सिभिल बैंकको डीसीईओमा रायमाझी नियुक्त, २१ वर्षको बैंकिङ अनुभव

काठमाडौं । सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सचिनजङ्ग रायमाझी नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकल आगामी जेठ १८ गतेदेखि लागू हुने गरी रायमाझीलाई डीसीईओमा नियुक्त गरेको हो । हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीले अब बुधबारदेखि डीसीईओको कार्यभार सम्हाल्ने छन् । नेपाल बंगलादेश बैंकबाट बैंकिंङ शुरु गरेका रायमाझीले नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंक (एनसीसी बैंक, मेगा बैंक र प्रभू बैंक) मा गरी कुल २१ वर्षको बैंकिङ अनुभव रहेको छ । विगत साढे चार वर्षदेखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख संचालन अधिकृतको समेत भूमिका निर्वाह गरिसकेका छन् । त्यस्तै, उनले नायव प्रमुख कार्यकारी अधिकृतकोे भुमिका समेत सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाईमा पुर्याउनेमा बैंकले विश्वास लिएको छ । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वर्तमान प्रमुख कर्जा अधिकृत सचिन जङ्ग रायमाझीले बैंकमा पुर्याउनु भएको योगदानको कदर गर्दै उनलाई डीसीईओको कार्यभार सुम्पिएको बताएका छन् ।

फोनपेको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त

काठमाडौं ।  नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख टेक्नालोजी अफिसरमा सुवास थापा नियुक्त भएका छन् । थापालाई मंगलबार फोनपेको सञ्चालक समितिले नियुक्त गरेको हो । वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा ९ वर्ष भन्दा बढी सेवा अनुभव सम्हाली सकेका थापाले नेपाल क्लियरिङ हाउसमा ’हेड–प्रोडक्ट र सिस्टम डेभलपमेन्ट’ को रूपमा काम गरिसकेका छन् । राष्ट्रिय भुक्तानी स्विच परियोजनाहरू कार्यान्वयन गर्न समेत साथा प्रमुख भूमिकामा रहेका थिए । व्यवसाय प्रक्रिया पुनः इन्जिनियरिङ, प्रविधि डिजाइन, समाधान विकास, सरोकारवाला सचेतना र म्यानुअल भुक्तानी प्रक्रियाको डिजिटलाइजेशनको कार्यान्वयनमा सक्रिय रूपमा थापा संलग्न हुँदै आएका छन् । कम्प्युटर एप्लिकेसनमा मास्टर डिग्री गरेका थापासँग क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत वैकल्पिक वित्तको लागि क्याम्ब्रिज केन्द्रबाट’ क्याम्ब्रिज फिनटेक र रेगुलेटरी इनोभेसन’ कार्यक्रम पूरा गरेको अनुभव पनि छ । फोनपे नेटवर्कमा आवद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्सबाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर, हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ । फोनपे पेमेन्ट सर्भिस नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आवद्ध छन् । यस्तै फोनपेमा हालसम्म ६ लाख ७० हजारभन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ४० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

भिजिट भिसामा दुबई पठाई साढे दुई करोड ठगी गर्ने समूह पक्राउ

काठमाडौं । भ्रमण भिसामा नेपालबाट दुबई पठाई करोडौँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ राईनास नगरपालिका–३ का ४७ वर्षीय मधुविलास बास्कोटा, सोलुखुम्बु दुधकुण्ड नगरपालिका–८ का ५४ वर्षीय होमबहादुर खड्का, काठमाडौं कागेश्वरीमनोहरा नगरपालिका–७ बस्ने ३५ वर्षीया रञ्जना ढकाल प्याकुरेल र सोही ठाउँका ४० वर्षीय सन्तोष प्याकुरेल तथा रुपन्देही देवदह नगरपालिका ५ का ३० वर्षीय राजु भन्ने खुमबहादुर बस्याल रहेका छन् । उनीहरुले दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी एलएलसीको सञ्चालक कोमलराज उपाध्यायसमेतको गिरोहले आम्र्स गार्डमा ५०० को आवश्यकता भएको र मासिक तीन हजार दिरामसम्म पाउने भनी प्रलोभनमा पारेर प्रतिव्यक्ति रु तीन लाख ५० हजारदेखि आठ लाखसम्म खर्च लाग्ने भनी ठगेको खुलेको छ । गिरोहले फेसबुक, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालको पेजमा भ्रमात्मक विज्ञापन राखी आकर्षक तलब, सेवा सुविधाको प्रलोभन देखाई दुबईमा पु¥याएर काममा नलगाई बिचल्ली बनाएर फरार भएका खुल्न आएको छ । उक्त घटनामा संलग्न उनीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले सर्लाही, रुपन्देही र काठमाडौंका विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरेको मंगलबार एक सूचना जारी गरी जनाइएको छ । नेपाल सरकार, श्रम मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरी, नेपाल र दुबईस्थित विभिन्न संस्थाहरुको सहयोग तथा सहकार्यमा पीडितहरूलाई नेपाल फिर्ता ल्याइएको थियो । हालसम्म ७६ पीडितहरुबाट दुई करोड ४३ लाख ३६ हजार ठगी भएको खुल्न आएको छ । उनीहरू उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।