विश्वभर श्रमिकको संकट : कामदार भित्र्याउन ३० हजार डलर तलबदेखि ३ वर्षमै नागरिक बनाउने स्कीम

काठमाडौं । अमेरिकामा कामदारको अभाव बढ्दै गएको छ । त्यहाँ रोजगारका लागि खुलेका अधिकांश आवेदनमा भर्ने मानिसहरु छैनन् । १ सय जना कामदार माग भएकोमा औसतमा ३९ जनाको मात्रै आवेदन पर्ने गरेको लिन्ड्से क्याट्सले युएस च्याम्बरमा लेखेकी छन् । अहिले अमेरिकाको पुरै राज्यमा मजदुर अभावले प्रभाव पारेको छ । सन् २०२२ मा २ सय ८१ मिलियन मानिसहरु अन्तर्राष्ट्रिय रुपमा आप्रवासी हुने अनुमान गरिएको र ती मध्ये झण्डै दुई तिहाई अर्थात १ सय ६९ मिलियन श्रकिकहरु रहने फोब्र्सले जनाएको छ । कोभिड-१९ को महामारीले विश्वभर नै दक्ष मजदुरको उपलब्धतामा प्रभाव पारेको तथ्यांकहरुले देखाएका छन् । पछिल्लो समय रुस र युक्रेनबीच भएको युद्धले श्रम बजारमा थप प्रभाव पारेको छ । रसियन एसोसिएशन फर इलेक्ट्रोनिक कम्युनिकेशनका प्रमुख सर्गेई प्लगोटेरेंका अनुसार गएको मार्च २२ सम्म मात्रै ५० हजारदेखि ७० हजार प्राविधिक श्रमिकले रुस छोडे । उनका अनुसार अझै ७० हजार देखि १ लाख सम्म प्राविधिक श्रमिकले रुस छोड्न सक्ने उनको अनुमान रहेको फोब्र्सले उल्लेख गरको छ । रुसका आन्तरिक उपमन्त्री इगोर जुबोवले जुनको अन्तिम समयमा रुसले १ लाख ७० हजार आइटी श्रमिक अभावको सामना गर्नुपरेको बताएका थिए । कन्सल्टिङ अर्गनाइजेसन रिनुअलकी लिडर म्यारी लार्सनले एमएनपीमा यतिबेला क्यानडाका निर्माण कम्पनीहरुले श्रमिकको ठूलो अभाव खेपिरहेको लेखेकी छन् । द बिजनेस डेभलपमेन्ट बैंक अफ क्यानडा (बीडीसी) ले विभिन्न उद्योग, रियल स्टेट र निर्माण कम्पनीहरुमा श्रमिकको अवस्थाको बारेमा सार्वजनिक गरेको रिपोर्टअनुसार ५५ प्रतिशत उद्यमीहरुलाई श्रमिक खरिद गर्न नै समस्या भइरहेको छ भने ६४ प्रतिशत उद्योगीहरुलाई श्रमिकको अभावका कारण आफ्नो विकास गर्न समस्या भइरहेको छ । त्यस्तै सोही बैंकको रिपार्टअनुसार ५० प्रतिशत निर्माण क्षेत्रका व्यवसायीहरुलाई श्रमिक खरिद गर्न नै समस्या भइरहेको छ । ओइसीडी इम्प्लोइमेन्ट आउटलुक रिभ्युको २०२२ संस्करणले कोभिड १९ रिकभरीको लागि श्रम बजार र सामाजिक चुनौतिका विषयलाई समिक्षा गरेको छ । अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओइसीडी) मा आवद्ध मुलुकहरुमा वर्तमानमा रहेको समस्यालाई एक एक देशको गरेर केलाउँदै त्यहाँका सरकारहरुलाई उक्त संस्करणले सुझाव दिएको छ । उक्त रिपोर्टले ओइसीडीमा आवद्ध देशहरुमा २०२२ को आधा समयसम्म श्रमिक बजारमा समस्या क्रमशः न्यूनिकरण हुँदै गएको उल्लेख गरेको छ । त्यस्तै रिपोर्टले ओइसीडी कोभिड महामारीका कारण ५७ मिलियन श्रमिकहरुले रोजगार गुमाएको र कोभिड महामारीपश्चात ६६ मिलियन रोजगार सिर्जना