‘अर्को हप्ताको फ्लाइट छ, तर कतै पनि फाइजर खोप छैन’

काठमाडौं । कोभिड–१९ विरुद्धको जोनसोन एन्ड जोनसोन खोपको अतिरिक्त मात्रा (बुस्टर डोज) फाइजर खोप सकिएको छ । फाइजर खोपको बुस्टर (अतिरिक्त मात्रा) सकिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउने सेवाग्राही निराश भएर फर्किन बाध्य भएका छन् । वैदेशिक रोजगारका लागि कोरिया जाने प्रक्रियाका लागि फाइजर खोप लगाउन टेकु अस्पताल पुग्नुभएका डिआर चौधरीले खोप नपाएको गुनासो गरे । उनले भने, ‘अर्को हप्ताको फ्लाइट छ । तर धेरै खोप केन्द्र चहारिसक्दा पनि फाइजर खोप पाउन सकेको छैन । टेकु अस्पतालमा पाइन्छ भन्ने आशा थियो यहाँ पनि सकिएको रहेछ ।’ फाइजर खोप लगाउन टेकु अस्पताल पुगेका तपिन घर्ती मगरले निराश हुँदै भने, ‘जापानको भिसा प्रक्रियाका लागि अग्रिमरूपमा अतिरिक्त खोप लगाएको प्रमाण आवश्यक पर्नेरहेछ । यहाँका कर्मचारीले १५/२० दिनमा फेरि आउनु भन्नुभयो ।’ अस्पतालको प्राङ्गणमा सञ्चालित खोप केन्द्रकी नर्स मन्दिरा तिमल्सेना दैनिक एक सयजना फाइजरको अतिरिक्त मात्राका लागि आउने गरेको बताउँछन् । ‘अहिले एकदेखि डेढ सय जनालाई भेरोसेलको अतिरिक्त मात्रा दिइरहेका छाैं । तर दैनिक एक सयजना फाइजर खोपका लागि आउनुहुन्छ । फाइजर कात्तिक महिनादेखि उपलब्ध छैन ।’ आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरासियाले अहिले केन्द्रसँगै देशभर फाइजर अतिरिक्त मात्राको मौज्दात सकिएको बताए । उनले भने, ‘प्रदेशहरूमा कहिलेदेखि सकियो थाहा छैन । देशभर भेरोसेल र फाइजर पेडियाट्रिक खोप छ । तर फाइजर खोप सकिएको हो ।’ उनका अनुसार मङ्सिर महिनासम्म खोपको खपत कम थियो । कोरोना सङ्क्रमण घटेको र मौज्दात खोपको प्रयोग कम भएपछि शाखाले थप खोप ल्याएको थिएन । तर छिमेकी देश भारत र चीनमा पिएफ डट सेभेनको सङ्क्रमण बढेपछि फाइजर खोपको माग बढेको उनको भनाइ छ । तर मौज्दात नभएको हुँदा फाइजर सकिएको हो । ‘अनुदानस्वरुप आउने ९२ लाख फाइजर खोपमा ३७ लाख नेपाल भित्रिसकेको छ । केही महिनाअघिसम्म खोपको खपत कम थियो । बाँकी खोप तत्काल ल्याउँदा खेर जाने सम्भावनाका कारण केही समयका लागि स्थगित गरिएको थियो । अहिले पिएफ डट सेभेनका कारण अहिले माग बढेपछि खोप सकिएको छ’, उनले भने । परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले फेब्रुअरी ३मा १५ लाख फाइजर खोप भित्रिने बताए । उनले भने, ‘खोपका लागि ग्लोबल एलायन्स गाभीबाट प्राप्त हुने १५ लाख खोप फेब्रुअरी ३ मा आउँदैछ । त्यसलाई अतिरिक्त खोपका रूपमा प्रयोग गरिनेछ ।’ उनका अनुसार खोप आपूर्ति पाइप लाइनमा राखिएको र ढिलामा फेबु्रअरीको पहिलो सातासम्म भित्रिनेछ । सोमबारसम्म दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । अतिरिक्त मात्रा लगाउनेको सङ्ख्या ७९ लाख ७२ हजार सात सय ९१ जना रहेका छन् । आपूर्ति शाखा प्रमुख चौरासियाका अनुसार अहिले देशभर ४० लाख मात्रा खोपको मौज्दात रहेको छ । त्यसमा दुई लाख भेरोेसेल र चार लाख पेडियाट्रिक फाइजर खोप मौज्दात छ । नेपालमा छ करोड १७ लाख ७६ हजार सात सय ७० खोप भित्रिएको छ । पछिल्लो समय गत १२ सेप्टेम्बरमा फाइजरको खोप भित्रिएको थियो । अनुदानस्वरुप ९२ लाख फाइजर खोप आउने भए पनि ३७ लाख मात्रै खोप भित्रिएको थियो । फाइजर ३७ लाख ६३ हजार आठ सय ९० रहेको छ । जोनसोन एन्ड जोनसोन खोप ३७ लाख ११ हजार पाँच सय मात्रा रहेको छ । रासस

