आइआइएमएस करियर मेला हुँदै, ५० भन्दा बढी कम्पनी सहभागी हुने

काठमाडौं । काठमाडौंमा साउन ६ गतेदेखि आइआइएमएस करियर मेला हुने भएको छ ।आइआइएमएस कलेजले आयोजना गर्न लागेको यो मेला भगवती बहाल स्थित लिसारा ब्यांक्वेटमा आयोजना हुनेछ । मेलामा युवा जनशक्तिले राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीमा रोजगार हुने अवसर प्राप्त गर्ने कलेजले बताएकाे छ । कलेजकाे अनुसार मेलामा ५० भन्दा बढि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सुचना, प्रविधि र उत्पादनमुलक क्षेत्र र बैंक तथा वित्तिय संस्था सम्बद्ध कम्पनीहरुको सहभागिता रहनेछन् । जसमध्ये कोकाकोला, गोल्छा ग्रुप, दराज, ईसेवा लगायतका कम्पनीहरु मेलाको प्रमुख साझेदार कम्पनीकाे रुपमा रहेका छन् । ५० मध्ये २० कम्पनीले मेलाकै समयमा जनशक्तिलाई नियुक्त गर्ने र बाँकी कम्पनीहरुले सहभागीको सिभी संकलन गरि छिट्टै नियुक्त गर्ने कलेजले बताएकाे छ । कलेजकाे अनुसार मेलामार्फत विद्यार्थीहरुले करियर काउन्सेलिङ पनि दिइनेछ । मेला बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने कलेजले जानकारी दिएकाे छ ।

समीट लघुवित्तले माग्यो ८० जना कर्मचारी, एसईई गरेकालाई पनि मौका

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले वरिष्ट सहायक, सहायक र प्रशिक्षार्थी सहायक तहका लागि कर्मचारी मागेको हो । लघुवित्तले बिहीबार एक सूचना प्रकाशन गरी वरिष्ठ सहायकका लागि १५, सहायकका लागि १५ र प्रशिक्षार्थी सहायकका लागि ५० जना कर्मचारी मागेको हो । वरिष्ठ सहायक र सहायकका लागि शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र तह वा १२ कक्षा उतीर्ण हुनुपर्छ । अनुभव भने बैंक तथा वित्तीय संस्था सम्बन्धी ज्ञान भएको र मोटरसाइकल चलाउन सक्ने हुनुपर्छ । त्यसैगरी प्रशिक्षार्थी सहायकका लागि शैक्षिक योग्यता एस.एल.सी. उतीर्ण वा एस.ई.ई मा २ प्लस जि.पि.ए प्राप्त गरेको हुनुपर्छ । यसमा अनुभव भने कम्प्युटर सम्बन्धी ज्ञान भएको र दुई पांग्रे सवारी साधन चलाउन सक्ने हुनुपर्छ । इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित साउन १९ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । यस सम्बन्धि सूचना कम्पनीको वेवसाइटमा राखिएको छ ।

