सिटिजन्स बैंकमा काम गर्ने अवसर, दरखास्त दिन अब दुई दिन बाँकि
काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले प्रदेश प्रमुख, काठमाडौं भित्र र बाहिरका लागि शाखा प्रमुख, आइटि डिपार्टमेन्टका लागि सुपरभाइजर, आइटि डिपार्टमेन्ट (नेटवर्क)का लागि सुपरभाइजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । साथै बैंकले कर्पोरेट कम्युनिकेशन डिपार्टमेन्ट (हेड) का लागि अफिसर एकजना, रिलेशनसिप अफिसर, अपरेशन इन्चार्ज, लिगल अफिसर, ब्रान्च अपरेशनका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ भने ह्युमन रिर्सोसेस डिपार्टमेन्टका लागि जुनियर अफिसरमा एकजना कर्मचारीको माग गरेको छ । बैकले आफ्नो उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालय तथा प्रादेशिक कार्यालयका लागि कर्मचारीको माग गरेको हो । बैंकले यी विभिन्न पदको लागि ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले मंसिर ७ गतेसम्म सम्पूर्ण कागजातसहित कम्पनीको अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।
स्टार्टअप मार्केटिङ कन्टेन्ट व्यवसायको लागि तीन आइडिया
एजेन्सी । व्यवसायको शुरुवात गर्दा थोरै स्रोत र साधनहरुको सहायताले धेरै र ठूला समस्याहरुलाई समाधान गर्नुपर्ने हुन्छ । सामान्य सिद्धान्तले के भन्छ भने जति सक्दो तपाईंको ध्यान आफ्नो प्रयासतर्फ केन्द्रित गर्नुहोस ताकी तपाईंले उच्च सफलता हासिल गर्न सक्नुहोस । तपाईंको परियोजनाको मार्केटिङको लागि तपाईंसँग दर्जनौ स्टार्टअप मार्केटिङ रणनीति हुनसक्छन् । ती रणनीतिहरुलाई प्रभावकारी ढंगले लागु गर्ने क्षमता नहुनसक्छ । त्यसैले तपाईंले सबैभन्दा प्रभावकारी रणनीतिलाई छनोट गर्न जरुरी हुन्छ । त्यसैले तपाईंलाई कन्टेन्ट मार्केटिङको लागि उपयोगी हुने केही विषयको बारेमा यहाँ चर्चा गर्न खोजिएको छ । १. बजेटको व्यवस्था यदी तपाईंले अधिक मूल्यको भिडियो सामग्री उत्पादन गर्न चाहनुहुन्छ भने त्यसको लागि निकै धेरै लगानी लाग्न सक्छ । तर, यदी तपाईंले आफ्नो बल्ग वा सोसल मिडियामा लेख्नुहुन्छ भने निकै सस्तो लगानीमा पनि ती कुराहरु सम्भव छ । त्यसमा तपाईंको समय मात्रै खर्च हुन्छ । व्यवसायको शुरुवात गर्दा तपाईंसँग धेरै पूँजीको व्यवस्था नहुनसक्छ । तर, तपाईंसँग लगानी जुटाउने, व्यवसाय र मार्केटिङको लागि रणनीति तयार गर्नेजस्ता राम्रोसँग सोँचविचार गरेर लामोसमयसम्म नाफा आर्जन गर्ने योजना निर्माण गर्न भने प्रशस्त समय रहेको छ । तपाईंले स्रोतहरुको वृद्धि गरेर कन्टेन्ट मार्केटिङलाई विकास गर्न सक्नुहुन्छ । शुरुमा सानो आकारबाट नै व्यवसायको शुरुवात गर्नुहोस र तपाईंलाई सो व्यवसाय दीर्घकालिन रुपमा राम्रो र फलदायी हुन्छ भन्ने अनुभूति भएपछि प्रशस्त लगानी जुटाउनेतर्फ अगाडि बढ्दा राम्रो हुन्छ । २. गुणस्तरीय र पहिलो सामग्री उत्पादन तपाईंले उत्पादन गरेको सामग्रीको गुणस्तरले नै तपाईंको व्यवसायको शुरुवाती अवस्थालाई सहयोग पुर्याउँछ । पाठकमा भएको समस्या र आवश्यकतालाई लक्षित गरेर तपाईंले सामग्री उत्पादन गर्न सक्नुभयो भने त्यसले तपाईंको सामग्रीको पाठकलाई स्थिर बनाउँछ । तपाईंले उत्पादन गरेको सामग्रीमाथि हुने चर्चाले तपाईंको व्यवसायलाई थप परिस्कृति र सुदृढ हुन सहयोग पुर्याउँछ । तपाईंले उत्पादन गरेको सामग्री जस्तै : अन्तर्वार्ता, फिचर आदि बजारमा पहिलो र नेतृत्वदायी बन्न सक्नुपर्छ । ३. राम्रो प्रविधिमैत्री रणनीतिको निर्माण पछिल्लो समयमा कन्टेन्ट