भएको उल्लेख गरेको जनाएको छ । ओइसीडी आवद्ध मुलुकहरुलाई उक्त रिपोर्टले मुद्रास्फीतिको समयमा श्रमिक र रोजगारदाताबीच सामूहिक सौदाबाजीका लागि पहल गर्नुपर्ने सुझाव दिएको छ । त्यस्तै राम्रो रोजगारीका लागि श्रमिकहरुको क्षमता विकास र उनीहरुलाई प्रशिक्षणको व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ । उच्च ऋण र बढ्दो ब्याजको मारमा परेका कम आय भएका वर्गलाई लक्षित गरेर उर्जा र खाद्यान्नमा सहुलियत व्यवस्था मिलाउनुपर्ने उक्त रिपोर्टले सुझाव दिएको छ । ओइसीडी मुलुकमा अस्ट्रिया, बेल्जियम, क्यानडा, डेनमार्क, फ्रान्स, जर्मनी, ग्रीस, आइसल्याण्ड, आयरल्याण्ड, इटाली, लक्जमबर्ग, नेदरल्याण्ड्स, नर्वे, पोर्चुगल, स्पेन, स्वीडेन, स्विट्जरल्याण्ड, टर्की, युनाइटेड किंगडम र संयुक्तराज्य अमेरिका रहेका छन् । कामदार भित्र्याउन आकर्षक भिसा नीति एलएचएचले पछिल्लो समय विश्वका विभिन्न मुलुकहरुले श्रमिक भित्र्याउनका लागि लिएको नयाँ नीतिबारे आफ्नो रिर्पोटमा उल्लेख गरेको छ । सो रिपोर्टका अनुसार सिंगापुर सरकारले नयाँ मजदुर भित्र्याउनको लागि ३० हजार डलर मासिक पारिश्रमिक पाइने गरी नयाँ विशेष भिसा ल्याउन भएकाे छ । सो भिसामा जब अफरको जरुरत नपर्ने, श्रमिकले आफ्नो पार्टनर पनि लैजान सक्ने र आफ्नै कम्पनी समेत सेटअप गर्न दिने विशेषता रहने जनाइएको छ । आगामी जनवरीबाट सो भिसा खुलाउने एलएचएच रिपोर्टले उल्लेख गरेको छ । जर्मनीले पनि नयाँ कामदार भित्र्याउन विशेष भिसा ल्याउने भएको छ । सो देशले कामदार भिसामा आउने कामदारलाई ३ वर्षमा आफ्नो मुलुकको नागरिकता दिने एलएचएचले रिपोर्टमा उल्लेख गरेको छ । युकेको द नेशनल एकेडेमी फर फुड एण्ड ड्रिंक र ड्रिंक फेडेरेसनले नयाँ श्रमिकलाई लक्षित गरेर आकर्षक भिसा ल्याउन लागेको छ । सो भिसा प्राप्त गर्नका लागि डिप्लोमा तहमा उत्तिर्ण गरेका श्रमिकहरुले अनलाइनमार्फत निःशुल्क प्रशिक्षणमा सहभागी भएर आवेदन प्रकृयामा अगाडि बढ्न सक्छन् । श्रमिक लैजाने पासपोर्ट प्रकृयाका लागि विभिन्न ५७ वटा कम्पनी छनोट भएका छन् । धेरै पर्यवेक्षकहरुले अमेरिकाले ल्याएको ‘इन्फ्लेसन रिडक्सन एक्ट’ म्यानुफ्याक्चरिङ क्षेत्रलाई फाइदा पुर्याउने जनाएको एलएचएच रिपोर्टमा उल्लेख गरिएको छ । सो एक्टमा उच्चस्तरीय श्रमिक र क्लिन फिड इनर्जीसँग जोडिने नयाँ रोजगार सिर्जना गर्ने उद्योगलाई इन्सेन्टिभ दिने व्यवस्था गरिएको छ । विशेषगरेर जिवास्म इन्धन, तेल, ग्यास र कोइला उद्योगमा काम गर्ने कामदारलाई तलव बराबरकै इन्सेन्टिभ प्रयोग गर्ने कुरा उक्त एक्टमा समावेश गरिएको एलएचएच रिपोर्टमा उल्लेख गरिएको छ । त्यसैगरी इट्लीको बैंकिङ र टेलिकम्युनिकेसन क्षेत्रले काम गर्ने कामदारलाई लक्षित गरेर नयाँ स्किम सहितको श्रम नवीकरण र सेवा तथा सुविधाको नयाँ सम्झौता गर्दैछ । चीन, ब्राजिल, युरोपियन ट्रेड युनियन कन्फ्रेडेसन, भारत र नर्वे लगायतका मुलुकले श्रमिकको सेवा सुविधा र सामाजिक सुरक्षाका लागि नयाँ नीतिगत व्यवस्था तथा सम्झौताहरुको पहल गरिरहेका छन् । जसले गर्दा श्रमिकहरुलाई उद्यम क्षेत्रमा जोड्न सहयोग पुर्याउँछ ।

