सिमेन्टबाट ब्लक उत्पादन गरेर जीविकोपार्जन गर्दै सुनिल

कञ्चनपुर । कोरोना महामारी सुरु हुनुअघि कञ्चनपुर भीमदत्त नगरपालिका–११ महाकाली किनारका सुनिल सुधार रोजगारीका लागि भारतको सुरतमा थिए । वर्षमा एक दुई महिना मात्रै घर आउने गरे पनि अधिकांश समय उनी जागिरकै सिलसिलामा भारतमै रहन्थे । कोरोना महामारीका कारण जागिर गुमेपछि घरमै बस्दै आएका उनी यतिबेला सिमेन्टबाट ब्लकलगायतका सामग्री उत्पादन गरिरहेका छन् । यसबाट भारतमा भन्दा बढी आम्दानी हुने भएकाले यसैमा सजिलो भएको उनको भनाइ छ । ‘कोरोना सङ्क्रमणको त्रासकै बेला जेनतेन घर फर्किए, केही समय कोरोनाकै त्रासमा बित्यो, तर सधैँ त्रासमै बाँच्न सकिएन, खानका लागि केही न केही गर्नुपर्ने भयो,’ उनले भने, ‘भारतको राजेगारी गुमिसकेको थियो, अन्त जाने बाटो थिएन, कुनै व्यापार व्यवसाय गर्न पनि लगानी थिएन ।’ त्यसैले विभिन्न सङ्घ संस्थाबाट तालिम लिएर ब्लक, टायल र पिलर उत्पादनको काम सुरु गरेका हुन् । ‘कोरोनापछि बेरोजगार भएको थिएँ, विभिन्न सङ्घ संस्थाले ब्लक बनाउने मेसिन र ब्लक बनाउनका लागि तालिम पनि दिएँ,’ उनले भने, ‘त्यसपछि कामका लागि भारत जानु परेको छैन, ब्लक उत्पादन गरेर जीविकोपार्जन सहज भएको छ ।’ सानो लगानीमा पनि ब्लक, टायल र पिलर उत्पादनको काम गरेर जीविकापोर्जन गर्ने गरेको शनि सुनारको भनाइ छ । ‘घर बनाउँदा इँटाभन्दा पनि ब्लकको प्रयोग बढ्न थालेको छ, ठाउँ ठाउँबाट माग आइरहेको छ,’ उनले भने, ‘विगतमा बेरोजगार भएर घरमै बस्नु प¥थ्यो, अहिले यहीँ पेसाबाट घरखर्च चलाउँछु ।’ दश हजार इँटा प्रयोग हुने घरमा छ हजार ब्लक भए पुग्ने हरिनाथको भनाइ छ । ‘मिस्त्री र अन्य कामदारको खर्च पनि बल्कले घटाउँछ,’ उनले भने, ‘एक बोरा सिमेन्टबाट ५५ देखि ६० सम्म ब्लक बनाउन सकिन्छ ।’ अहिले प्रतिब्लक ४० देखि ४५ रुपैयाँसम्म बिक्री हुने गरेको उनले बताए । ब्लकको बजारीकरणलाई बढाउँदै लैजाने पनि उनको योजना छ । ‘ब्लक उत्पादनबाट राम्रो आम्दानी छ, विदेश जानु परेको छैन भने स्वदेशमै काम गर्न पाउँदा सहज भएको छ’;, यशोदा थापाले भनिन्, ‘भारतमा मजदूरी गरेर बचत हुने भन्दा आफ्नै ठाउँमा काम गर्दा राम्रो आम्दानी गर्न सकिन्छ ।’

नेपाल वायुसेवा निगमले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । नेपाल वायु सेवा निगमले १ सय ३८ जना कर्मचारी माग गरेको छ । निगमले चौथो तहदेखि सातौँ तहसम्मका १३८ रिक्त स्थानमा आवेदन आह्वान गरेको हो। रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने निगमले जनाएको छ। निगमले शुक्रबार योग्यता अनुसारको पदका लागि २१ दिनभित्र अनलाइन आवेदन गर्न जानकारी दिएको छ । [pdf id=372709]

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा ईश्वरी प्रसाद अर्याल

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को अध्यक्षमा ईश्वरी प्रसाद अर्याल नियुक्त भएका छन् । मंसिर १९ गतेको मन्त्रिस्तरिय निर्णय अनुसार अर्याललाई कम्पनीको सञ्चालक समितिको अध्यक्ष तोकिएको हो । सरकारले उनलाई अर्को व्यवस्था नभएसम्मको लागि रिक्त रहेको अध्यक्ष पदको जिम्मेवारी दिएको हो । अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्दै आएका अर्याल यसअघि कम्पनीको सञ्चालक सदस्य थिए । उनी अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव समेत हुन् । यसअघि कम्पनीको अध्यक्षमा डा. रविन्द्र घिमिरे थिए । उनले आफ्नो कार्यकाल सकिनुअघि नै राजिनामा दिएपछि कम्पनीको अध्यक्ष पद रिक्त थियो । निवर्तमान अध्यक्ष घिमिरेले गत मंसिर ११ गते राजिनामा दिएका हुन् । कोरोना बीमाको दावी भुक्तानीको विषयमा भएको विवादका कारण घिमिरेले स्वच्छिक रुपमा अध्यक्ष पदबाट राजिनामा दिएका थिए ।