सेबोन अध्यक्ष बन्न चाहने ५ प्रतिस्पर्धीलाई के-के प्रश्न सोधे डा. विश्व पौडेलले ?

काठमाडौं । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) नेतृत्वविहिन छ । आचरण विपरित काम गरेको अभियोगमा सरकारले तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई पदबाट हटाएर नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाइसकेको छ । सरकारले अध्यक्ष छनोट गर्नको लागि उनै व्यक्तिहरु रहेको समिति २ पटक गठन गर्यो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको संयोजकत्वमा गठित समितिप्रति सत्ता गठबन्धन माओवादी केन्द्र निकट कर्मचारीले विरोध जनाए । त्यसपछि सरकारले माओवादी कर्मचारीको माग बमोजिम डा. पौडेलकै संयोजकत्वमा अर्काे समिति गठन गरेको थियो । समितिले अध्यक्षको लागि पनि दुई पटक नै आवेदन मागेको थियो । पहिलो चरणमा १२ जनाले आवेदन दिएका थिए भने दोस्रो पटकमा थप ३ जना बढेर आवेदन दिनेको संख्या १५ पुगेको थियो । छनोट समितिको संयोजक डा. पौडेल छन् भने सदस्यहरुमा अर्थसचिव मधुकुमार मरासिनी र विज्ञका रुपमा नेप्सेका पूर्व अध्यक्ष जीवनाथ धिताल छन् । समितिले १५ आवेदकहरुमध्ये ‘शैक्षिक योग्यता, अनुभव, तालिम र व्यवसायिक कार्ययोजनाको परीक्षाको प्राप्ताङ्कको प्राथमिकताको आधारमा’ ५ जनाको संक्षिप्त सुची तयार पारेको थियो । पाँच जनाको सुचीमा पर्नेहरुमा कृष्णराज पोखरेल, खगेन्द्र कटुवाल, डा. गोपालप्रसाद भट्ट, निरज गिरी र रमेशकुमार हमाल थिए । अध्यक्ष छनोट समितिले यी ५ जना आवेदकहरुसँग फागुन १ गते व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता लिएको थियो । सो अन्तरवार्तामा संयोजक डा. पौडेलले अहिले बजारमा चलेका हल्लासँग सम्बन्धित प्रश्न नै सोधेका सहभागीहरुले जानकारी दिए । ‘बैंकलाई ब्रोकर लाइसेन्स दिनु हुन्छ कि दिनु हुन्न भन्ने प्रश्न एउटा थियो, नयाँ स्टक एक्स्चेञ्ज थप्नु पर्छ कि पर्दैन भन्ने प्रश्न पनि सोधिएको थियो, बोर्डमा धेरै भ्रष्टाचार छ भन्ने कुरा बाहिर आएको छ, त्यसको नियन्त्रण के कसरी गर्नुहुन्छ, नेपालको पुँजी बजारको लागि नयाँ प्रडक्ट के कस्ता हुन सक्छन् र कसरी ल्याउने सोच बनाउनु भएको छ भन्ने जस्ता प्रश्न सोधिएको थियो,’ सो प्रस्तुतीकरण तथा अन्तरवार्तामा सहभागीहरुले भने । डा. पौडेलले केही आवेदकहरुसँग भने राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन प्रकृतिको सेयरधितो कर्जाको ४ करोड र १२ करोडको सीमा ठीक हो कि होइन भनेर पनि सोधका थिए । सम्बन्धित समाचार सेवोन अध्यक्षका ३ प्रत्यासीः घरजग्गा, सेयर बजारदेखि बैंकसम्मका विज्ञ, कसको सम्भावना बलियो ?

