ज्योति लाइफका सञ्चालक अग्रवाल बने राउण्ड टेबलको अध्यक्ष, नेपालकै पहिलो बन्न सफल
काठमाडौं । ज्योति लाइफ इन्स्योेरेन्स कम्पनीका संचालक जयन्तकुमार अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको अध्यक्ष पदमा निर्वाचित भएका छन् । उक्त पदमा निर्वाचित हुने उनी पहिलो नेपाली हुन् । गैरनाफामूलक संस्था राउण्ड टेबल संसारको ६८ देशहरुमा क्रियाशील संस्था हो । जुन शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय छ । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण तथा अन्य कार्यहरु गरिसकेको छ । यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ । राउण्ड टेबल इन्टरनेशनल १८ देखि ४० वर्ष उमेर समूहका गैर-राजनीतिक र गैर-साम्प्रदायिक युवाहरूको संगठन हो । युवाहरूको उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा सेवा, सद्भाव र सद्भावनालाई प्रवर्द्धन गर्नु हो । यस संस्थाले टेबलरहरू ४५ वर्षको भएपछि युवाहरूलाई बाटो दिँदै सो दायित्वबाट बिश्राम लिने गर्दछ । त्यसैले यो सधैं जवान रहने बताइन्छ ।
व्यवसायीहरुको गुनासो : कामदारहरु सीप सिक्छन्, विदेश जान्छन्
काठमाडौं । वस्तुगत व्यवसायीहरुले नेपालमा तालिम सिकेर विदेश जाने संख्या बढ्दा व्यवसाय सञ्चालन गर्न समस्या हुने गरेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न ६ वटा वस्तुगत संघसँग सिप तथा तालिम सम्झौता कार्यक्रममा बोल्दै व्यावसायीहरुले यस्तो गुनासो गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत रहेको स्वास्थ तथा सीप बिकास समितिका सभापति हेमराज ढकालले तालिम लिएर विदेश जाँदा व्यवसाय सञ्चालन गर्न समस्या भएको बताए । कम्पनीमा थोरै समय काम गर्ने अनि केही सिप सिकेपछि विदेश जाने गरेको उनको भनाइ छ । ‘तालिम प्राप्त कर्मचारी वैदेशिक रोजगारमा जाँदा सीप सिकाएको प्रभावकारी भएन, केही समय काम गर्छन्, मेनपावरमा पासपोर्ट दिन्छन्, भिजा आउने वित्तीकै विदेश जान्छन्,’ उनले भने, ‘दक्ष जनशक्तिको अभाव हुँदा उद्योगहरु सञ्चालन गर्न समस्या भयो, काम गर्दागर्दै तालिम दिने व्यवस्था हुनुपर्छ, तालिम सिकेर विदेश जान रोक्नुपर्छ ।’ विभिन्न वस्तुगत संघसँगको समन्वय गरेर महासंघको २२ लाखलाइ रोजगारी दिने लक्ष्य पुरा गर्नुपर्ने उनले बताए । १ सय बिलियनको अर्थतन्त्र बनाउने भिजन पेपर २०३० लाई पूरा गर्न सीप तालिमको व्यवस्था गरेर रोजगारी दिनु पर्ने उनको भनाइ छ । साना तथा मझौला उधोगले उत्पादन गरेका वस्तुलाई महत्व नदिँदा आयात बढेको उनले बताए । रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) का अध्यक्ष अरनिको राज भण्डारीले तालिमसँगसँगै रोजगारीको समेत जिम्मेवारी लिएको बताए । कोरोना महामारीको समयमा होटलहरु पूर्ण रुपमा ठप्प हुँदा समस्या पर्नुका साथै दक्ष जनशक्तिको क्षमता समेत घटेको उनको भनाइ छ । ‘कोरोना महामारीको समयमा व्यवसाय ठप्प हुँदा दक्ष जनशक्तिको क्षमता समेत घटेको छ, लामो समयदेखि काम बाट बन्चित भएका ब्यक्तीलाई तालिम दिँदा सहज हुनेछ, आवश्यकता हेरेर तालिमको व्यवस्था गरेर रोजगारी दिन्छौं,’ उनले भने । नेपाल एशोसियसन अफ टूर एण्ड ट्राभेल एजेन्टकी युविका भण्डारीले पर्यटन क्षेत्रमा तालिमका लागि आवेदन दिने संख्या बढी रहेको बताइन् । आफूहरुले तालिम दिएका ब्यक्तिहरु विदेश जाँदा व्यवसाय सञ्चालन गर्न समस्या हुने गरेको उनको भनाइ छ । साथै उनले पर्यटन क्षेत्रमा दक्ष कर्मचारीको अभाव रहेको बताइन् । फिसरी एशोसियसनका अध्यक्ष अम्बिका अधिकारी काम गर्ने जनशक्तिको अभाव रहेको बताउँछन् । माछापालन क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति