सरकारले एक जनालाई १० पटकसम्म तालिम दियो, ६० प्रतिशत अदक्ष जनशक्ति चालउँछन् व्यवसाय : अञ्जन श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपालका सबै किसिमका विजनेश हाउसमा ६० प्रतिशतभन्दा बढी कर्मचारी अदक्ष रहेको बताएका छन् । आइतबार महासंघले गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कर्णाली प्रदेशमा झनै विजोग अवस्था रहेको बताए । ‘नेपालमा सञ्चालन सबै विजनेश हाउसमा ६० प्रतिशत कर्मचारी अदक्ष कर्मचारी रहेका छन्, ४० प्रतिशत दक्ष जनशक्ति कर्मचारीले विजनेश चलिरहको छ, कर्णाली प्रदेशमा १० प्रतिशत मात्रै दक्ष जनशक्ति रहेका छन्,’ उनले भने, ‘सीप सिकेका जनशक्तिको आवश्यकता धेरै छ, अहिलेको आवश्यकता भनेको तालिमसँगै रोजगारी दिनु पर्नेछ ।’ सरकारले तालिमका नाममा ठूलो रकम खर्च गरेको उनको भनाइ छ । उनले सरकारले एक जनालाई १० पटकसम्म तालिम दिएको समेत बताए । ‘सरकारले लामो समयदेखि तालिम दिइरहेको छ, एक जना नेपालीले १० पटकसम्म तालिम पाएको भन्ने सुनेको छ, वास्तविकता जस्तै लाग्छ, सरकारले तालिमका नाममा ठूलो रकम खर्च गरेको हुँदा १० पटक नै तालिम दिएको होला जस्तो लाग्छ, सरकारले तालिम दिएपनि अर्कै ठाउँमा सरुवा गर्छ,’ उनले भने । उनले प्रत्येक वर्ष ६ लाख जनसंख्या काम गर्न सक्षम रहेको बताए । उनीहरुलाई रोजगारी दिन ठूलो चुनौती रहेको उनको भनाइ छ । उनले भने, ‘नेपालको कूल जनसंख्याको १६ देखि ४५ वर्ष उमेर समूहको ४० प्रतिशत जनशक्ति छ, यो जनशक्ति नेपालमा काम गर्न सक्ने क्षमता भएका हुन्, प्रत्येक वर्ष ५/६ लाख जनशक्ति उयत्पादन हुन्छन्, सरकारले ५० हजारलाई मात्रै रोजगारी दिन्छ, निजी क्षेत्रले २ लाखलाई रोजगारी दिन्छ, एक लाख जनसंख्या प्रत्येक वर्ष विदेश जान्छन्, बाँकी डेढ लाखदेखि २ लाखलाई कसले रोजगारी दिने भन्ने चुनौति छ ।’ जसमध्ये २० प्रतिशत जनसंख्या पढ्न पनि नचाहने, तालिम पनि लिन नचाहने रहेको हुँदा बिडम्बनाको रुपमा लिएको उनले बताए । अर्थतन्त्रमा निजी क्षेत्रको ७० प्रतिशत योगदान रहेको हुँदा निजी क्षेत्रले नै तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्नु पर्ने उनले बताए । तालिम प्राप्त जनशक्तिलाई विदेश जानबाट रोक्नु पर्ने उनको भनाइ छ ।
नेपाली श्रमिकका समस्या समाधान गर्ने मलेसियाका लागि नवनियुक्त राजदूत पौडेलको प्रतिवद्धता
काठमाडौं । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल कार्यभार सम्हाल्न मलेसियाको राजधानी क्वालालम्पुर प्रस्थान गरेका छन् । मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त भई गत भदौ २७ गते राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका पौडेल कार्यभार सम्हाल्न मलेसिया प्रस्थान गरेका हुन् । मलेसियामा राजदूत पौडेलले राजा अब्दुल्लाहसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नेछन् । दुई लाखभन्दा धेरै नेपाली श्रमिक रहेको मलेसियाको नेपाली दूतावास लामो समय राजदूतविहीन थियो । दूतावासको सेवा प्रवाहको क्षमता बढाउँदै मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने राजदूत पौडेलले बताए । तलब सुविधा, सीप विकास, आवास, उपयुक्त सूचनाको व्यवस्थालाई थप प्रभावकारी बनाउने तथा श्रमस्वीकृतिको अवधि सकिएर कानुनी हैसियत गुमाई अलेखबद्ध भएका श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने उनको भनाइ छ । मलेसियाको बजारमा माग भएअनुसार उपयुक्त सीप तालिम लिई श्रमिकहरु जाने गरेमा ज्याला र सुविधामा वृद्धि हुने भएकाले त्यसतर्फ प्रयास गरिने उनले बताए । मलेसियामा विभिन्न पेसामा रहेका नेपालीहरुसँग सहज सम्पर्क स्थापना गर्दै उनीहरुको अधिकतम हित र सुरक्षाका कार्यहरुलाई प्राथमिकता दिने उनले बताए । सन् २०१८ मा भएको श्रम सम्झौता नवीकरणलाई पनि उनले प्राथमिकता दिएका छन् । नेपालको प्रतिष्ठा र राष्ट्रिय सम्मानको अभिवृद्धि गर्दै द्विपक्षीय सम्बन्ध बलियो बनाउने बताउँदै उनले नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, नेपाली उत्पादनको मलेसियाका बजारमा प्रवद्र्धन, नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताको पहिचान र सहजीकरण जस्ता कार्यहरुबाट नेपालको अधिकतम हित हुने गरी आर्थिक कूटनीतिमा समेत जोड दिने उनले बताए । नेपाल-मलेसियाबीच जनस्तरको सम्वन्ध विस्तारलाई प्राथमिकता दिने उनको भनाइ छ । पौडेललाई गत चैतमा बसेको मन्त्रिपरिषद्को वैठकले मलेसियाका लागि राजदुत सिफारिस गरेको थियो । संसदीय सुनुवाई समितिबाट अनुमोदन भई तथा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी उहाँ मलेसिया प्रस्थान गरेका हुन् । रासस
एनएमबि बैंकका नायब महाप्रबन्धक उपाध्याय र घिमिरे डीसीईओमा बढुवा
काठमाडौं । एनएमबि बैंकका दुई नायब महाप्रबन्धकहरु नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा बढुवा भएका छन् । नायब महाप्रबन्धक सुदेश उपाध्याय र गोविन्द घिमिरे सो पदमा बढुवा भएका हुन् । भदौ ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । जुन आगामी असोज ११ गतेदेखि लागू हुने छ ।