उद्यमी बन्न खोज्दै युवा
पाल्पा । तानसेन नगरपालिका–१० जमुनाखर्कमा रामबहादुर नेपाली रोजगारीका लागि मलेसिया गएका थिए । रोजगारी गरी दुई/चार पैसा कमाउला भनेर मलेसिया गएका उनलाई सधैं परिवारको चिन्ताले सताउन थाल्यो । चार वर्ष मलेसियामा बसेका उनलाई विदेश जाँदा पाँच प्रतिशत ब्याजदरमा लिएको ऋण तिर्नै ठिक्क भयो । विदेशी भूमिमा पाउनसम्मको दुःख पाएर फर्किएका उनले अहिले स्वदेशमै तरकारी खेती र भैँसीपालनमा आफ्नो भविष्य देख्न थालेका छन् । ऋण लिएर तरकारी खेती र भैँसीपालन गर्न थालेका नेपाली विदेशमा गर्ने दुःख नेपालमा गर्नसके दोब्बर पैसा कमाउन सकिने अनुभव सुनाउँछन् । “मैले दुःख के हो आँखा अगाडि देखिको छु । तरकारी खेती र भैँसीपालन गर्न थालेपछि मलाई पछाडि फर्केर हेर्नुपरेको छैन”, नेपालीले भन्नुभयो, “यो काममा सन्तुष्ट हुँदा जे काम गरे पनि आफ्नै देशमा गर्नुपर्ने रहेछ भन्ने ज्ञान मलाई विदेशले सिकाएको छ ।” अब आफ्नै देशमा केही गर्नुपर्छ भन्ने अठोटसहित तरकारी खेती र भैँसीपालन गर्न थालेको उनको भनाइ छ । “अब विदेश जाने मेरो कुनै सोच छैन । जे गरे पनि आफ्नै देशमा गर्ने हो”, नेपालीले भन्नुभयो, “आफ्नै भूमिमा बसेर सानो भए पनि काम गर्न पाएकोमा खुसी छु ।” व्यावसायिकरुपमा तरकारी खेतीबाट लाखौँ आम्दानी गरी घर खर्च तथा सन्तानलाई शिक्षादिक्षा गर्न सहज भएको उनको भनाइ छ । विदेशमा रहँदा परिवारको चासो मनभरी हुने र कहिले घर जाने होला भन्न चिन्ता रही काम गर्नुपर्ने बाध्यता थियो । परिवारसँगै बसी काम गर्न पाउँदा खुसी र परिवार तथा समाजको सम्मान पाएकाले काम गर्न थप हौसला मिलेको नेपालीको भनाइ छ । भैँसीको दूध घ्यू तथा तरकारीमा साग, सीमी, बोडी, केराउ तथा आलु बिक्रीबाट वार्षिक रु चार लाख आम्दानी हुने गरेको उनको भनाइ छ । यसले परिवारमा खुसी र सन्तृष्टि रहेको नेपालीको अनुभव छ । दुई वर्षअघि विदेशबाट फर्केर व्यावसायिक बाख्रापालन व्यवसाय गर्न थाल्नुभएका तानसेन मदनपोखराका सुन्दर रानाकोे खोरमा अहिले उन्नत जातका ५० भन्दाबढी बाख्रा छन् । बोयर तथा उन्नत जातका बाख्राले एक पटकमा दुई ओटा पाठापाठी उत्पादन दिने गरेको उनरु को भनाइ छ । वार्षिक तीन चार लाख आम्दानी गर्नका लागि विदेशी भूमि टेकीरहनुपर्ने बाध्यता हटेको रानाले बताए । पछिल्ला वर्ष किसानले नौ दश महिना बाख्रा विक्री गर्दै आएका छन् । किसानको खोरबाट जिउदो खसीबोकालाई प्रतिकिलो रु ५०० मा विक्री हुन्छ । सामान्यतया विक्री अवधिमा खसी ३० देखि ८० किलोसम्म तौल हुने किसानको भनाइ छ । बोयर जातका खसीबोका अन्य स्थानीय जातकाभन्दा बढी तौल भएको हुन्छ । उन्नत जातका बाख्रालाई अन्य जातका खसीबोका भन्दा राम्रो मूल्य पाउने भएपछि यहाँका किसान व्यावसायिकरुपमा बाख्रापालनमा आकर्षित भएका छन् । “पहिला परम्परागत खोरमा बाख्रापालन हुँदै आएको थियो । अहिले व्यवस्थित खोर, पोषणयुक्त आहाराको व्यवस्थाले बाख्रा छिटो