कृषि विकास बैंकको सीईओका लागि आवेदन खुला, मासिक तलव ४ लाख

काठमाडौं । कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) खुला प्रतिस्पर्धाका माध्यमबाट छनोट गर्ने भएको छ । बैंकले सीईओ पदका लागि विज्ञापन आह्वान गरेसँगै खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट सीईओ पदपूर्ति गरिने बैंकले जनाएको हो । बैंकका पूर्व सीईओ अनिल उपाध्यायको कार्यकाल गत पुस १० गते सकिएपछि रिक्त रहेको छ । बैंकले सोमबार एक सूचना प्रकाशन गरी २१ दिन अर्थात् माघ १५ गतेसम्म योग्यता र अनुभव प्राप्त गरेका इच्छुक योग्य ब्यक्तिलाई आवेदन पेश गर्न आग्रह गरेको हो । बैंकको सीईओ पदका लागि आवेदन दिने ब्यक्तिको योग्यता व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विपयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनु पर्नेछ । चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्गशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा १० वर्षको कार्यअनुभव भएको हुनु पर्नेछ । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा उम्मेदवारहरु मध्ये ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि छनौट गरिनेछ । छनौट भएका उम्मेदवारहरुमध्ये शैक्षिक योग्यता तथा कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ । सीईओलाई मासिक पारिश्रमिक ४ लाख रुपैयाँ र कार्यसम्पादनका आधारमा प्रोत्साहन रकम र अन्य सुविधाहरु प्रदान गरिनेछ । हाल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी उपमहाप्रबन्धक प्रताप सुवेदीलाई दिईएको छ ।

दोस्रो पटक बैंक तथा वित्तिय संस्था परिसंघको अध्यक्षमा पवन गोल्यान

काठमाडौं । बैंक तथा वित्तिय संस्थाका साहुहरुको संगठन बैंक तथा वित्तिय संस्था परिसंघको अध्यक्षमा पवन गोल्यान निर्विरोध निर्वाचित भएका छन् । आइतबार सम्पन्न तेश्रो वार्षिक साधारण सभाले गोल्यानलाई दोश्रो कार्यकालका लागि पुनः अध्यक्ष निर्वाचित गरेको हो । गोल्याल एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष समेत हुन् । अध्यक्ष गोल्यानको कार्यकाल आगामी २ वर्षसम्म रहनेछ । यसअघि उनी २०७७ फागुनमा अध्यक्षमा चुनिएका थिए । उनको कार्यकालमा संस्थालाई बैंकिङ्ग क्षेत्रको अभिन्न अंगकको रुपमा स्थापित गर्न सफल भएका छन् । यस्तै, परिसंघको बरिष्ठ उपाध्यक्षमा भोज बहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा राजन सिंह भण्डारी, कोषाध्यक्षमा तुल्सिराम अग्रवाल, सचिवमा कुश प्रसाद मल्ली र सह कोषाध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ निर्वाचित भएका छन् । कार्य समिति सदस्यहरुमा उपेन्द्र पौडेल, लिला प्रकाश सिटौला, उपेन्द्र केशरी न्यौपाने, मोतिलाल दुगड, राधेश पन्त, महेन्द्र कुमार गोयल, भरतराज ढकाल र हिरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित भएका हुन् । [pdf id=378812]