विश्वकै ठूलो इकमर्स प्लेटफर्म अमेजनले १० हजार कर्मचारी हटाउने, मानिसको ठाउँमा रोबोट राखिने
एजेन्सी । इ-कमर्स क्षेत्रको विशाल कम्पनी अमेजनले करिब १०,००० कामदारहरुलाई हटाउने तयारी गरेको छ । न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार अर्को हप्तामा हजारौंले आफ्नो जागिर गुमाउन सक्छन्। पछिल्ला केही त्रैमासिक अवधिमा नाफामा कटौती देखिएकाले कम्पनीले यस्तो निर्णय गरेको हो । अमेजनले आर्थिक मन्दी लगातार बढ्दै गएकोमा आफ्नो खर्च घटाउनुपर्नेमा चिन्ता व्यक्त गरेको छ । कम्पनीले गत साता नै रोजगारी रोक्का गर्ने घोषणा गरेको थियो । कम्पनीले धेरै कर्मचारीहरूलाई अन्यत्र काम खोज्न पनि भनेको छ । यद्यपि अमेजनबाट हटाउने सम्बन्धमा अहिलेसम्म औपचारिक रुपमा कुनै कदम अगाडि बढाइएको छैन । ३१ डिसेम्बर २०२१ को तथ्याङ्क अनुसार अमेजनमा १६ लाख भन्दा बढी फुल टाइम र पार्ट टाइम कर्मचारीहरूले काम गर्दै आएका छन् । यदि कम्पनीले एकै पटक १०,००० कर्मचारीलाई बर्खास्त गर्यो भने यो अमेजनको इतिहासमा यो सबैभन्दा ठूलो कटौती हुनेछ। समग्रमा कम्पनीले आफ्ना १ प्रतिशत कर्मचारीलाई निकाल्ने तयारी गरिरहेको छ । पछिल्लो समयमा कम्पनीले काम गर्न धेरै युनिटहरूमा रोबोटको प्रयोगलाई बढावा दिइरहेको छ। अमेजनले पछिल्लो समयमा डेलिभर हुने प्याकेटको करिब ३ चौथाई काममा कुनै न कुनै प्रकारको रोबोटिक प्रणाली प्रयोग गर्ने गरेको छ । अमेजन रोबोटिक्सका प्रमुख टाइ ब्राडीले आगामी ५ वर्षमा प्याकेजिङको १०० प्रतिशत काम नै रोबोटिक प्रणाली हुनसक्ने बताएका छन् । उनले भविष्यमा रोबोटले मानव कर्मचारीको स्थान लिने तर धेरै समय लाग्ने संकेत गरे । ब्राडी भन्छन् कि कम्पनीमा काम पक्कै परिवर्तन हुनेछ, तर मानव श्रमको आवश्यकता सँधै नै हुनेछ ।
युनाइटेड इन्स्योरेन्सबाट बाहिरिइन् सीईओ पौडेल, हिमालयन रिको डेपुटी सीईओ बन्दै
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट उपासना पौडेल बाहिरिएकी छिन् । उनले दिएको राजिनामालाई कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेसँगै पौडेल कम्पनीबाट बाहिरिएकी हुन् । कम्पनी सञ्चालक समितिको बैठकले कार्त्तिक २८ गतेदेखि लागू हुने गरी पौडेलको राजिनामा स्वीकृत गरेको हो । साथै, सोही मितिदेखि लागू हुने गरी कम्पनीको निमित्त कार्यकारी अधिकृतमा नबिन सुबेदीलाई नियुक्त गरिएको छ । सुबेदी कम्पनीको महाप्रबन्धक समेत हुन् । २०७८ बैशाखमा कम्पनीको सीईओमा नियुक्त भएकी पौडेल एक कार्यकाल सकिनु अघिनै बाहिरिएकी हुन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई एक कार्यकालको लागि भन्दै २०७८ बैशाख १६ गते सीईओ पदमा नियुक्त गरेको थियो । तर उनले करिब डेढ वर्ष अघि नै राजिनामा दिएकी छिन् । हिमालयन रिइन्स्योरेन्समा राम्रो अफर पाएसँगै पौडेलले युनाईटेड इन्स्योरेन्सबाट राजिनामा दिएकी श्रोतले जनाएको छ । यससँगै उनी नेपालको दोश्रो पुनर्बीमा कम्पनी अर्थात हिमालयन रिमा डेपुटी सीईओको रुपमा जाँदै छिन् । पौडेल नेपालको बीमा क्षेत्रको इतिहासकै पहिलो महिला सीईओ हुन् । उनीसँग बीमा क्षेत्रको विगत एक दशकभन्दा बढी कार्यानुभव रहेको छ । युनाईटेडको सीईओ बन्नुअघि उनले सोही कम्पनीमै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन् । भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी हुन् ।
एनएमबि लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक, कनिष्ठ सहायक सूचना तथा प्रविधि विभागका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । उक्त पदहरुका लागि कम्पनीले न्यूनतम प्लस टु तह उत्तीर्ण देखि स्नातक तहसम्म उर्तिण भएको हुनुपर्ने जनाएको छ । संस्थाले यी विभिन्न पदको लागि अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।