उत्पादन दिन थालेको छ”, रानाले भने । मलेसिया र दुवइमा काम गरी फर्केका राना अहिले स्वदेशमै स्वरोजगार बन्न पाएपछि खुसी रहेको बताए । पाल्पाको तानसेन–१४, कुसेनीकै रमेश परियार कोरोना सङ्क्रमणको जोखिम बढेपछि बेरोजगार भए । भारतमा होटलको जागिर गुमेपछि परियार स्वदेश फर्किए । गत वर्षको लकडाउनपछि परियार सात आठ महिना कामविहीन भए । काम विहीन हुँदा आर्थिकसमेतले सताइरहेको थियो । अहिले फार्ममा १० ओटा बँगुर माउ हुर्किरहेका छन् । दश महिनाको अवधिमा बगुँरबाट पाठापाठी उत्पादन गर्ने तयारी रहेको उनले बताए । भारत तथा नेपालमा होटल व्यवसायमा भन्दा बँगुरपालन व्यवसाय राम्रो भएको परियारको दावी छ ।
राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । बैंकले पुस १ गतेदेखि लागू हुने गरी डा. भट्टलाई प्रवक्ता पदमा नियुक्त गरेको हो । योसँगै भट्टले दोश्रो पटक बैंकको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै छन् । अर्थशास्त्रमा विद्यावारिधी गरेका नवनियुक्त प्रवक्ता डा. भट्ट सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुन् । यसअघि राष्ट्र बैंकको प्रवक्ता पदको जिम्मेवारी देवकुमार ढकालले सम्हालेका थिए ।
नेप्सेको सीईओ छान्न कार्यविधि बन्यो, संयोजक विदामा
काठमाडौं । पुँजी बजारको ‘फ्रण्ट लाइन रेगुलेटर’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत छनौट सम्बन्धी कार्यविधि तयार पारेको छ । बुक विल्डिङ विधिबाट साधारण सेयर (आईपीओ) जारी गर्न लागेको सर्वाेत्तम सिमेन्टको सेयर अनुचित रुपमा आफन्तको नाममा खरिद गरेको आरोप लागेपछि नेप्सेका तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले गत भदौ ८ गते राजीनामा दिएका थिए । साउदले राजीनामा दिएको ४ महिना वित्न लागेपनि सरकारले अझैसम्म नेप्सेमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न सकेको छैन । तर, अर्थमन्त्रालयले कात्तिक १३ गते सार्वजनिक सुचना प्रकाशित गरी सीईओ नियुक्ति प्रक्रिया भने अघि बढाइसकेको छ । सीईओ छनोटका लागि कार्यविधि तयार भइसकेको र छिट्टै नै नियुक्ति गरिसक्ने गरी प्रक्रिया अघि बढाइएको अर्थमन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए । ‘नेप्सेको सीईओ छनोटका लागि कार्यविधि तयार भइसकेको छ, अब चाढै नै नियुक्ति हुन्छ,’ प्रवक्ता शाक्यले विकासन्युजसँग भने । संयोजक विदामा अर्थमन्त्रालयले नेप्सेको सीईओ छनोट गर्नको लागि कार्यविधि बनाइसके पनि सीईओ छनोट समितिको संयोजक नै विदामा बसेका छन् । अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख रमेश कुमार केसी सीईओ छनोट समितिको संयोजक छन् । तर, केसी केही दिनदेखि एक साता लामो विदामा बसेका अर्थमन्त्रालय स्रोतले जानकारी दियो । उनी व्यक्तिगत कामको कारण विदामा बसेका बताइएको छ । केसी फर्केर आएपछि मात्रै नेप्सेको सीईओ छनोट कार्य सम्पन्न हुनेछ । को–को छन् प्रतिस्पर्धी ? सरकारले आवेदन माग गरेपछि नेप्सेको प्रमुख कार्यकारी अधिकृत बन्नको लागि ११ जनाले आवेदन दिएका छन् । अर्थमन्त्रालयका अनुसार नेप्सेकै कामु प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाँल, नेप्सेकी कामु प्रबन्धक प्रबिन पन्दाक, हाल आरबिबि मर्चेण्ट बैंकिङको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत बद्री प्रसाद प्याकुरेल र धितोपत्र बोर्डका पूर्वकर्मचारी जीवन अमगाईले आवेदन दिएका छन् । अर्थमन्त्रालयका अनुसार आवेदन दिने प्रतिस्पर्धीहरुमा आरबिबि मर्चेण्ट बैंकिङका पूर्व प्रमुख कार्यकारी अधिकृत डा. रमेश कुमार भण्डारी, कृष्ण बहादुर कार्की, दिपक गौतम, केशवप्रसाद श्रेष्ठ, गोविन्दप्रसाद दाहाल, छविराज पन्त र रमेश घिमिरे छन् । सवोनको अध्यक्ष कहिले ? यस्तै, धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद पनि खाली रहेकोले सो पदको नियुक्ति प्रक्रिया पनि अघि बढेको छ । सेबोनका तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानाले पनि आफन्तको नाममा सर्वाेत्तम सिमेन्टको सेयर खरिद गरेको पाइएपछि सरकारले उनलाई गत भदौ १६ गते निलम्बन गरी छानविन गरेर असोज १९ गते पदबाट हटाएको थियो । सेबोनमा अध्यक्ष पद खाली भएपछि सरकारले गत कात्तिक ११ गते सार्वजनिक सुचना प्रकाशित गरी सेबोन अध्यक्षका लागि आवेदन मागेको थियो । सरकारले आवेदन मागेपछि सेबोन अध्यक्ष बन्नको लागि १२ जनाले आदेन दिएका थिए । अर्थमन्त्रालयका अनुसार उक्त पदका लागि आवेदन दिनेमा नीरज गिरी, डा नवराज अधिकारी, अनिल पौडेल, सिताराम थपलिया, चिरन्जीवी चापागाईं, कृष्णप्रसाद आचार्य, जीवन अमगाई, डा. गोपाल भट्ट, डा केशवप्रसाद श्रेष्ठ, रमेश हमाल, अम्बिका रिमाल र हेमन्त बस्याल रहेका छन् । आवेदन दिनेमध्ये गिरी बोर्डका कार्यकारी निर्देशक हुन् । डा. अधिकारी पनि बोर्डकै नायब कार्यकारी निर्देशक हुन् । थपलिया नेप्सेका पूर्व महाप्रबन्धक हुन् भने चापागाईं बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका पूर्व अध्यक्ष हुन् । यस्तै, आचार्य नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका पूर्व अध्यक्ष हुन् । डा. भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । अन्य व्यक्तिहरु पनि पूर्व बैंकर तथा धितोपत्र बजार सम्बन्धी जानकार व्यक्तिहरु हुन् । सेबोन अध्यक्ष छनोटका लागि अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो । सो समिति मन्त्रिपरिषदले गठन गर्नुपर्नेमा अर्थमन्त्रालयले गठन गरेपछि विवादमा परेको थियो । यसरी समिति गठन नै विवादमा परेपछि मन्त्रिपरिषदले उपाध्यक्ष डा. पौडेल संयोजक रहेको समितिलाई नै आधिकारिकता दिएको छ । समिति गठन भइसकेकोले सो समितिले सेबोन अध्यक्ष छनोटको कार्य अघि बढाउन थालेको छ । सम्बन्धित समाचार ३५ खर्बभन्दा बढीको बजारप्रति सरकारको बेवास्ता, सेबोन र नेप्से ४ महिनादेखि प्रमुख विहिन