मेगा बैंककी डिसीईओ देशराजले आजदेखि कामूको कार्यभार सम्हाल्ने

काठमाडौं । मेगा बैंकको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी रविना देशराज श्रेष्ठले सम्हाल्ने भएकी छिन् । बैंकको नायव प्रमुख कार्यकारी (डिसीईओ) श्रेष्ठले बैशाख २ गतेदेखि कामुको जिम्मेवारी सम्हाल्न लागेकी हुन् । चैत ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि उनलाई कामु सीईओको रुपमा नियुक्त गरेको हो । बैंकको सीईओ अनुपमा खुञ्जेलीले राजिनामा दिएसँगै उक्त पद रिक्त रहेको छ । कामु सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । यसअघि पनि उनले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छिन् । ३१ बर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजनेश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन् । भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठले त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरेकी थिइन् । थप समाचार मेगा बैंककी कामु सीईओ श्रेष्ठ सरकारबाट विभुषित, पाइन् प्रबल जनसेवाश्री

डेढ दशकभन्दा बढी बैंकिङ अनुभव भएको मनोज बने सेञ्चुरी बैंकको सीईओ

काठमाडौं । सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज न्यौपाने नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई  वैशाख २ गतेदेखि कार्यभार सम्हाल्ने गरी चार वर्षको लागि  सीईओमा नियुक्त गरेको हो । यसअघि उनी गत साउन १ गतेदेखि कायममुकायम सीइओका रुपमा कार्यरत थिए । बैंकबाट तुलसीराम गौतम बाहिरिएपछि न्यौपानेले कामू सीईओको जिम्मेवारी पाएका थिए । न्यौपानेले लक्ष्मी बैंक लिमिटेडबाट बैंकिङ सेवा प्रारम्भ गरेका हुन् । हिमालयन बैंक लिमिटेड र सनराईज बैंक लिमिटेडमा काम गरिसकेका उनीसँग करिब १७ वर्षको बैंकिङ कार्यानुभव छ । उनले सनराइज बैंकमा कर्पोरेट बैंकिङ हेड भएर पनि काम गरिसकेका छन् । न्यौपानले काठमाडौं विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् ।  उनको लगनशीलता, बजार पहुँच, बैंकिङ तथा वित्त बजारसम्बन्धी ज्ञान तथा प्रभावकारी नेतृत्वमा बैंक आगामी दिनमा थप सफलताका साथ अगाडि बढ्ने बैंक सञ्चालक समितिको विश्वास छ । सम्बन्धित सामग्री: बैंकहरुको बागडोर नयाँ पुस्ताले सम्हाल्दै, डेपुटीबाट धमाधम सीईओ

नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा अवस्थी नियुक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्ण अवस्थी नियुक्त भएका छन् । महासंघको नवौं कार्यकारिणी बैठकले उनलाई महानिर्देश्कमानियुक्त गरेको हो । यसअघि महासंघको उप–महानिर्देशक रहेका उनी महासंघको महानिर्देशकमा नियुक्त भएका हुन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरमा व्यवस्थापन गरेका अवस्थीले इण्डियन इन्सिच्युट अफ मास कम्युनिकेसनबाट विकास पत्रकारितामा डिप्लोमा गरेका छन् । लामो समय आर्थिक पत्रकारितामा कलम चालएका अवस्थीले यस अघि संयुक्त राष्ट्र संघ दिगो विकास लक्ष्यको सल्लाहकार भएर काम गरिसकेका छन् । उनी नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष समेत हुन् । अवस्थी अन्तर्राष्ट्रिय व्यापार, वित्त तथा निजी क्षेत्रका बारेमा जानकार पनि मानिन्छन् ।