आरम्भ चौतारी लघुवित्तका डिसीईओ ज्ञवालीले पाए कामुको जिम्मेवारी

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका नायब कार्यकारी अधिकृत (डिसीईओ) शिवप्रसाद ज्ञवालीले कायम मुकायम (कामु) को जिम्मेवारी पाएका छन् । भदौ २५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई कामुको जिम्मेवारी दिने निर्णय गरेको हो । यससँगै ज्ञवालीले भदौ २६ गतेदेखि सीईओ नियुक्त नभएसम्म उक्त पदको पनि कार्यभार सम्हाल्ने छन् । संस्थाको सीईओ लक्ष्मीप्रसाद शर्माले राजिनामा दिएसँगै कामुको जिम्मेवारी ज्ञवालीलाई दिइएको हो । भदौ २५ गते नै बसेको सञ्चालक समितिको बैठकले सीईओ शर्माको राजिनामा स्वीकृत गरेको हो ।

गृह मन्त्रालयले माग्याे १ लाख १५ हजार म्यादी प्रहरी

काठमाडौं । गृह मन्त्रालयले  आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि  १ लाख १५ हजार म्यादी प्रहरी मागेको छ । आइतबार सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ गतेभित्र १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्ति म्यादी प्रहरीको लागि मागेको हो । म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ । आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ । यसको लागि भदौ ३० गतेदेखि असोज ६ गतेसम्म जिल्ला प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरसँगै सबै जिल्ला प्ररही कार्यालयमा आवेदन दिनुपर्ने छ ।

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शेखर बराल नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शेखर बराल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई चार वर्षको लागि कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो । श्रोतका अनुसार खुला प्रतिस्पर्धाबाट छनोट भएका तीन जनामध्ये सञ्चालक समितिले बराललाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सीईओ बरालसँग बीमा क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । उनले लुम्बिनी जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्समा सीईओको कार्यभार सम्हालिसकेका छन् । यसअघि कम्पनीको सीईओको कार्यभार सरकारका उपसचिव ज्ञानेन्द्रराज ओझाले सम्हालिरहेका थिए । उनलाई अर्थमन्त्रालयले फिर्ता बोलाएसँगै कम्पनीले बराललाई नयाँ सीईओको रुपमा नियुक्त गरेको हो । ६ महिनाको लागि राष्ट्रिय बीमा कम्पनीमा पठाएको अर्थमन्त्रालयले अवधि नसकिँदै उनलाई मन्त्रालय फिर्ता बोलाएको छ ।