प्रभु इन्स्योरेन्सको सञ्चालकमा कर्मचारी सञ्चय कोषका महेश खनाल
काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालकमा महेश प्रसाद खनाल चयन भएका छन् । मंसिर ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खनाललाई सञ्चालक समितिमा चयन गरेको हो । कम्पनीका संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषले खनाललाई प्रतिनिधि मनोनित गरि प्रभु इन्स्योरेन्समा पठाएको हो । यससँगै, नवनियुक्त सञ्चालक खनालले कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्नेछन् । खनाल कोषका कार्यवाहक प्रमुख प्रबन्धक हुन् । यसअघि उक्त कोषबाट राजेन्द्र शाक्यले प्रतिनिधित्व गर्दै आएका थिए ।
निफ्राको लेखापरीक्षकको पारिश्रमिक ३ लाख ३९ हजार रुपैयाँ
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को लागि श्री एमजीएस एण्ड एशोसियटस्, चार्टर्ड एकाउण्टेन्टस् लाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । उक्त निर्णयलाई मंसिर १० गतेसम्पन्न बैंकको चौंथो वार्षिक साधारण सभाले स्वीकृत गरेको छ । यससँगै सो कार्यको लागि निजको पारिश्रमिक ३ लाख ३९ हजार रुपैयाँ तोकिएको छ । उक्त पारिश्रमिक कर सहित भएको बैंकले जानकारी गराएको छ ।
कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, कसरी दिने आवेदन ?
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । यो पटक सञ्चालन हुने परिक्षाबाट ६००० व्यक्तिलाई उत्तिर्ण गराउने शाखाले जनाएको छ । श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी भएअनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो । इच्छुक नेपाली नागरिकले भाषा परीक्षाका लागि निवेदन दिन सक्ने इपिएस कोरिया शाखा ग्वार्को ललितपुरले सूचना निकालेर जानकारी गराएको छ । भाषा परीक्षा पहिलो चरणको कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ । दोस्रो चरण भने फागुन ८ देखि फागुन २६ गतेसम्म भाषा परीक्षा हुनेछ । सीप परीक्षण भने फागुन ३ देखि ५ गतेसम्म र चैत १ देखि ३ गतेसम्म हुनेछ ।