८ कक्षा पास गरेका ३७ जनालाई राष्ट्र बैंकमा जागिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा पदमा करार कर्मचारीको माग गरेको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै सुरक्षागार्ड (पिपा पद) र सवारी चालक पदको लागि करार कर्मचारीको माग गरेको हो । बैकले १६ सुरक्षागार्ड, हलुका गाडी चलाउने १४ र बस चलाउने ७ जना कर्मचारीको माग गरेको हो । बैंकले सो पदको लागि सेवा अवधि ६ महिना रहेको र सो पदमा उम्मेद्वार दिनेको उमेर ४५ वर्ष ननाघेको र कम्तिमा पनि आठ कक्षा पास गरेको हुनुपर्ने जनाएको छ । पिपाको पदका लागि नेपाली सेनाबाट पिपा वा सोभन्दा एक तह माथि काम गरी निवृत्तिभरण प्राप्त गर्ने गरी अवकाश पाएको हुनुपर्ने र सवारी चालकको हकमा बैंक तथा वित्तिय संस्था वा नेपाल सरकारको निकायमा कम्तिमा १० वर्ष सम्बन्धित सवारी साधन चालक सम्बन्धी अनुभव प्राप्त गरको हुनु पर्ने बैंकले सूचनामा उल्लेख गरेको छ । यसका लागि आवेदन दिने अन्तिम मिति साउन ४ गते तोकिएको छ । [pdf id=337952]

मलेसियाको विस्ट्राेन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० जाँदै

काठमाडाैं । मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा मलेसियाको विस्ट्राेन टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्विपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा विस्र्टन टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरे । सम्झौताअनुसार उक्त कम्पनीमा दुई मेनपावर कम्पनीमार्फत नेपाली श्रमिक शून्य लागतमा मलेसिया जान पाउनेछन् । मलेसियाको सो कम्पनीले पहिलो चरणमा ४५० श्रमिक लैजान लागेको छ । आकर्षण इन्टरनेशनलबाट १४० महिला र ६० पुरुष तथा लालधनुष इन्टरनेशनलबाट १७५ महिला र ७५ पुरुष श्रमिक मलेसिया जाँदैछन् । नेपाली श्रमिक मलेसिया लैजान कम्पनीको उच्च व्यवस्थापक टोली काठमाडौंमै आएको छ । बुधबार र बिहीबार श्रमिक छनोटका लागि अन्तर्वार्ता तोकिएको छ । छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने विस्ट्राेन टेक्नोलोजीका डेपुटी जनरल म्यानेजर डेभिडले बताए । ‘कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा हामी अत्यन्त सजक छौँ’, उनले भने, ‘नेपाली श्रमिक र मलेसियाका श्रमिकका बीचमा ज्याला तथा अवसरमा कुनै विभेद हुनेछैन ।’ सो कम्पनीको विभिन्न चीन, भारत, ताइवान, मेक्सिको, चेक रिपब्लिक, फिलिपिन्सलगायत देशमा उद्योग रहेको छ । मलेसियामा मात्रै दुई उद्योग छन् । सो कम्पनीमा विभिन्न देशमा गरी करिब ८० हजार श्रमिक कार्यरत छन् । डेपुटी जनरल म्यानेजर डेभिडले श्रमिकको आरामदायी बसोबासका लागि आफ्नै अपार्टमेन्ट रहेको बताए । उक्त कम्पनीले नेपाली श्रमिकलाई न्यूनतम एक हजार ५०० मलेसियन रिङ्गेट तलब पाउनेछन् । त्यसका अतिरिक्त भत्ता र बोनसका साथै वार्षिक विदाको पनि व्यवस्था रहेको छ । आकर्षण इन्टरनेशनलका अध्यक्ष केसीले श्रमिकको न्यायोचित भर्नाको सुरुआत गरिएको र नमूना मेनपावर लक्ष्यसहित लागि परेको बताए । १८ वर्षदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउँदै आएको सो मेनपावरले सन् २०१५ देखि शून्य लागतमा श्रमिक पठाउँदै आएको छ ।

द रोयल गोर्खा ओभरसिजले दुबईमा काम लगाइदिने भन्दै करोडौं ठगी गरेको आरोप

काठमाडौं । दुबइमा आर्मी गार्ड, र भिआइपी सेक्युरिटी गार्डमा रोजगारीको प्रलोभन देखाई १ करोड ४३ लाख ठगी गरेको आरोपमा ६ जना विरुद्ध वैदेशिक रोजगार विभागले रोजगार न्यायाधिकरण बबरमहलमा मुद्दा दायर गरेको जनाएको छ । भोजपुर नगरपालिकाका प्रदिप तामाङ र गौरदह नगरपालिकाका सुरज गजुरेल सहित ६ जना विरुद्ध हर्जना क्षतिपुर्ति सहित २ करोड १४ लाख ७७ हजार ७ सय ५० रुपैयाँ विगोको माग गर्दै असार १६ गते मुद्दा दायर गरिएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताएका छन् । कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएर सञ्चालन हुँदै आएको द रोयल गोर्खा ओभरसिज प्रालीका सञ्चालक कमल बिक सहितका व्यक्तिहरुले दुबइमा काम लगाइदिने भन्दै केशब आचार्य सहित ३६ जना व्यक्तिहरुमार्फत ८ लाखको दरले १ करोड ४३ लाख रुपैयाँ ठगी गरेको जाहेरी विभागमा परेको विभागका सूचना अधिकारी भुसालले जनाएका छन् ।