा ? सरकारले आवेदन माग गरेपछि नेप्सेको प्रमुख कार्यकारी अधिकृत बन्नको लागि ११ जनाले आवेदन दिएका छन् । अर्थमन्त्रालयका अनुसार नेप्सेकै कामु प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाँल, नेप्सेकी कामु प्रबन्धक प्रबिन पन्दाक, हाल आरबिबि मर्चेण्ट बैंकिङको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत बद्री प्रसाद प्याकुरेल, धितोपत्र बोर्डका पूर्वकर्मचारी जीवन अमगाई, आरबिबि मर्चेण्ट बैंकिङका पूर्व प्रमुख कार्यकारी अधिकृत डा. रमेश कुमार भण्डारी, कृष्ण बहादुर कार्की, दिपक गौतम, केशवप्रसाद श्रेष्ठ, गोविन्दप्रसाद दाहाल, छविराज पन्त र रमेश घिमिरेले नेप्सेको प्रमुख कार्यकारी अधिकृत हुनका लागि आवेदन दिएका छन् । यस्तै, सेबोनको अध्यक्षका लागि १२ जनाले आवेदन दिएका छन् । अर्थमन्त्रालयका अनुसार उक्त पदका लागि आवेदन दिनेमा नीरज गिरी, डा नवराज अधिकारी, अनिल पौडेल, सिताराम थपलिया, चिरन्जीवी चापागाईं, कृष्णप्रसाद आचार्य, जीवन अमगाई, डा. गोपाल भट्ट, डा केशवप्रसाद श्रेष्ठ, रमेश हमाल, अम्बिका रिमाल र हेमन्त बस्याल रहेका छन् । आवेदन दिनेमध्ये गिरी बोर्डका कार्यकारी निर्देशक हुन् । डा. अधिकारी पनि बोर्डकै नायब कार्यकारी निर्देशक हुन् । थपलिया नेप्सेका पूर्व महाप्रबन्धक हुन् भने चापागाईं बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका पूर्व अध्यक्ष हुन् । यस्तै, आचार्य नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका पूर्व अध्यक्ष हुन् । डा. भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । अन्य व्यक्तिहरु पनि पूर्व बैंकर तथा धितोपत्र बजार सम्बन्धी जानकार व्यक्तिहरु हुन् । कहिले पाउँछ नेतृत्व ? कुनै समय नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) भन्दा पनि बढी आकारको बजार पुँजीकरण भइसकेको पुँजी बजारको अहिलेको बजार पुँजीकरण ३५ खर्ब २७ अर्ब रुपैयाँभन्दा बढी छ । कुनै समय नेपाली पुँजी बजारमा दैनिक २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार पनि हुने गरेको थियो । सरकारले ध्यान नदिँदा वा समयमै नियुक्त गर्न नसक्दा यति ठूलो बजार करिब ४ महिनादेखि नेतृत्व विहिन अवस्थामा छ । अर्थमन्त्रालयका प्रवक्ता रितेश शाक्य यी दुबै निकायले कहिले प्रमुख पाउँछन् भनेर मिति तोक्न सक्ने अवस्था नरहेको बताउँछन् । ‘नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रक्रिया अर्थमन्त्रालय आफैले अघि बढाएको छ, प्राप्त आवेदनहरुमा अध्ययन भइरहेको छ, सेबोन अध्यक्षका लागि बेग्लै कमिटि नै बनेकोले सोही कमिटिले काम गरिरहेको होला, प्रक्रिया सुरु भइसकेको छ, यतिन्जेलमै नियुक्ति भइसक्छ भनेर यकिनका साथ मिति भन्न सकिने अवस्था छैन,’ प्रवक्ता शाक्यले विकासन्युजसँग भने । यी दुबै निकायमा प्रमुख नहुँदा प्रक्रियागत कार्यमा समेत ढिलाई हुने गरेको नेप्से र सेबोनका कर्मचारी तथा सेवाग्राहीले बताउँन थालेका छन् ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका सीईओ न्यौपानेले पाए निरन्तरता
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लिलामणी न्यौपानेले निरन्तरता पाएका छन् । मंसिर १४ गते मंगलबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओ न्यौपानेलाई आगामी कार्यकालको लागि पुनर्नियुक्ति दिने निर्णय गरेको हो । यससँगै सीईओ न्यौपानेले आगामी मंसिर २३ गतेदेखि लागू हुने गरी दोश्रो कार्यकाल सम्हाल्ने छन् ।
राष्ट्रिय बीमा कम्पनीले सीईओ माग्यो, इच्छुकले मंसिर २६ गतेभित्र आवेदन दिइसक्नु पर्ने
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि दरखास्त आव्हान गरिएको छ । कम्पनीले रिक्त रहेको सीईओ पदमा खुला प्रतिस्पर्धाका आधार पदपूर्ति गर्नका लागि मंसिर १२ गते दरखास्त आव्हान गरेको हो । उक्त पदको लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नु पर्ने छ । यससँगै उनीहरुले आगामी मंसिर २६ गतेभित्र कार्यलय समयमा काठमाडौंको रामशाहपथस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनुपर्ने हुन्छ । यो पदको लागि बीमा, व्यवस्थापन लगायत विभिन्न विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी कम्पनीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भएका कम्तीमा ५ वर्ष वा आर्थिक क्षेत्रमा भए ८ वर्ष तथा दुबै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभव सहित कम्तीमा ७ वर्षको अनुभव हुनुपर्ने छ । त्यस्तै, चार्टर्ड एकाउन्टेन्सी, वा व्यवस्थापन, बीमा, अर्थशास्त्र, वाणिज्य शास्त्र, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपात्रि हासिल गरी कम्पनीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्पनीमा १२ वर्ष, बैंक वा वित्तीय क्षेत्रमा भए १५ वर्ष तथा दुबै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा १३ वर्षको अनुभव हुनुपर्ने छ । त्यसैगरी, आवेदकको उमेर दरखास्त दिने अन्तिम मितिमा ६५ वर्ष ननाघेका हुनुपर्ने छ ।