एक हजार महिला व्यवसायीलाई तालिम दिँदै कोकाकोला
काठमाडौं । कोका–कोलाले नेपालको लागि आफ्नो बोटलिङ पार्ट्नर बोटलर्स नेपालसँग मिलेर ‘सक्षम’ कार्यक्रम शुरु गरेको छ । यस कार्यक्रम अन्तर्गत कम्पनीले नेपालका विभिन्न ठाउँमा किराना पसल र खाजा घरहरु सञ्चालन गर्दै आएका १ हजार महिला व्यवसायीहरुलाई व्यवसायिक तालिम दिने योजना बनाएकाे छ । अन्तर्राष्ट्रिय महिला दिवस २०२२ को नारा ‘दिगो भविष्यको लागि आज लैङ्गिक समानता’ भन्ने नारालाई समर्थन गर्दै यस कार्यक्रममार्फत महिलाहरुलाई व्यापारिक र आर्थिक रुपमा सक्षम बनाउने योजना राखिएको कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले बताए । यस कार्यक्रमले महिलाहरुलाई राम्रो ज्ञान र सीप प्रदान गर्ने लक्ष्य राखेकाले यसले उनीहरुलाई आफ्नो व्यापार अझै राम्रोसँग सञ्चालन गर्दै समग्रमा राष्ट्रकै आर्थिक विकासमा सहयोग पु¥याउन सक्षम बनाउने उनले बताए । यो कार्यक्रम यस्ता पसल सञ्चालन गर्ने महिलाहरुको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाई र डिजिटल वालेटको प्रयोग जस्ता विषयमा क्षमता अभिवृद्धि गर्न डिजाइन गरिएको उनले जानकारी दिए ।
‘मेरो नियुक्तिमा सरकारले ऐतिहासिक निर्णय गरेको छ, कुनै सेटिङ छैन’
काठमाडौं । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेश हमालले सोमबार पहिलो पत्रकार सम्मेलन गरे । फागुन ५ गते सेबोनको अध्यक्षमा नियुक्त भएका हमालले फागुन ८ गते बोर्डको अध्यक्षका रुपमा कार्यभार सम्हालेपछि यो उनको पहिलो पत्रकार सम्मेलन थियो । पत्रकार सम्मेलनमा उनले धितोपत्र बजारको विकास र विस्तारमा आफ्नो कार्यकाल सफल बनाउने आश्वासन दिए । आफु अनुभवी र नेपाली सेयरबजारलाई राम्ररी बुझेको दावी गर्दै उनले आगामी दिनदेखि नेपाली सेयर बजारमा अनियमितता तथा सेयर बजारमा हुने चलखेलहरुको अन्त्य गर्ने दावी समेत गरे । १२ बजेदेखि सुरु भएको पत्रकार सम्मेलन साढे १ बजेसम्म रह्यो । साढे एक घण्टाको समय पत्रकारको प्रश्न र हमालको जवाफमा सीमित भयो । १० मिनेट जतिको समयमा हमालले आफ्ना योजना सुनाएका थिए । पत्रकार सम्मेलनमा हमालले पुँजी बजारको विस्तार, विकास र विविधिकरणमा महत्वपूर्ण ध्यान दिनका लागि अध्ययन गर्ने भन्ने धारणालाई दोहोर्याई रहे । उनले कार्यक्रममा खासै नयाँ कुरा बोलेनन् । उनले पत्रकार सम्मेलनमा बोलेका विषयहरु उनले यसअघि पनि बोलिसकेका छन् । कार्यक्रमको अन्तिममा एक सञ्चारकर्मीले हमाललाई एउटा प्रश्न गर्न खोजे । धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले अब खाजा खाँदै कुरा गरौंला प्रश्न गर्ने समय पनि सकियो, हलको पनि आफ्नै समय हुन्छ भनेर ‘कन्भिन्स’ गर्न खोजे । तर, ती सञ्चारकर्मीले आफुले प्रश्न गर्न पाउनु पर्ने अडान राखे । सो समयसम्म हलमा सीमित सञ्चारकर्मी मात्रै थिए । अधिकांश हलबाट बाहिरिसकेका थिए । ती सञ्चारकर्मीले सुरुदेखि प्रश्न गर्न खोजेको र प्रश्न गर्ने पालो नै नआएको भनेर गुनासो गरेपछि अध्यक्ष हमालले प्रश्न गर्न इशारा गरे । उनले प्रश्न गरे, ‘तपाईंमाथि करोडौंको कमिशन खुवाएर बोर्डको अध्यक्ष भएको र नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिनकै लागि अध्यक्ष बनाइएको आरोप पनि छ, यसप्रति तपाईंको धारणा के छ ? ती सञ्चारकर्मीको प्रश्नपछि हमाल गम्भीर देखिए । उनले हलमा हल्ला गरिरहेका सहभागीहरुलाई शान्त हुन आग्रह गर्दै भने, ‘सबै साथीहरु सुन्नुहोस्, महत्वपूर्ण प्रश्न आएको छ, भन्नेले जेसुकै भनेपनि आफ्नो काम गर्ने हो, मलाई लाग्छ यस पटक सरकारले महत्वपूर्ण र ऐतिहासिक निर्णय गरेको छ, अन्तर्राष्ट्रिय एक्सपर्टीज, टोटल्ली अर्को क्षेत्रबाट आएको मान्छेलाई अवसर दिएको छ, यो व्यक्तिले मोर्टेकमा फेयरनेसको वातावरण सिर्जना गर्न सक्छ भन्ने विश्वास साथ मलाई नियुक्त गरेको छ, सरकारको विश्वासलाई पूरा गर्न काम गरेर देखाउने हो ।’ यस्तै, उनले सेटिङ्गमा आएको भन्ने व्यक्तिहरुको पछाडि आफु नलाग्ने पनि बताए । उनले व्यक्तिको एक्सपर्टीज हेरेर नै यस्ता खालका शंकाहरु गर्नु पर्ने धारणा राखे । ‘यहाँले भने जस्तै यो मान्छे सेटिङमा आएको हो भन्ने हल्ला हुन पनि सक्छ, त्यसमा मेरो भन्नु केही छैन, सरकारले मेरो एक्सपर्टीजलाई बुझेर मलाई नियुक्त गरेको छ, नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिनका लागि ल्याइएको हो भन्ने कुरा पनि सुनियो, यस्ता यस्ता हल्ला र आशंकाहरुको पछाडि लाग्ने होइन काम गरेर देखाउने हो,’ अध्यक्ष हमालले भने । उनले प्रश्नको पुनः जवाफ दिँदै नयाँ स्टक एक्सचेञ्जको विषयमा पनि सेबोनले अध्ययन गरिरहेकोले अहिले नै लाइसेन्स दिइन्छ वा दिइँदैन भन्न हतार हुने बताए । कार्यक्रममा उनले आफुले सेयर बजारमा हुने चलखेलको अन्त्यका लागि सधैं लागि रहने बताए । उनले कार्यक्रममा ब्रोकरहरुले अहिलेको व्यवस्था अनुसार काराबार भएको दुई दिनपछि (टि प्लस टु) मा राफसाफ नभए ब्रोकरलाई कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।
विद्युत् नियमन आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन दिन आह्वान
काठमाडौं । सरकारले विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन दिन आह्वान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज एक सूचनामार्फत आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन दिन सूचित गरेको हो । यसअघिका अध्यक्ष डिल्लीबहादुर सिंहलगायतले तोकिएको काम नगरेको पाइएपछि सरकारले छानविन समिति गठन गरी बर्खास्त गरेको थियो । विद्युत् तथा ऊर्जा क्षेत्रको काम कारवाहीको नियमनका लागि सरकारले आयोग स्थापना गरेको हो । सूचनाअनुसार आयोगमा एक अध्यक्ष, तीन सदस्य (एक महिलासहित) रहने कानूनी प्रबन्ध छ । सूचनाअनुसार १५ दिनभित्र आवेदन दिनुपर्नेछ । आयोग नियमन आयोग नियमावली, २०७५ को अनुसूची १ बमोजिम आवेदन दिन आग्रह गरिएको छ । आवेदन पेश गरेका उम्मेदवारको कार्ययोजनाको मूल्याङ्कन छनोट भई सङ्क्षिप्त सूचीमा परेका बढीमा पाँच उम्मेदवारलाई कार्ययोजन प्रस्तुतिका लागि इमेल वा एसएमएस वा टेलिफोनबाट सूचित गरिने ऊर्जा मन्त्रालयले जनाएको छ । विद्युत् व्यापार, महसुल तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित विषयमा नियमन गर्ने उद्देश्यका साथ सरकारले २०७२ सालमा आयोग स्थापना गरेको हो ।