मान्छे पाउँदैनन् मर्चेण्ट बैंकर्सले, धेरै कम्पनीमा सीईओ खाली

काठमाडौं । मर्चेण्ट बैंकिङ्ग कम्पनीहरुमा पछिल्लो समय दक्ष कर्मचारीहरुको अभाव देखिएको छ । उच्च तहमा दक्ष कर्मचारीको अभाव भएपछि नियमित काम सञ्चालनमा पनि कठिनाई हुन थालेको मर्चेण्ट बैंकर्सहरुले बताएका छन् । नेपाल धितोपत्र बोर्ड (सेवोन) मा हालसम्म विभिन्न ३० मर्चेण्ट कम्पनीहरु सञ्चालनमा रहेका छन् । यी मध्ये ६ वटा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत पद खाली रहेको छ । हाल सीबीआईएल क्यापिटल, सिभिल क्यापिटल मार्केट, गरिमा क्यापिटल, माछापुच्छ्रे क्यापिटल, नेपाल बङ्गलादेश क्यापिटल, सिद्धार्थ क्यापिटल लगायतका कम्पनी प्रमुख कार्यकारी अधिकृत (सीईओ) विहीन छन् । यी क्यापिटलमा कार्यवाहकले नै कम्पनी चलाइ रहेका छन् । सीबीआइएल क्यापिटलमा उज्वल चन्द, सिभिल क्यापिटलमा सोभाना घिमिरे, गरिमा क्यापिटलमा निर्मल भट्टराई, माछापुच्छ्रे क्यापिटलमा निरजमान सैँजु, नेपाल बङ्गलादेश क्यापिटलमा राम कुमार महत, सिद्धार्थ क्यापिटलमा सन्दिप कार्कीले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् । यी कम्पनीमा रहेका केहीको कार्यवाहकको क्षमता समेत पुग्दैन । जसका कारण केही कम्पनीले म्युचुअल फण्ड समेत जारी गर्न सकिरहेका छैनन् । सामूहिक लगानी कोष नियमावली, २०६७ अनुसार प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानून विषयमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरी उद्योग, वाणिज्य, धितोपत्र बजार वा वित्तीय क्षेत्रमा लेखा वा वित्त वा वाणिज्य कानून वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा ७ वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ । भविष्यमा स्कोप थोरै देखेर, अहिले जोखिम बढी भएर, प्रतिफलक कम भएर पनि मर्चेन्छ बैकिङमा कम आकर्षण भएको जानकारहरु बताउँछन् । अधिकांश मर्चेण्ट कम्पनीहरु बैंका सहायक कम्पनी रुपमा सञ्चालित भएका र बैंकका कर्मचारीलाई मर्चेन्ट बैकिङमा खटाउने परिपाटीले पनि समस्या भएको उनीहरु बताउँछन् । कोर मर्चेण्ट बैंकिङ्गमा काम गर्ने कर्मचारीको अभाव रहेको एनआईसी एशिया क्यापिटलका मर्चेण्ट बैंकिङ्ग प्रमुख दामोदर रायमाझी बताउँछन् । बजारमा मर्चेण्ट बैंकिङ्ग कम्पनीहरु धेरै भएकाले प्रतिस्पर्धा बढेको र त्यो प्रतिस्पर्धा बढेपछि कर्मचारी अभाव हुन थालेको उनको बुझाई छ । उनले भने, ‘यो इण्डस्ट्रि ग्रोइङ्ग भइरहेको छ, मर्चेण्ट बैंकिङ्गलाई राम्रोसँग बुझेका छैनन्, यो क्षेत्रमा भविष्य राम्रो छ तर अहिले सामान्य रुपमा लिइएको छ ।’ मर्चेण्ट बैंकिङ्ग कम्पनीमा कर्मचारी टिकाइ राख्नका लागि नियामक निकायले दाया फराकिलो गर्नुपर्ने उनको भनाई छ । ब्रोकरको काम, प्राइभेट इक्वीटीहरु लगायत नियामक निकायले मर्चेण्ट बैंकिङ्गको स्कोप बढाउनु पर्नेमा उनको जोड छ । बैंकका केही सीमित कर्मचारीले मर्चेन्ट कम्पनी चलाउन सकिन्छ भन्ने भान संचालकहरुमा रहेकाले पनि यो क्षेत्रमा समस्या देखिएको ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल बताउँछन् । मर्चेण्ट बैंकमा काम गर्न इच्छुक जनशक्ति नै बजारमा बजारमा नभएको जस्तो आफूलाई नलागेको उनले बताए । मर्चेन्ट बैंकर्सको संख्या धेरै भएको, प्रतिस्पर्धा बढेको, आम्दानी वृद्धि नभएको, जोखिम बढेकोले पनि केही समस्या देखिएको उनले स्वीकार गरे । मर्चेन्ट बैंकर एसोसिएशन अध्यक्ष मेख बहादुर थापाले भर्खरै क्यारियर शुरु गरेको लागि यो क्षेत्रको भविष्य राम्रो भएको बताए । मर्चेण्ट बैंकमा ५ बर्ष अघिको भन्दा धेरै दायरा बढेको बताउँदै थापाले नियामक निकायले कामका आधारमा पनि कम्पनीलाई न्योचित वर्गीकरण गर्नुपर्ने बताए ।