मार्केटिङ व्यवसायको निकै ठूलो सम्भावना बढ्दै गएको देखिन्छ । यदी तपाईंले उपभोक्ता वा पाठकलाई उपयोगी हुने सामग्रीहरुको उत्पादन गर्न सक्नुभयो तपाईंको व्यवसाय अत्यन्तै धेरै विकास हुनसक्छ । जसले उनीहरुको जीवन र व्यवहारलाई बदल्न वा सहज हुनको लागि सहयोग पुर्याइरहेको हुनुपर्छ । इन्टरनेटबाट उत्पादित सामग्रीलाई भाइरल बनाउन सजिलो हुन्छ । तर, त्यसको लागि सामग्री उत्पादनमा राम्रो इन्जिनियरिङ गर्नुपर्ने हुन्छ । एउटा कन्टेन्ट मार्केटिङ गर्ने व्यक्तिले आफ्ना पाठक र सम्बन्धित साझेदार व्यवसायिक प्रतिष्ठानहरुलाई आफ्नो कन्टेन्टमार्फत प्रभावित पार्न सक्नुपर्ने हुन्छ । कन्टेन्ट मार्केटिङको विकासका लागि अनिवार्य रुपमा त्यसलाई धेरै मानिस र व्यवसायिक प्रतिष्ठानहरुमा जोड्न अनिवार्य हुन्छ । साथै इन्टरनेट वा गुगल सर्चमा पनि तपाईंले उत्पादन गरेको सामग्री खोज्दा शिर्ष स्थानमा आउनुपर्छ । तपाईंले उत्पादन गरेको सामग्रीमा विश्वसनियता भयो भने तपाईंले लगानी कटौती गर्दा पनि लामो समयसम्म आम्दानी भइरहने सम्भाना रहन्छ । अन्तिममा, सुझपूर्ण रुपमा निर्णय लिन सक्दा कन्टेन्ट मार्केटिङले तपाईंको जीवनमा ठूलो आम्दानी सिर्जना गर्न सक्छ । तर, मार्केटिङ कन्टेन्ट व्यवसायका लागि तपाईंसँग प्रविधि र रणनीति निर्माण गर्ने क्षमता हुन अनिवार्य हुन्छ ।
मलेसियामा नेपाली श्रमिकका लागि घुम्ती सेवा सुरु
काठमाडौं । मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले मलेसियाका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिक कार्यरत रहेको सहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले बताए। बुधबार क्वालालम्पुरबाट करिब चार घण्टाको दूरीमा रहेको जोहरवारुमा राजदूत पौडेलले अस्थायी घुम्ती सेवाको उद्घाटन गरे । गैरआवासीय नेपाली सङ्घलगायत नेपाली सङ्घ संस्थासँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरिएको हो । एक हजारभन्दा धैरे नेपाली उपस्थित भएको कार्यक्रममा दुई सय ८० जना श्रमिकले राहदानीसम्बन्धी सेवा लिएका थिए । घुम्ती सेवामा राहदानीसम्बन्धी सेवाका साथै दूतावासबाट प्रवाह गरिने विभिन्न सेवा प्रदान गरिएको नेपाली दूतावासले जनाएको छ । घुम्ती सेवा शुभारम्भ गर्दै राजदूत पौडेलले नेपाली श्रमिक कार्यरत कम्पनीको स्थलगत निरीक्षण, सेवा सुविधाबारे श्रमिकसँग अन्तक्र्रिया तथा सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफलसमेत गरेका थिए । सुरक्षागार्ड तथा सरसफाइसम्बन्धी कम्पनीमा कार्यरत नेपाली श्रमिकको गुनासो आएपछि उहाँले सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफल गरेका हुन् । विशेषतः सुरक्षागार्ड र सरसफाइसम्बन्धी श्रमिकको समस्या समाधानका लागि दुई देशबीच भएको श्रम सम्झौता २०१८ र मलेसियाको श्रम कानूनअनुसार व्यवस्थित गर्न लागिएको राजदूत पौडेलले बताए । राजदूत पौडेलले नेपाली श्रमिक कार्यरत तथा नेपाली श्रमिक माग गर्ने कम्पनीका व्यवस्थानलाई दूतावासमा बोलाएरसमेत छलफल गर्दै आएका छन् । मागपत्रमा प्रस्तुत गरेअनुसार आवास सुविधा, पारिश्रमिक र कार्यसमयलाई अक्षरशः पालना गरिने उनले बताए । सुरक्षागार्ड र सरसफाइसम्बन्धी मागपत्र प्रमाणीकरणमा केही ढिला भए पनि दीर्घकालमा यसबाट श्रमिकको सम्मान तथा सेवा सुविधामा सहयोग पुग्ने उनले बताए । घुम्ती सेवा उद्घाटन कार्यक्रममा श्रम काउन्सिलर दीपक ढकाल, द्वितीय सचिव प्रेमबहादुर बुढथापालगायत दूतावासका कर्मचारी उपस्थित थिए । रासस