… अनि डा. कार्कीले सेबोनबाट खाएको तलब बेरुजु भयो

काठमाडौं । धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षको रुपमा डा. रेवतबहादुर कार्कीले कार्यकाल पूरा गरेको २ वर्षभन्दा बढी समय भइसकेको छ । तर, डा. कार्कीले बोर्डबाट खाएको तलब भने बेरुजु भएको छ । सरकारले २०७२ साल असोज ३० गतेदेखि लागू हुने गरी ४ वर्षका लागि अध्यक्षमा नियुक्त गरेको थियो । उनको ४ वर्षे कार्यकाल २०७६ साल असोज २९ गते पूरा भइसकेको छ । त्यसपछि सरकारले बोर्डको अध्यक्षमा भिष्म ढुंगानालाई नियुक्त गरेको थियो । बुक विल्डिङ प्रक्रियाबाट आईपीओ जारी गर्न लागेको सर्वाेत्तम सिमेन्टको सेयर आफ्नी छोरीको नाममा खरिद गरी पदीय आचरण उल्लघन गरेको आरोपमा सरकारले ढुंगानालाई पदबाट हटाएको छ । र, अध्यक्षको रुपमा नयाँ व्यक्तिलाई नियुक्ति गर्ने अन्तिम तयारीमा सरकार छ । तर, करिब २ वर्ष अघि नै अध्यक्ष पदको कार्यकाल सकेर विदा भएका डा. कार्कीले लिएको तलब बेरुजु देखिएको छ । अझ रोचक कुरा त के छ भने एकातिर उनले लिएको तलब बेरुजुको रुपमा देखिएको छ र अर्काेतिर डा. कार्कीले बोर्डबाट पाउनु पर्ने करिब ६ लाख रुपैयाँ पाइरहेका छैनन् । डा. कार्कीले लिएको तलब लेखापरीक्षण गर्दा लेखापरीक्षकले बेरुजुमा राखिदिएको बोर्ड स्रोतले जानकारी दियो । भएको के थियो ? डा. कार्कीलाई सरकारले बोर्डमा नियुक्त गर्दा बोर्ड अध्यक्षको तलब मासिक ६५ हजार रुपैयाँ थियो । त्यसपछि सरकारले विभिन्न समयमा कर्मचारीको तलब बढायो । यसरी तलब बढाउँदा बोर्डका कर्मचारीको पनि तलब बढ्यो । कर्मचारीको तलब बढेकै अनुपातमा बोर्ड अध्यक्षको पनि तलब बढ्यो । तर, बोर्डको विनियमावलीमा अध्यक्षको तलब नेपाल सरकारले स्वीकृत गरे अनुसार हुने भन्ने व्यवस्था छ । अध्यक्षको तलब मासिक ६५ हजार रुपैयाँ हुने बेलामा अर्थमन्त्रालयबाट स्वीकृति आएको थियो । कर्मचारीको तलब बढे अनुसार नै अध्यक्षको पनि तलब बृद्धि गरेर डा. कार्कीले लिदै गए । तर, अर्थमन्त्रालयबाट स्वीकृति भने लिइएको थिएन । अर्थमन्त्रालयको स्वीकृतिको पत्र देखाउँन नसक्दा लेखापरीक्षकले तत्कालिन अध्यक्ष डा. कार्कीले खाएको तलब बेरुजु देखाइदिए । त्यसपछि बोर्ड अर्थमन्त्रालयको स्वीकृति लिने पहलमा लाग्यो । लेखापरीक्षकले बेरुजु नलेख्दासम्म कर्मचारीको तलब बढेको अनुपातमा नै अध्यक्षको पनि बढाइएकोले कुनै ‘इस्यू’ बन्ला भन्ने अनुमान बोर्डले पनि गरेको थिएन । त्यसपछि बोर्डले अर्थमन्त्रालयमा पत्र पठाएर अध्यक्षको तलब स्वीकृत गरिदिन आग्रह गर्यो । त्यतिबेला अर्थमन्त्री डा. युवराज खतिवडा थिए । अर्थमन्त्री डा. खतिवडा र बोर्ड अध्यक्ष डा. कार्की दुबै राष्ट्र बैंकका पूर्व कर्मचारी हुन् । तर, यी दुईबीचको सम्बन्ध खासै सुमधुर थिएन । यसरी पत्राचार हुँदासम्म बोर्ड अध्यक्ष डा. कार्कीले पदबाट अवकाश पाउने समय आउनै लागिसकेको थियो । तत्कालिन अर्थमन्त्री डा. खतिवडा