ज्योति लाइफका सञ्चालक अग्रवाल बने राउण्ड टेबलको अध्यक्ष, नेपालकै पहिलो बन्न सफल

काठमाडौं । ज्योति लाइफ इन्स्योेरेन्स कम्पनीका संचालक जयन्तकुमार अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको अध्यक्ष पदमा निर्वाचित भएका छन् । उक्त पदमा निर्वाचित हुने उनी पहिलो नेपाली हुन् । गैरनाफामूलक संस्था राउण्ड टेबल संसारको ६८ देशहरुमा क्रियाशील संस्था हो । जुन शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय छ । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण तथा अन्य कार्यहरु गरिसकेको छ । यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ । राउण्ड टेबल इन्टरनेशनल १८ देखि ४० वर्ष उमेर समूहका गैर-राजनीतिक र गैर-साम्प्रदायिक युवाहरूको संगठन हो । युवाहरूको उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा सेवा, सद्भाव र सद्भावनालाई प्रवर्द्धन गर्नु हो । यस संस्थाले टेबलरहरू ४५ वर्षको भएपछि युवाहरूलाई बाटो दिँदै सो दायित्वबाट बिश्राम लिने गर्दछ । त्यसैले यो सधैं जवान रहने बताइन्छ ।

व्यवसायीहरुको गुनासो : कामदारहरु सीप सिक्छन्, विदेश जान्छन्

काठमाडौं । वस्तुगत व्यवसायीहरुले नेपालमा तालिम सिकेर विदेश जाने संख्या बढ्दा व्यवसाय सञ्चालन गर्न समस्या हुने गरेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न ६ वटा वस्तुगत संघसँग सिप तथा तालिम सम्झौता कार्यक्रममा बोल्दै व्यावसायीहरुले यस्तो गुनासो गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत रहेको स्वास्थ तथा सीप बिकास समितिका सभापति हेमराज ढकालले तालिम लिएर विदेश जाँदा व्यवसाय सञ्चालन गर्न समस्या भएको बताए । कम्पनीमा थोरै समय काम गर्ने अनि केही सिप सिकेपछि विदेश जाने गरेको उनको भनाइ छ । ‘तालिम प्राप्त कर्मचारी वैदेशिक रोजगारमा जाँदा सीप सिकाएको प्रभावकारी भएन, केही समय काम गर्छन्, मेनपावरमा पासपोर्ट दिन्छन्, भिजा आउने वित्तीकै विदेश जान्छन्,’ उनले भने, ‘दक्ष जनशक्तिको अभाव हुँदा उद्योगहरु सञ्चालन गर्न समस्या भयो, काम गर्दागर्दै तालिम दिने व्यवस्था हुनुपर्छ, तालिम सिकेर विदेश जान रोक्नुपर्छ ।’ विभिन्न वस्तुगत संघसँगको समन्वय गरेर महासंघको २२ लाखलाइ रोजगारी दिने लक्ष्य पुरा गर्नुपर्ने उनले बताए । १ सय बिलियनको अर्थतन्त्र बनाउने भिजन पेपर २०३० लाई पूरा गर्न सीप तालिमको व्यवस्था गरेर रोजगारी दिनु पर्ने उनको भनाइ छ । साना तथा मझौला उधोगले उत्पादन गरेका वस्तुलाई महत्व नदिँदा आयात बढेको उनले बताए । रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) का अध्यक्ष अरनिको राज भण्डारीले तालिमसँगसँगै रोजगारीको समेत जिम्मेवारी लिएको बताए । कोरोना महामारीको समयमा होटलहरु पूर्ण रुपमा ठप्प हुँदा समस्या पर्नुका साथै दक्ष जनशक्तिको क्षमता समेत घटेको उनको भनाइ छ । ‘कोरोना महामारीको समयमा व्यवसाय ठप्प हुँदा दक्ष जनशक्तिको क्षमता समेत घटेको छ, लामो समयदेखि काम बाट बन्चित भएका ब्यक्तीलाई तालिम दिँदा सहज हुनेछ, आवश्यकता हेरेर तालिमको व्यवस्था गरेर रोजगारी दिन्छौं,’ उनले भने । नेपाल एशोसियसन अफ टूर एण्ड ट्राभेल एजेन्टकी युविका भण्डारीले पर्यटन क्षेत्रमा तालिमका लागि आवेदन दिने संख्या बढी रहेको बताइन् । आफूहरुले तालिम दिएका ब्यक्तिहरु विदेश जाँदा व्यवसाय सञ्चालन गर्न समस्या हुने गरेको उनको भनाइ छ । साथै उनले पर्यटन क्षेत्रमा दक्ष कर्मचारीको अभाव रहेको बताइन् । फिसरी एशोसियसनका अध्यक्ष अम्बिका अधिकारी काम गर्ने जनशक्तिको अभाव रहेको बताउँछन् । माछापालन क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति अभाव भएका बेला महासंघको तालिमले सहयोग पुग्ने उनको धारणा छ । ‘आफैं काम गर्ने मान्छेलाईं तालिम दिदै आएको थियौं, महासंघले तालिम दिने भएपछि मत्स्य पालन व्यावसायीलाई सहज हुनेछ, मत्स्य पालन सम्बन्धी तालिमको व्यवस्था देशभरि हुनुपर्छ,’ उनले भने । नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष राजकुमार कार्कीले नेपालको निर्यात क्षेत्रमा अलैचीं एक नम्बरमा पर्ने भएकाले अझै ब्यापक गर्नुपर्ने बताए । पछिल्लो समय भारते पनि आफैं उत्पादन गरिरहेकाले गुणस्तरमा जोड दिनु पर्ने उनको भनाइ छ । ‘नेपालको निर्याताम अलैंची एक नम्बरमा छ, भारतमा मात्रै निर्यात गर्नु परेको छ तर, पछिल्लो समय भारत आफैंले पनि उत्पादन गर्दा गुणस्तरीयतामा जोड दिनु परेको छ, अलैंचीको मुख्य बजार झापा हो, समयमा तालिम दिएर अझै ब्यापक बनाउनु पर्छ,’ उनले भने । जुत्ता उत्पादक संघका महासचिव ग्यानेन्द्र प्रसाद दाहालले विदेशी कामदारको भरमा व्यवसाय सञ्चालन गर्नु परेको गुनासो गरे । भारतबाट कामदार ल्याएर व्यवसाय सञ्चालन गर्दा ठूलो रकम बाहिर जाने गरेको उनले बताए । ‘जुत्ता व्यवसायमा दक्ष जनशक्तिको अभाव हुँदा बिदेशीबाट कामदार ल्याउनु पर्छ, विदेशबाट जनशक्तिको भरमा व्यवसाय संचालन गर्नु पर्ने बाध्यता छ, उनीहरुले ठूलो रकम पनि नेपालबाट बाहिर लगेर जान्छन्, नेपालमा जनशक्ति उत्पादन गर्न तालिमको आवश्यकता छ,’ उनले भने ।