नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा अवस्थी नियुक्त
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्ण अवस्थी नियुक्त भएका छन् । महासंघको नवौं कार्यकारिणी बैठकले उनलाई महानिर्देश्कमानियुक्त गरेको हो । यसअघि महासंघको उप–महानिर्देशक रहेका उनी महासंघको महानिर्देशकमा नियुक्त भएका हुन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरमा व्यवस्थापन गरेका अवस्थीले इण्डियन इन्सिच्युट अफ मास कम्युनिकेसनबाट विकास पत्रकारितामा डिप्लोमा गरेका छन् । लामो समय आर्थिक पत्रकारितामा कलम चालएका अवस्थीले यस अघि संयुक्त राष्ट्र संघ दिगो विकास लक्ष्यको सल्लाहकार भएर काम गरिसकेका छन् । उनी नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष समेत हुन् । अवस्थी अन्तर्राष्ट्रिय व्यापार, वित्त तथा निजी क्षेत्रका बारेमा जानकार पनि मानिन्छन् ।
वैशाख २ गतेदेखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति
काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए । कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ । संस्थागत श्रम स्वीकृतिका लागि म्यानपावर व्यवसायी वा उनीहरुका प्रतिनिधि कार्यालय आउने गरेकामा यो व्यवस्थासँगै कार्यालयमा भौतिक उपस्थितिबिना नै संस्थागत श्रम स्वीकृतिको व्यवस्था गरिएको हो । कार्यालयले गत माघदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिँदै आएको छ । पुनः श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र हुन थालेसँगै दैनिक एक हजारभन्दा धेरै सेवाग्राहीले कार्यालयमा उपस्थित नभई अनलाइनबाटै सेवा लिँदै आएका छन् । श्रम मन्त्रालयले श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र पारदर्शीरूपमा सेवाप्रवाह गर्न अनलाइन प्रणाली कार्यान्वयनमा ल्याइएको जनाएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहज र सरल तरिकाबाट सेवा प्रदान गर्ने नीतिअनुसार अनलाइन प्रणालीबाट श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको भनाइ छ । आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो–छरितोरूपमा गुनासोरहित सेवा प्रदान गर्न मन्त्रालयले दिएको निर्देशनानुसार पुनः श्रम स्वीकृतिसँगै संस्थागत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट गर्न लागिएको कार्यालय प्रमुख अर्यालको भनाइ छ । कागजात जाँच गर्न समय लाग्ने तथा कहिलेकाहीँ सर्भरको समस्या हुनसक्ने भएकाले तीन दिनअघि नै संस्थागत श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिन इजाजत पत्रवाला म्यानपावर कम्पनी र सरोकारवालालाई कार्यालयले अनुरोध पनि गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष संघईले लिए शपथ
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले सपथ ग्रहण गरेका छन् । इन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष संघईले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष आफ्नो पद तथा गोपनियताको सपथ लिएका हुन् । समितिका अध्यक्ष सिलवालले इन्स्योरेन्सका अध्यक्ष संघईलाई बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम सपथ दिलाएका हुन् ।