कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, कसरी दिने आवेदन ?

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । यो पटक सञ्चालन हुने परिक्षाबाट ६००० व्यक्तिलाई उत्तिर्ण गराउने शाखाले जनाएको छ । श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी भएअनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो । इच्छुक नेपाली नागरिकले भाषा परीक्षाका लागि निवेदन दिन सक्ने इपिएस कोरिया शाखा ग्वार्को ललितपुरले सूचना निकालेर जानकारी गराएको छ । भाषा परीक्षा पहिलो चरणको कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ । दोस्रो चरण भने फागुन ८ देखि फागुन २६ गतेसम्म भाषा परीक्षा हुनेछ । सीप परीक्षण भने फागुन ३ देखि ५ गतेसम्म र चैत १ देखि ३ गतेसम्म हुनेछ ।

नेपाल रेल्वे कम्पनीले माग्यो १० जना प्राविधिक कर्मचारी

काठमाडौं । नेपाल रेल्वे कम्पनीले प्राविधिक कर्मचारी मागेको छ । कम्पनीले विभिन्न पदमा कारारको लागि १० जना कर्मचारी मागेको हो । कम्पनीले चार जना रेल चालक, चार जना स्टेसन मास्टर, १ जना ट्र्याक इन्जिनियर र १ जना एयर कन्टिसनर इन्जिनियर मागेको छ । कम्पनीको अनुसार रेल चालक र स्टेसन मास्टरका लागि कम्तीमा ५ वर्ष अनुभव भएको हुनुपर्ने छ । यस्तै, सिभिल इन्जिनियरङ विषयमा डिप्लोमा वा सो सरह उत्तीर्ण गरी कम्तीमा ३ वर्ष ट्र्याक इन्जिनियर भई काम गरेको अनुभव हुनुपर्ने छ । कम्पनीको अनुसार एयर कन्डिस्नर इन्जिनियरका लागि इलेक्ट्रिकल वा एयर कन्टिस्नलर विषयमा डिप्लोमा उत्तीर्ण गरी एयरकन्डिसन मर्मत सम्भारमा कम्तीमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । रेल्वे कम्पनी काम गर्न चाहनेहरुले १५ दिन आवेदन दिन सक्नु पर्ने पनि कम्पनीले बताएको छ ।

कोभिडले सार्क क्षेत्रको रोजगारीमा चुनौती देखापरे, उपयुक्त नीति आवश्यक : संघाई

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघाईले कोभिड महामारीपछि श्रम बजार परिदृश्यमा परिवर्तन आएको र नयाँ चुनौतीहरू देखापरेको बताएका छन् । संघाईले यस्ता चुनौतीहरूको सामना गर्न थप प्रयासहरू आवश्यक रहेको जोड दिए । उपयुक्त रणनीति र नीति आवश्यक रहेको उनको भनाइ छ । दक्षिण एसियामा अर्थतन्त्रको ठूलो हिस्सा अहिलेपनि अनौपचारिक रहेको भन्दै साना, मझौला उद्यमहरूको दिगोपन र अनौपचारिक क्षेत्रको औपचारिकीकरण, आर्थिक वृद्धि, रोजगारी सिर्जना र सुधारिएको कामको अवस्था सुनिश्चित गर्न महत्वपूर्ण भएको संघाईले बताए । ‘भौगोलिक रूपमा हामी दक्षिण एसियाली देशहरू एकअर्कासंग नजिक छौं, अनुभव आदानप्रदानका लागि विभिन्न माध्यम र संयन्त्रहरू छन्, दक्षिण एसियाली रोजगारदाता मञ्च (साफी) तीमध्ये एक हो,’ साफी अध्यक्ष समेत रहेका संघाईले भने, ‘साफीलाई हाम्रो पारस्परिक हित र सहयोगको लागि अझ प्रभावकारी रुपमा परिचालन गर्नेतर्फ हाम्रो साझा प्रयास आवश्यक छ ।’ अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले दक्षिण एशियाका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूबीच कोभिड–१९ ले कार्यस्थल र रोजगारीको स्थितिमा पारेको प्रभावबारे गम्भीर छलफल गरेका हुन् । बिल्डिङ रेजिलियन्स फर फ्यूूचर अफ वर्क एण्ड पोष्ट कोभिड–१९ का विषयमा काठमाडौंमा आायोजना गरिएको कार्यक्रममा दक्षिण एशियाका नेपाल लगायत बंगलादेश, भारत र पाकिस्तानका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूको सहभागिता थियो । आइएलओका देशिय निर्देशक डा. रिचार्ड हवार्ड, आइएलओ दिल्लीका वरिष्ठ विशेषज्ञ रवि पेरिस, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव, आइएलओ काठमाडौं र दिल्ली अफिसका वरिष्ठ विज्ञहरू, सार्कटुकका महासचिव लक्ष्मण बस्नेतको पनि उपस्थिती थियो ।