शून्य लागतसहितको रोजगारीको व्यवस्था गर्न मलेसियासँग आग्रह
काठमाडाैं । मलेसियाको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका मानव संसाधनमन्त्री दातुक सेरी एम सराभननसँग भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनीहरूले नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई नेपाली युवाको मलेसियाली श्रम बजारमा रहेको उपस्थितिले थप मजबुत बनाएकामा प्रसन्नता व्यक्त गर्दै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवं सुमधुर तुल्याउन आफूहरू प्रतिबद्ध रहेको बताए । दुवै पक्षले दुई देशबीच सन् २०१८ मा हस्ताक्षर भई हाल कार्यान्वयनमा रहेको द्विपक्षीय समझदारीपत्रलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, मलेसियाको श्रमबजारको आवश्यकता बमोजिम नेपाली युवालाई सीपयुक्त बनाई थप रोजगारीका अवसरहरू प्रदान गर्ने, रोजगारीको लागि युवाका छनोट तथा नियुक्तिलाई शून्य लागतसहितको स्वच्छ नियुक्तिको सिद्धान्तलाई थप प्रभावकारी बनाउने, मलेसियामा रोजगारीमा रहेका नेपाली नागरिकहरूको स्वास्थ्य, सामाजिक सुरक्षा र सामाजिक कल्याणलाई थप सवलीकरण गर्ने, चौबिसै घण्टा प्रभावकारी हुने बिमा सुविधाको व्यवस्था गर्नेबारेमा विचारविमर्श गरेकाे क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । नेपाली श्रमिकलाई आफ्ना अधिकार र आफूले पालना गर्नुपर्ने शर्त मलेसिया प्रवेश गर्नुअघि नै सचेत गराई कामको सिलसिलामा कुनै समस्या आइपरे तुरुन्त गुनासो गर्ने र प्राप्त गुनासाहरूको समयमै सम्बोधन गर्ने व्यवस्था मिलाउनेलगायत विषयमा पनि मन्त्रीद्वयबीच छलफल भएको थियो । मन्त्री श्रेष्ठले मलेसियाको निजी सुरक्षा गार्डको रूपमा नेपाली युवालाई अवसर दिएकामा कृतज्ञता ज्ञापन गर्दै उनीहरूको आधारभूत तलब बढाउन, स्वास्थ्य उपचारमा विशेष ध्यान दिन, सामाजिक सुरक्षा र कल्याणका क्षेत्रमा सुविधा वृद्धि गर्न आग्रह गरेका थिए ।
अजोड इन्स्योरेन्सका सीईओ खत्रीले पाए निरन्तरता
काठमाडौं । अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले निरन्तरता पाएका छन् । बैशाख १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा निरन्तरता दिने निर्णय गरेको हो । समितिको उक्त निर्णयलाई बीमा समितिले स्वीकृति दिनु पर्ने छ । समितिको स्वीकृति पाएपश्चात सीईओ खत्रीले थप एक कार्यकाल अर्थात आगामी ४ वर्षसम्म कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने छन् । उनको पहिलो कार्यकालमा इन्स्योरेन्सले राम्रो ग्रोथ गरेको कम्पनीले प्रकाशित गरेको तथ्यांकले देखाउँछ । सोही कारण इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उनलाई पुनः सीईओ पदमा दोहोर्याउने निर्णय गरेको हो ।
कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त
काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । यसअघि बैंकको कामू सीइओको रुपमा कार्यरत उनी बैंकको सीईओमा नियुक्त भएका हुन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले बुधबारदेखि लागू हुने गरेर ४ वर्षको लागि सीईओ बनाएको बताइएको छ । उनी कामु सीईओ बनेको साढे दुई महिनामै सीईओ बनेका हुन् । बैंकले माघ २४ मा खनाललाई कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिएको थियो । खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनीसँग करिब डेढ दशक बैंकिङ क्षेत्रमा काम गरेकाे अनुभव छ । उनले एनआईसी एसिया क्यापिटलमा सीईओको रुपमा पनि काम गरिसकेका छन् भने सिद्धार्थ बैंकमा पनि काम गरेकाे उनीसँग अनुभव छ । साढे २ महिनाको अवधिमा कामु सीइओको रूपमा काम गर्दा कुमारी बैंकको तेश्रो त्रैमासमा राम्रो प्रगति भएको तथ्यांकले देखाउँछ । त्यसकारण पनि बैंक सञ्चालक समितिले उनीमाथि विश्वास गरेर सीइओको जिम्मेवारी सुम्पेको हो । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांक अनुसार बैंकले १ अर्ब ८० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, चुक्ता पूँजी ६ प्रतिशत बढेको छ भने जगेडा कोष १०.४७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप संकलन १३.४२ प्रतिशतले र कर्जा लगानी १३.०८ प्रतिशतले बढेको छ। कुमारी बैंकका तत्कालीन कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत मनिस तिमल्सिना बैंकबाट बाहिरिएपछि उनले कामु सीईओको जिम्मेवारी पाएका थिए । उनीहरुले स्वेच्छिक अवकास लिएर बैंकबाट बाहिरिएका थिए ।