डीडीसीको महाप्रबन्धकका लागि दरखास्त आह्वान
काठमाडौं । सरकारले दूग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले डीडीसीका महाप्रबन्धक रुद्र पौडेलको कार्यकाल सकिनु अगाडी नै दरखास्त आह्वान गरेको हो । पौडेलको दुई वर्षे कार्यकाल आगामी फागुन २५ गते सकिदैछ् । कार्यावधि एक महिना बाँकी हुँदै मन्त्रालयले खुल्ला दरखास्त आह्वान गरेको हो । डीडीसीको महाप्रबन्धक बन्नका लागि सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७६ को दफा ३ उपदफा २ (ग) बमोजिमको शैक्षिक योग्यता हासिल गरी कुनै संस्था वा निकायमा व्यवस्थापककोे हैसियतले कम्तिमा दश वर्षेको कार्य अनुभवका साथमा दुग्ध विकास संस्थानको वर्तमान अवस्था, चुनौती र सुधारका विषय समेटिएको बढीमा ५ हजार शव्दको व्यावसायिक कार्ययोजना समेत पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ । दरखास्त दिने इच्छुकले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योेग्यताको प्रमाणपत्रको प्रतिलिपि, अनुभव खुल्ने कागजातको प्रतिलिपि, वैयक्तिक विवरण, एक प्रति पासपोर्ट साइजको फोटोका साथमा रु तीन हजार शुल्क लाग्नेछ । मन्त्रालयले २१ दिनको अवधि राख्दै मंगलबार दरखास्त आह्वान गरेको हो ।
मालाले छोपिए क्यानका डीजी अधिकारी
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणका (क्यान) का नवनियुक्त महानिर्देशक (डीजी) प्रदिप अधिकारी मालाले छोपिएका छन् । ११ औं तहका अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी चार वर्षे कार्यकालका लागि महानिर्देशकमा नियुक्त गरेको थियो । क्यानको डीजी बन्नका लागि १२ औं तहका ६ जना उपमहानिर्देशक प्रतिस्पर्धामा रहेका थिए । ६ जना सिनियरलाई पाखा लगाउँदै अधिकारीले डीजीमा बाजी मारेका हुन । उनको स्वागतमा धेरै वटा मालाको प्रयोग भएको एउटा तस्विरले देखाएको छ । नवनियुक्त डीजी अधिकारीलाई धेरै वटा माला लगाइएकोे तस्विर फेलापारेपछि उनकै एक सहपाठीले व्यङग्य गरेका छन् । ‘लौ गज्जबको दृश्य देख्न पाइयो त ! यस्ता मालाको खातमा आफ्नै सहपाठी देख्दा एकातिर खुशी र गर्व लाग्ने अर्कोतिर आफ्ना साथी उस्तै आहालमा रमेको देखेर चसक्क मन दुख्ने !!! नियुक्त हुँदा जस्तो निवृत्त हुँदा होस् या चीरकालसम्म यस्तै माला पहि¥याउने गरेर काम गर्नु मित्र !! सुखद, सफल र अब्बल कार्यकालको शुभकामना !!! बधाई छ प्रदीप अधिकारी,’ सामाजिक सञ्जाल (फेसबुकमा) डीजी अधिकारीलाई मेन्सन गर्दै माधनराज न्यौपानेले लेखेका छन् ।
नेप्सेका नवनियुक्त सीईओले सोमबारदेखि कार्यभार सम्हाल्ने, भन्छन्ः तीन कार्ययोजना बनाएर अघि बढ्छु
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले आगामी सोमबार अर्थात माघ २४ गतेदेखि कार्यभार सम्हाल्ने भएका छन् । सरकारले नेप्सेको प्रमुखको जिम्मेवारी दिएको करिब एक सातापछि कार्कीले आफ्नो पदभार सम्हाल्ने तयारी गरिरहेका हुन् । माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई ६ महिना अघिदेखि नेतृत्वविहीन भएको नेप्सेमा प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । यससँगै कार्कीले माघ २४ गतेदेखि चार वर्षसम्म नेप्सेको नेतृत्व सम्हाल्ने भएका छन् । ४ वर्षको लागि नियुक्त भएका नवनियुक्त सीईओ कार्कीले हाल आवद्ध रहेको संस्थाको राजिनामा स्वीकृत भएपछि नेप्सेमा कार्यभार सम्हाल्ने बताएका छन् । ‘अन्य संस्थाको राजिनामा स्वीकृत गराएर नेप्सेमा जाने हो, सायद आइतबार सबै काम सकिन्छ अनि सोमबारदेखि जान्छु होला,’ कार्कीले विकासन्युजसँग भने । अर्थशास्त्र र सार्वजनिक प्रशासनमा मास्टर गरेका कार्कीले विगत ५ वर्ष अघिदेखि बुढीगण्डकी आयोजनाको संयोजक अर्थात सहसचिव सरहको पदमा रहेर काम गरिरहेका छन् । पहिलादेखि नै पुँजीबजार प्रति रुची राख्ने कार्कीले अब पुँजीबजारको नेतृत्वमा रहेर सबैको साथ सहयोगका साथ बजारको विकास तथा विस्तारलाई विशेष जोड दिने बताएका छन् । ‘पुँजीबजारलाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी, समय सापेक्ष प्रविधिमैत्री बनाउनेमा नै जोड दिने हो, विसंगतिहरुलाई पनि हटाउँदै लगानीकर्ताको मनोबल बढाउने खालको काम कारवाही अघि बढाउने नै मेरो मुख्य प्राथमिकता हो,’ सीईओ कार्कीले भने । साथै, कार्यभार सम्हालिसकेपछि थप अध्ययन गरेर मात्रै कार्ययोजना तयार पार्ने उनी बताउँछन् । ‘पहिला कार्यभार सम्हालौं, त्यसपछि संस्थाका व्यवस्थापकीय टीमहरुसँग बसेर थप अध्ययन अनुसन्धान गरेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्ने उद्देश्य छ,’ विकासन्युजसँग बोल्दै उनले भने- ‘अब कार्यभार सम्हालेको २/३ हप्ताभित्र आफ्नो योजना सार्वजनिक गर्ने छु ।’ अहिले बाहिरी दृष्टिकोणले हेर्दा नेप्सेमा केही नीतिगत स्वार्थ, केही संरचनागत संस्थाका कुराहरु छन्, कार्यक्षेत्र विकास लगायत ब्रोकरको पूर्वाधार विकासमा केही सुधार गर्नुपर्ने देखिएको उनको भनाई छ । जसलाई सुधार गर्न आफ्नो प्रयास जारी रहने र त्यसमा सबैको साथ सहयोग पाइनेमा उनी विश्वस्त छन् । सम्बन्धित समाचारः नेप्सेको सीईओ बने कृष्णबहादुर कार्की, को हुन् उनी ?