चाडपर्व सकिएसँगै युवा रोजगारीका लागि भारत फर्किए
कैलाली । दशैं र तिहार जस्ता महत्वपूर्ण पर्व सकिएसँगै मुलुकभर निर्वाचनको माहोल सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक बढ्दै गरेका बेलामा भने सुदूरपश्चिमका युवाहरु भने कामको खोजीमा भारत पस्न थालेका छन् । मङ्सिर ४ गतेको निर्वाचन आउन दुई साताको अवधि रहँदा नेताहरु मतदाता रिझाउन गाउँगाउँ पस्दै गर्दा युवाहरु गाउँ छाड्न थालेका छन् । चाडबाड बनाउन दशैंअघि गाउँ आएका युवाहरु तिहार सकिएसँगै कामको खोजीमा भारतका विभिन्न गन्तव्यका लागि टिकट काट्न थालेका हुन् । सुदूरपश्चिमका युवाहरुका लागि श्रमको भरपर्दो गन्तव्य भारत हो । हाल कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ चार सयभन्दा बढी युवाहरु कामको खोजीमा छिमेकी मुलुक भारत फर्कन थालेको सीमास्थित सशस्त्र प्रहरी बल बोर्डर अफ पोस्टले जानकारी दिएको छ । लामो समयदेखि भारतको मुम्बईमा काम गर्दै आएका डोटीका नारद खडकाले आफू चाडपर्व मनाउन घर आएको र अब फेरि भारत फर्कन लागेको बताए । ‘नेपालमा काम पाउन गाह्रो छ, काम पाइहाले पनि यहाँको कमाइले खर्च धान्न गाह्रो पर्ने भएपछि भारत जान बाध्य भएको हुँ’, उनले भने । भारतको पञ्चाबमा काम गर्दै आएका धनगढी उपमहानगरपालिका– २ का सन्तोष आउँजीले काम गर्नका लागि भारत जानुको विकल्प नभएको बताए । गाउँमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै नेताहरु विभिन्न योजना लिएर गाउँ पस्दै गर्दा बेरोजगार युवाहरु भने भारतमा मजदुरी गर्नका लागि बाटो तताउँदै गरेका छन् । दशैं र तिहार मनाउन घर फर्किएका कैलाली ओलानीका जीतबहादुर कामी पनि यतिबेला भारत फर्कने तयारीमा छन् । ‘यहाँ भोट हाल्न बस्ने हो भने आम्दानी केही हुँदैन, घर खर्चका लागि भारत जानुको विकल्प छैन’, उनले भने । सूदुरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका युवाहरु जागिरको खोजीमा भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, हरियाणा, बैङ्लोर लगायतका शहरमा जाने गरेका छन् ।
सानिमा जीआईसीको सीईओमा उपाध्याय नियुक्त, बीमा क्षेत्रमा दुई दशक बढीको अनुभव
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् । कार्त्तिक ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल एक आपसपमा गाभिएपछि सानिमा जीआईसी इन्स्योरेन्सबाट कार्त्तिक ७ गतेदेखि एकीकृत कारोबार भएको हो । यससँगै कम्पनीको सीईओमा सानिमा जनरलका सीईओ उपाध्यायलाई नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव तथा नायव महाप्रबन्धक सुबोधलाल श्रेष्ठले जानकारी गराए । विगत दुई दशकदेखि बीमा क्षेत्रमा कार्यरत उपाध्यायले २०७७ जेठदेखि सानिमा जनरल इन्स्योरेन्समा सीईओको कार्यभार सम्हाल्दै आएका थिए । सानिमा जनरलमा आउनु अघि उनी प्रिमियर इन्स्योरेन्स कम्पनीमा सीईओ थिए । उनले उक्त कम्पनीमा ४/४ वर्षको दुई कार्यकाल बिताएका थिए । त्यस्तै, कम्पनीको सञ्चालक समितिमा अध्यक्षसहित ६ जना नियुक्त भएका छन् । कम्पनीको अध्यक्षमा कुनाल कयाल नियुक्त भएका छन् भने सञ्चालकमा डा. हेमन्त कुमार दवाडी, सोनाम ग्याछो, कृष्ण बोहरा, मिता मुरारका अग्रवाल र प्रकाशमान श्रेष्ठ रहेका छन् ।
अब स्किल सेवासँग मिलेर व्यवसाय गर्न सकिने
काठमाडौं । युवाहरुलाई लक्षित गरी ‘जे गरौं नेपालमै गरौं’ भन्ने नाराका साथ स्किल सेवाले लोकल बिजनेस पार्टनरसिप योजना ल्याएको छ । सो कार्यक्रममा युवाहरुले स्किलसेवासँग मिलेर काम गर्न सक्ने कम्पनीले जनाएको छ । व्यवसायमा पार्टनरसिप गर्दा आवश्यक पर्ने तालिम, वित्तीय जोखिम, प्राविधिक सहायता, मोवाईल एप र वेबसाइट स्किल सेवाले नै प्रदान गर्नेछ । विदेशबाट फर्किएर वा स्वदेशमा रहेर केही गर्न चाहने युवाहरुसँग सहकार्य गर्ने योजना रहेको स्किल सेवाले जनाएको छ । कम्पनीले सो योजनामा काम गर्दा सम्बन्धित व्यक्तिले केही लगानी गर्नुपर्ने, त्यसको स्वामित्व शतप्रतिशत स्वयं व्यक्तिको हुने र कमाईको नाफा बाँडफाँड गर्ने जनाएको छ । यो व्यवसायमा लोकल बिजनेस पार्टनरहरुलाई घर मर्मत, पेन्टिङ, प्लम्बिङ, इलेक्ट्रिसियन, आदि जस्ता ३० भन्दा धेरै व्यवसायमा सहयोग गर्ने कम्पनीले जनाएको छ ।