अर्थमन्त्री शर्मालाई शिक्षा मन्त्रालयको जिम्मेवारी
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले अनिश्चित समयको लागि शर्मालाई शिक्षामन्त्रालयको जिम्मेवारी दिएका हुन् । हालको शिक्षामन्त्री देवेन्द्र पौडेल बेलायतमा शिक्षा सम्बन्धी कार्यक्रममा भाग लिन गएका कारण उनको ठाउँमा अर्थमन्त्री शर्मालाई जिम्मेवारी दिइएको हो । पौडेल गत जेठ ७ गते नै बेलायत गएका हुन् । उनी एजुकेसन वर्ल्ड फोरम २२ मा सहभागी हुन बेलायत पुगेका हुन् ।
एनआईसी एशिया बैंकको डीसीईओमा सन्ताेष राठी नियुक्त
काठमाडौं । एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृत(डीसीईओ) मा सन्तोष कुमार राठी नियुक्त भएका छन् । बैंकको जेठ ८ मा बसेको सञ्चालक समितिको बैठकले राठीलाई बैंकको डीसीइओमा नियुक्त गरेको हो । उनले साउन १ गतेदेखि कार्यभार सम्हाल्नेछन् । २०६४ मंसिर १९ देखि तत्कालीन बैंक अफ एशिया नेपालको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट यस बैंकको सेवामा जोडिएका राठी बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै डीसीइओमामा नियुक्त भएका हुन् । बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गरेका राठीलाई बैंकको रुपान्तरणमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै बैंकले डीसीइओमा नियुक्त गरेको बताएको छ । नेपालको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव संगालेका राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।
नबिल बैंकको सीईओ बने ढुङ्गाना, पाण्डेसहित चार जना डीसीईओ, एनबीका कर्मचारीको तह घट्ने
काठमाडौं । नबिल बैंकमा नेपाल बंगलादेश (एनबी) बैंक गाभिएपछिको बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना बन्ने भएका छन् । दुवै बैंकको विशेष साधारणसभाले ढुङ्गानालाई सीईओ बनाउने प्रस्ताव पारित गरेसँगै उनी सीईओमा नियुक्त भएका हुन् । गत शनिबार बसेको दुवै बैंकको विशेष साधारणसभाले दुवै बैंक एक आपसमा गाभ्न/गाभिनका लागि अख्तियारी पाएको थियो । सोही सभाले ढुङ्गानालाई सीईओ बनाउने प्रस्ताव पनि पारित गरेको हो । एनबी बैंक स्रोतका अनुसार ढुङ्गाना आगामी असार १७ गतेबाट लागू हुने गरी सीईओमा नियुक्त भएका हुन् । नबिल बैंकका हालका सीईओ अनिल केशरी शाहको कार्यकाल सकिएपछि उनी सीईओ बन्नेछन् । अहिले दुबै बैंकलाई एकआपसमा गाभ्न/गाभिनका लागि ढुङ्गानाले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । एनबी बैंक स्रोतका अनुसार सीईओ ढुङ्गाना भएसँगै सो बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा चार जना रहेनछन् । जसमा एनबी बैंकका कार्यवाहक सीईओ भुपेन्द्र पाण्डे, नबिल बैंकका सुजितकुमार शाक्य, विनयकुमार रेग्मी र मनोज ज्ञवाली हुनेछन् । तर, अहिले नै डीसीईओको विषय भने टुङ्गिनसकेको स्रोतको भनाइ छ । यस्तै, एनबी बैंकका कर्मचारीहरूको तह भने घट्ने भएको छ । नबिल बैंकमा गाभिएपछि एनबी बैंकका कर्मचारीको सेवा सुविधा सोही कायम गरी तह भने घट्ने सम्झौता भएको छ । यस्तो बन्नेछ बैंक एनबी बैंकलाई गाभेपछि नबिल अधिकांश सूचकमा पहिलो बैंक बन्नेछ । मर्जरपछि नबिल बैंकको चुक्ता पुँजी पौने २३ अर्ब रुपैयाँ पुग्नेछ । अहिले नबिल बैंकको पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ छ भने नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ । नबिलले एनबी बैंकलाई ४३ रुपैयाँमा गाभ्न लागेको हो । यी बैंक मर्ज भएपनि यसअघि मर्ज भएको ग्लोबल आइएमई बैंक नै पुँजीका आधारमा अगाडि हुनेछ । नबिल पुँजीको आधारमा दोस्रो बैंक बन्नेछ । हाल नबिल बैंकको निक्षेप २ खर्ब ३४ अर्ब २२ करोड ९९ लाख ४८ हजार र कर्जा २ खर्ब २१ अर्ब ९८ करोड ९३ लाख ५६ हजार रूपैयाँ छ । यस्तै, एनबी बैंकको निक्षेप ८२ अर्ब २ करोड १५ लाख १७ हजार र कर्जा लगानी ७६ अर्ब २० करोड ९३ लाख १५ हजार रूपैयाँ छ । हालसम्म बढी लाभांश वितरणमा नबिल बैंक पहिलो बन्दै गएको छ । नबिल बैंकले एनबी बैंकलाई गाभेर अझै पनि आफ्नो स्थान सुरक्षित बनाउने रणनीति छ ।