राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा बस्नेत नियुक्त

काठमाण्डौं । रााष्ट्रिय युवा परिषदको उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रीपरिषदको बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा नियुक्त गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषदको उपाध्यक्ष नियुक्तीकालागि मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको नेतृत्वमा ३ सदस्यीय सिफारीस समिति गठन गरीएको थियो । गत पौष १ गते युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्त्रीस्तरीय निर्णयबाट सिफारीस समिति गठन गरेका थिए । सोही समितिको सिफारीसको आधारमा मन्त्रीपरिषदको बैठकले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो । राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा १५ बमोजिम ४ वर्षे कार्यकालकालागि बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरीएको हो । उपाध्यक्ष पदमा नियुक्तीकालागि १२ जनाले आवेदन दिएका थिए ।

स्वावलम्बन लघुवित्तको अध्यक्षमा डा. गुरुङ नियुक्त

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा डा. सुमित्रा मानन्धर गुरुङ नियुक्त भएकी छिन् । पुस २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा डा. गुरुङलाई चयन गरेको हो । यससँगै उनले संस्थाको अध्यक्ष पदमा रहेर आगामी कार्यकाल सम्हाल्ने छिन् ।

कोरियामा प्रवासी मजदुरको प्रवेशाज्ञा एक वर्ष थप

काठमाडाैं । इपिएसमार्फत दक्षिण कोरिया आई काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ । दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी मजदुर भित्र्याउन नसकेपछि जनवरी १ देखि अप्रिल १२ सम्म प्रवेशाज्ञा सकिन लागेका नेपाली श्रमिकसहित यहाँ रहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको हो । यहा श्रम गर्न आउने श्रमिकले सुरुमा तीन वर्षसम्मको प्रवेशाज्ञा पाउने गर्छन् । उक्त अवधि सकिएपछि पुनः एक वर्ष १० महिना थप गरी चार वर्ष १० महिना प्रवेशाज्ञा पाउने नियम छ तर पछिल्लो वर्ष कोरोना महामारीका कारण कोरियाले आवश्यक मात्रामा प्रवासी मजदुर भित्र्याउन नसकेकाले यहा रहेका प्रवसी मजदुरलाई राहत मिलेको छ । प्रवेशाज्ञा तीनवर्षे अवधि वा चार वर्ष १० महिनाको अवधि सकिन लागेकालाई मात्र थपिएकोे प्रवासी श्रमिक युनियन (एमटियु)का अध्यक्ष उदय राईले जानकारी दिए । यसरी प्रवेशाज्ञा थपिने भएपछि तीन वर्षको अवधि सकिने तथा हाल चार वर्ष १० महीनाको अवधि सकिने सम्पूर्ण श्रमिकको कोरिया बसाईं अवधि पाँच वर्ष १० महिना हुनेछ । तीन वर्षको कार्यकाल सकिने श्रमिकले एक वर्ष थपेर चार वर्ष पूरा गरेपछि पुनःपहिलेकै नियमानुसार एक वर्ष १० महिनाको प्रेवेशाज्ञा थप्न सक्नेछन् । यो निर्णयले दक्षिण कोरियामा अझै थप बसेर श्रम गर्दै कमाउँछु भन्नेका लागि अवसर मिलेको छ भने नेपाललगायत अन्य देशमा रहेर सम्पूर्ण प्रक्रिया पूरा गरी कोरिया जान पर्खिरहेकामा भने कोरोनाका कारण प्रक्रिया अझै लम्बिन सक्ने देखिएको छ । रासस