अभाव भएका बेला महासंघको तालिमले सहयोग पुग्ने उनको धारणा छ । ‘आफैं काम गर्ने मान्छेलाईं तालिम दिदै आएको थियौं, महासंघले तालिम दिने भएपछि मत्स्य पालन व्यावसायीलाई सहज हुनेछ, मत्स्य पालन सम्बन्धी तालिमको व्यवस्था देशभरि हुनुपर्छ,’ उनले भने । नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष राजकुमार कार्कीले नेपालको निर्यात क्षेत्रमा अलैचीं एक नम्बरमा पर्ने भएकाले अझै ब्यापक गर्नुपर्ने बताए । पछिल्लो समय भारते पनि आफैं उत्पादन गरिरहेकाले गुणस्तरमा जोड दिनु पर्ने उनको भनाइ छ । ‘नेपालको निर्याताम अलैंची एक नम्बरमा छ, भारतमा मात्रै निर्यात गर्नु परेको छ तर, पछिल्लो समय भारत आफैंले पनि उत्पादन गर्दा गुणस्तरीयतामा जोड दिनु परेको छ, अलैंचीको मुख्य बजार झापा हो, समयमा तालिम दिएर अझै ब्यापक बनाउनु पर्छ,’ उनले भने । जुत्ता उत्पादक संघका महासचिव ग्यानेन्द्र प्रसाद दाहालले विदेशी कामदारको भरमा व्यवसाय सञ्चालन गर्नु परेको गुनासो गरे । भारतबाट कामदार ल्याएर व्यवसाय सञ्चालन गर्दा ठूलो रकम बाहिर जाने गरेको उनले बताए । ‘जुत्ता व्यवसायमा दक्ष जनशक्तिको अभाव हुँदा बिदेशीबाट कामदार ल्याउनु पर्छ, विदेशबाट जनशक्तिको भरमा व्यवसाय संचालन गर्नु पर्ने बाध्यता छ, उनीहरुले ठूलो रकम पनि नेपालबाट बाहिर लगेर जान्छन्, नेपालमा जनशक्ति उत्पादन गर्न तालिमको आवश्यकता छ,’ उनले भने ।
सरकारले एक जनालाई १० पटकसम्म तालिम दियो, ६० प्रतिशत अदक्ष जनशक्ति चालउँछन् व्यवसाय : अञ्जन श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपालका सबै किसिमका विजनेश हाउसमा ६० प्रतिशतभन्दा बढी कर्मचारी अदक्ष रहेको बताएका छन् । आइतबार महासंघले गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कर्णाली प्रदेशमा झनै विजोग अवस्था रहेको बताए । ‘नेपालमा सञ्चालन सबै विजनेश हाउसमा ६० प्रतिशत कर्मचारी अदक्ष कर्मचारी रहेका छन्, ४० प्रतिशत दक्ष जनशक्ति कर्मचारीले विजनेश चलिरहको छ, कर्णाली प्रदेशमा १० प्रतिशत मात्रै दक्ष जनशक्ति रहेका छन्,’ उनले भने, ‘सीप सिकेका जनशक्तिको आवश्यकता धेरै छ, अहिलेको आवश्यकता भनेको तालिमसँगै रोजगारी दिनु पर्नेछ ।’ सरकारले तालिमका नाममा ठूलो रकम खर्च गरेको उनको भनाइ छ । उनले सरकारले एक जनालाई १० पटकसम्म तालिम दिएको समेत बताए । ‘सरकारले लामो समयदेखि तालिम दिइरहेको छ, एक जना नेपालीले १० पटकसम्म तालिम पाएको भन्ने सुनेको छ, वास्तविकता जस्तै लाग्छ, सरकारले तालिमका नाममा ठूलो रकम खर्च गरेको हुँदा १० पटक नै तालिम दिएको होला जस्तो लाग्छ, सरकारले तालिम दिएपनि अर्कै ठाउँमा सरुवा गर्छ,’ उनले भने । उनले प्रत्येक वर्ष ६ लाख जनसंख्या काम गर्न सक्षम रहेको बताए । उनीहरुलाई रोजगारी दिन ठूलो चुनौती रहेको उनको भनाइ छ । उनले भने, ‘नेपालको कूल जनसंख्याको १६ देखि ४५ वर्ष उमेर समूहको ४० प्रतिशत जनशक्ति छ, यो जनशक्ति नेपालमा काम गर्न सक्ने क्षमता भएका हुन्, प्रत्येक वर्ष ५/६ लाख जनशक्ति उयत्पादन हुन्छन्, सरकारले ५० हजारलाई मात्रै रोजगारी दिन्छ, निजी क्षेत्रले २ लाखलाई रोजगारी दिन्छ, एक लाख जनसंख्या प्रत्येक वर्ष विदेश जान्छन्, बाँकी डेढ लाखदेखि २ लाखलाई कसले रोजगारी दिने भन्ने चुनौति छ ।’ जसमध्ये २० प्रतिशत जनसंख्या पढ्न पनि नचाहने, तालिम पनि लिन नचाहने रहेको हुँदा बिडम्बनाको रुपमा लिएको उनले बताए । अर्थतन्त्रमा निजी क्षेत्रको ७० प्रतिशत योगदान रहेको हुँदा निजी क्षेत्रले नै तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्नु पर्ने उनले बताए । तालिम प्राप्त जनशक्तिलाई विदेश जानबाट रोक्नु पर्ने उनको भनाइ छ ।