अध्यक्ष डा. कार्कीले एकपटक आफूलाई भेटेर तलबबृद्धीको स्वीकृति दिन अनुरोध गरुन् भन्ने चाहन्थे । तर, डा. कार्की आफूले जस्तोसुकै मूल्य चुकाउनु परेपनि डा. खतिवडालाई भेटेर ‘विन्ति’ गर्ने मनस्थितिमा थिएनन् । ‘अर्थका कर्मचारीहरुले तलब स्वीकृतिको लागि पत्र पाएपछि स्वीकृत गरिदिन खोजेछन् तर, अर्थमन्त्री (डा. खतिवडा) ले एकचोटी अध्यक्षले नै आएर मलाई भेटेर भन्छन्, केही समय पर्खनु न भनेर रोकिदिएछन्, कर्मचारीबाट यो कुराको जानकारी पायौं, अनि हामीहरुले हाम्रा अध्यक्षलाई एकचोटी अर्थमन्त्रीलाई भेट्न जानुस् न भनेर धेरै चोटी अनुरोध गर्यौं तर, उहाँ (डा. कार्की) अर्थमन्त्रीलाई भेट्न जानै चाहनु भएन,’ बोर्डका एक कर्मचारीले भने । डा. कार्की तत्कालिन अर्थमन्त्री डा. खतिवडालाई नभेटी बोर्डको अध्यक्षबाट विदा भए । र, उनले खाएको तलब लेखापरीक्षणको क्रममा अहिले पनि बेरुजु देखिएको छ । डा. कार्कीलाई करिब ६ लाख घाटा बोर्डका अध्यक्षको स्वीकृत तलब भनेको मासिक ६५ हजार रुपैयाँ थियो । तर, सरकारले तलब बृद्धि गरेपछि बोर्डका कर्मचारीको तलब पनि बढ्यो । नेपाल सरकारले बढाएकै अनुपातमा तलब बृद्धि हुँदा बोर्डका तत्कालिन अध्यक्ष डा. कार्कीको मासिक तलब ७५ हजार रुपैयाँको हाराहारीमा पुग्यो । डा. कार्कीको मासिक तलब करिब १० हजार रुपैयाँले बढ्यो । यही १० हजारको हिसाव नमिलेका कारण लेखापरीक्षकले बेरुजु लेखिदिएका हुन् । तर, बोर्डले आफ्ना अध्यक्षलाई वार्षिक २ महिनाको तलब बराबरको रकम बीमा वापत उपलब्ध गराउँछ । र, त्यसरी उपलब्ध गराउने रकममा वार्षिक १० प्रतिशतले बृद्धि गर्ने प्रचलन छ । डा. कार्कीले अध्यक्षको रुपमा ४ वर्ष बोर्डमा काम गरे । मासिक ७५ हजार रुपैयाँको दरले तलब हिसाव गर्दा डा. कार्कीले बोर्डबाट ८ महिना तलब बराबरको ६ लाख रुपैयाँ बीमा रकम लिन बाँकी छ । त्यसमा प्रत्येक वर्ष १० प्रतिशतका दरले हुने रकम जोड्दा डा. कार्कीले बोर्डबाट लिनुपर्ने रकम अझै बढी हुने देखिन्छ । ‘डा. कार्कीले बीमा वापतको रकम लानु भएको छैन, उहाँले लिएको तलब अहिले बेरुजु देखिएको छ, बेरुजु देखिएपछि बोर्डले उहाँलाई रकम तिर्नुपर्ने भयो भनेर पत्र पठाउनु पर्ने भयो, जवाफमा उहाँले पनि मेरो बाँकीबाट तिरिदिनु भनेर पठाउनु हुन्छ होला, रमाइलो नै भएको छ,’ ती कर्मचारीले सुनाए ।

एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा डा. कट्टेल नियुक्त

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. ईन्द्रकुमार कट्टेल नियुक्त भएका छन् । फागुन ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कट्टेललाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले चैत २९ गतेबाट लागू हुने गरी सीईओमा कट्टेललाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ कट्टेलले चैत २९ गतेदेखि आगामी ४ वर्षसम्म संस्थाको कार्यकारी प्रमुखको कार्यभार सम्हाल्ने छन् ।