किसान लघुवित्तको सीईओमा पर्वत कार्की नियुक्त

काठमाडौं । किसान लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ । लघुवित्तको साउन २२ गते बसेको संचालक समितिको बैठकले कार्कीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कार्कीलाई साउन २५ गतेदेखि लागु हुनेगरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

धितोपत्र बोर्डका चार जना निर्देशक उप-कार्यकारी निर्देशकमा बढुवा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को उप–कार्यकारी निर्देशकमा ४ जना नियुक्त भएका छन् । गत विहीबार बसेको सेबोनको संचालक समितिले ४ जनालाई निर्देशक पदबाट उपकार्यकारी निर्देशक पदमा बढुवा गरेको हो । आन्तरिक प्रतिस्पर्धाको माध्यमबाट निर्देशकबाट उपकार्यकारी निर्देशकमा बढुवा हुनेमा निरन्जय घिमिरे, अम्बिका प्रसाद गिरी, नारायण प्रसाद शर्मा र दिपेश ताम्राकार बढुवा भएका हुन् ।

‘छैठौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला २०२२’ भदौ २ गतेबाट हुने

काठमाडौं । ‘छैठौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला २०२२’ आउँदो भदौमा हुने भएको छ । मेला भदौको २ गतेबाट ६ गतेसम्म ललितपुरको सानेपामा आयोजना गरिने महिला उद्यमी महासंघ नेपालले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । मेलामा ७ वटै प्रदेशका महिला उद्यमीहरुको सहभागिता हुने आयोजकले जनाएको छ । हातले बनाइएका सामग्री, कृषि उत्पादन, श्रृङ्गारका सामग्री, सजावटका सामग्री, कागजका वस्तुहरु, घरबुनाका सामग्रीहरु, जैविक खाद्य पदार्थ, पुष्प सामग्री, गरगहना, लगायतका वस्तुहरु मेलामा पदर्शन गरिने आयोजकले जनाएको छ । मेलामा भारत, पाकिस्तान र बंंगालादेशका महिलाहरुको समेत स्टल रहने छ । मेलामा १०९ वटा स्टल रहने र प्रति स्टलको भाडा २८ हजार हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार विभिन्न जिल्लाबाट स्टल राख्न आउने महिला उद्यमीहरुको लागि भने विशेष छुट दिई प्रति स्टल ३ हजारमा उपलब्ध गराइने छ । साथै विभिन्न जिल्लाहरुबाट आउने महिला उद्यमीहरुलाई खाजा खाने र यातायात खर्च उपलब्ध गराइने आयोजकले जनाएको छ । महिला उद्यमीहरुले उत्पादन गरेको वस्तु तथा सेवाहरुको पदर्शनी, प्रवद्धन, बजारीकरण र बिक्रीका लागि साझा स्थलको रुपमा मेलालाई परिणत गर्ने, अन्तर्राष्ट्रिय स्तरसम्म नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने, उद्यमीहरुका अनुभव आदानप्रदान गर्ने र संयुक्त लगानीका अवसरहरुको खोजीका लागि मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ । नेपालका महिला उद्यमीहरु सानो अवस्था सुक्ष्म र सानो तहमा भएको र यो मेला ती उद्यमीहरुको प्रवद्र्धनका लागि महत्वपूर्ण हुने महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले बताइन् । मेलालाई नेपाल सरकार, युरोपियन युनियन, अन्तर्राष्ट्रिय व्यापार केन्द्र, फिन चर्च एड, एशिया फाउन्डेसन, कृषि विकास बैंक, आदि लगायतका निकायहरुले सहयोग गर्नेभएका छन् ।