नमस्ते पेको सीइओमा प्रवीणराज पोखरेल, २७ वर्षको अनुभव

काठमाडौं । नमस्ते पेको प्रमुख कार्यकारी अधिकृत(सीइओ) प्रवीणराज पोखरेलले नियुक्त भएका छन् । कम्पनीको वैशाख १५ गते सञ्चालक समितिले पोखरेललाई कम्पनीको नयाँ सीईओमा नियुक्त गरेको हो । पोखरेलले वैशाख १७ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् । कम्पनीका पूर्व सीईओ कृष्णप्रसाद भण्डारीले विस्तृत अनुसन्धान, कडा छनोट र भर्ती प्रक्रियापछि, बोर्डले संगठनको नेतृत्व लिनको लागि उत्कृष्ट व्यक्ति भेट्टाउन पाउँदा खुसी भएको बताए । पोखरेल धेरै अग्रणी बैंकहरू, वित्तीय संस्था, भुक्तानी प्रणाली र फिनटेक कम्पनीहरुमा कम्पनीहरूमा २७ वर्षभन्दा बढीको उत्कृष्ट ट्र्याक रेकर्ड भएका व्यक्ति हुन् । यसअघि पोखरेल एफवान सफ्ट इन्टरनेशनल र एमएननेपालका प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन् । उनीसँग बैंकिङ क्षेत्रमा काम गरेको लामो अनुभव रहेको छ । उनले ग्लोबल बैंक, नबिल बैंक, बैंक अफ काठमाडौं र हिमालयन बैंकमा वरिष्ठ व्यवस्थापन र मध्य व्यवस्थापन पदहरूमा काम गरेका छन् ।

होटल संघ नेपालको अध्यक्षमा विनायक शाह

काठमाडौं । होटल संघ नेपालको अध्यक्षमा विनायक शाह निर्वाचित भएका छन् । संघको ४८औं वार्षिक साधारण सभाले शाहलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । उनी यसअघि नै सर्वसम्मत अध्यक्ष बनेको भएपनि शुक्रबार पत्रकार सम्मेलन गरेर अध्यक्ष बनेको घोषणा गरेको हो । शाह यसअघि कार्य समितिका प्रथम उपाध्यक्ष थिए । संघमा सर्वसम्मत नेतृत्व चयन हुँदै आएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो १३५ जना कर्मचारी

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगले लोक सेवा आयोगको सहमतिमा १५ जना कर्मचारीका लागि आवेदन माग गरेको छ। संस्थानले ११ औं तहदेखि ५ औं तहसम्मको विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । प्राध्यापकका लागि २ जना, सह–प्राध्यापकका लागि ३ जना, सहायक प्राध्यापकमा लागि ३४ जना, लेक्चर ५ जना, नर्सिङ्ग सुपरभाइजर १ जना, नर्सिङ्ग अधिकृत ३ जना, ल्याब टेक्नोलोजिष्ट २ जना, फिजियोथेरापी टेक्नोलोजिष्ट, अडियोलाजिष्ट १ जना, अप्टोमेष्टिक १ जना, रेडियोलोजी टेक्नोलोजिष्ट २ जना, स्टाफ नर्सका लागि ५९ जना लगायत अन्य पदका लागि पनि कर्मचारी मागेको हो । अधिकृत पदको लागि २१ वर्ष तथा सहायक पदको लागि १८ वर्ष उमेर पूरा भएका र प्राज्ञिक सेवा तर्फ सहायक प्राध्यापक पदको लागि ४२ वर्ष, सह–प्राध्यापक पदको लागि ४५ वर्ष, प्राध्यापक पदका लागि ५० वर्ष, प्राविधिक सेवा तर्फ ४० वर्ष, प्रशासन सेवा तर्फ ३५ वर्ष उमेर ननाघेका व्यक्तिले आवेदन दिन सक्नेछन् । बैशाख १५ गतेदेखि जेठ ४ गतेसम्म ४ गतेसम्म र दोब्बर दस्तुरमा जेठ ११ गतेसम्म आवेदन दिनुपर्ने बताइएको छ ।