मलेसियाको विस्ट्राेन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० जाँदै
काठमाडाैं । मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा मलेसियाको विस्ट्राेन टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्विपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा विस्र्टन टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरे । सम्झौताअनुसार उक्त कम्पनीमा दुई मेनपावर कम्पनीमार्फत नेपाली श्रमिक शून्य लागतमा मलेसिया जान पाउनेछन् । मलेसियाको सो कम्पनीले पहिलो चरणमा ४५० श्रमिक लैजान लागेको छ । आकर्षण इन्टरनेशनलबाट १४० महिला र ६० पुरुष तथा लालधनुष इन्टरनेशनलबाट १७५ महिला र ७५ पुरुष श्रमिक मलेसिया जाँदैछन् । नेपाली श्रमिक मलेसिया लैजान कम्पनीको उच्च व्यवस्थापक टोली काठमाडौंमै आएको छ । बुधबार र बिहीबार श्रमिक छनोटका लागि अन्तर्वार्ता तोकिएको छ । छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने विस्ट्राेन टेक्नोलोजीका डेपुटी जनरल म्यानेजर डेभिडले बताए । ‘कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा हामी अत्यन्त सजक छौँ’, उनले भने, ‘नेपाली श्रमिक र मलेसियाका श्रमिकका बीचमा ज्याला तथा अवसरमा कुनै विभेद हुनेछैन ।’ सो कम्पनीको विभिन्न चीन, भारत, ताइवान, मेक्सिको, चेक रिपब्लिक, फिलिपिन्सलगायत देशमा उद्योग रहेको छ । मलेसियामा मात्रै दुई उद्योग छन् । सो कम्पनीमा विभिन्न देशमा गरी करिब ८० हजार श्रमिक कार्यरत छन् । डेपुटी जनरल म्यानेजर डेभिडले श्रमिकको आरामदायी बसोबासका लागि आफ्नै अपार्टमेन्ट रहेको बताए । उक्त कम्पनीले नेपाली श्रमिकलाई न्यूनतम एक हजार ५०० मलेसियन रिङ्गेट तलब पाउनेछन् । त्यसका अतिरिक्त भत्ता र बोनसका साथै वार्षिक विदाको पनि व्यवस्था रहेको छ । आकर्षण इन्टरनेशनलका अध्यक्ष केसीले श्रमिकको न्यायोचित भर्नाको सुरुआत गरिएको र नमूना मेनपावर लक्ष्यसहित लागि परेको बताए । १८ वर्षदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउँदै आएको सो मेनपावरले सन् २०१५ देखि शून्य लागतमा श्रमिक पठाउँदै आएको छ ।
द रोयल गोर्खा ओभरसिजले दुबईमा काम लगाइदिने भन्दै करोडौं ठगी गरेको आरोप
काठमाडौं । दुबइमा आर्मी गार्ड, र भिआइपी सेक्युरिटी गार्डमा रोजगारीको प्रलोभन देखाई १ करोड ४३ लाख ठगी गरेको आरोपमा ६ जना विरुद्ध वैदेशिक रोजगार विभागले रोजगार न्यायाधिकरण बबरमहलमा मुद्दा दायर गरेको जनाएको छ । भोजपुर नगरपालिकाका प्रदिप तामाङ र गौरदह नगरपालिकाका सुरज गजुरेल सहित ६ जना विरुद्ध हर्जना क्षतिपुर्ति सहित २ करोड १४ लाख ७७ हजार ७ सय ५० रुपैयाँ विगोको माग गर्दै असार १६ गते मुद्दा दायर गरिएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताएका छन् । कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएर सञ्चालन हुँदै आएको द रोयल गोर्खा ओभरसिज प्रालीका सञ्चालक कमल बिक सहितका व्यक्तिहरुले दुबइमा काम लगाइदिने भन्दै केशब आचार्य सहित ३६ जना व्यक्तिहरुमार्फत ८ लाखको दरले १ करोड ४३ लाख रुपैयाँ ठगी गरेको जाहेरी विभागमा परेको विभागका सूचना अधिकारी भुसालले जनाएका छन् ।
नबिल बैंकका नवनियुक्त सीईओ ढुङ्गानाले सम्हाले पदभार, कम्पनी थप उचाईमा पुग्ने
काठमाडौं । नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले कार्यभार सम्हालेका छन् । असार १६ गते बैंकको सीईओमा नियुक्त भएका ढुङ्गानाले असार १७ गते शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका हुन् । बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्षभन्दा बढी लामो अनुभव संगालेका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए । यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही काम गरेका थिए । भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सीए) र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट (सीपीए) तथा वित्तिय विष्लेषणमा स्नातकोत्तरको अध्ययन पूरा गरेका ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर टु वाच् र सन् २०१५ मा म्यानेजर अफ दी एयर विधामा पुरस्कृत भएका थिए । कार्यकारी अधिकृत ढुङ्गाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन भएका थिए । साथै, उनको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा समेत नबिलको विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाई प्राप्त गर्ने कम्पनीको विश्वास छ ।