रोजगारी खोज्नेको लागि कर्मचारी सञ्चय कोषमा सुनौलो अवसर

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । कर्मचारी सञ्चय कोषले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कर्मचारी सञ्चय कोषले विभिन्न तहका पदका लागि ४१ जना कर्मचारीको माग गरेको हो । उक्त कोषले खुला प्रतियोगिताद्वारा स्थायी पूर्तिका लागि विभिन्न तहका पदमा ४१ जनालाई रोजगारी खुलाएको हो । प्रकाशित सूचनाकाअनुसार कोषले प्रबन्धक पदमा प्राविधिक समूहका लागि खुलातर्फ १ जनालाई रोजगारी खुलाएको छ । साथै, उपप्रबन्धक पदमा प्रशासन समूहका लागि खुल्लातर्फ १ र मधेशीतर्फ १ जनालाई रोजगारी खुलाएको छ । उपप्रबन्धक पदका लागि प्रशासनतर्फ नै खुल्लामा १ जना, आदिवासी जनजातीमा १ जना र मधेशी समूहमा १ जनाका लागि रोजगारी खुलाइएको छ । कोषले उपप्रबन्धक वित्त विश्लेषक पदका लागि प्रशासन समूहमा खुलातर्फ १ जना र आदिवासी जनजातीतर्फ १ जना, सशायक प्रबन्धक पदमा प्रशासन समूहका लागि खुलातर्फ १३ जना, महिलातर्फ ५ जना, आदिवासी जनजातितर्फ ३ जना, मधेशीतर्फ २ जना र पिछडिएको क्षेत्रतर्फ १ जनाका लागि रोजगारी खुलाइएको छ । त्यस्तै, सशायक प्रबन्धक कानुन पदका लागि प्रशासनरकानुन समूहमा आदिवासी जनजाति १ जना, सहायक प्रबन्धक स्टिम पदका लागि प्राविधिक कम्प्युटर समूहका लागि खुलातर्फ १ जना, सहायक प्रबन्धक कम्युटर इन्जिनियरका लागि खुलातर्फ २ जनालगायतका विभिन्न पदका लागि लागि रोजगारी खुलाइएको छ । कोषकाअनुसार इच्छुक उमेदवारले सूचना प्रकाशित भएको २१ दिनभित्र नियमित दस्तुरमा र २१ दिनपछिको थप ७ दिनसमम दोब्बर दस्तु तिरेर दरखास्त बुझाउन सकिनेछ ।

रोजगारी खोज्नेको लागि इन्फिनिटी लघुवित्तमा सुनौलो अवसर

काठमाडौं । रोजगारी खोज्नेहरुको लागि खुसिको खबर छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नायव प्रमुख कार्यकारी अधिकृत डिसीइओ माग गरेको छ । संस्थाले उक्त पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । साथै, बैंक तथा वित्तीय क्षेत्रमा कम्तिम ५ वर्ष सम्म काम गरेको अनुभव हुनुपर्ने जनाएको छ । २१ वर्ष पुरा भई ५५ वर्ष ननाघेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले संस्थाको वेवसाईट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।

धनगढीमा विद्युतीय रिक्सा चलाएर स्वरोजगार बन्दै युवा

धनगढी । वैशाख महिनाको टन्टलापुर घाममा विद्युतीय रिक्सा अटोरिक्सा चालक शोभाकान्त उपाध्याय धनगढीको सडक छेउमा रिक्सा अड्याएर पैदल हिँडेका यात्रुको खोजी गरिरहेको भेटिए । अन्दाजी ६५ वर्षीय उपाध्यायले विगतमा छोराको विवाह गर्दा लागेको ऋण बुझाउन टन्टलापुर घाममा रिक्सा चलाएर कामाइ गर्नुपरेको दुखेसो सुनाए ।  ‘दुई छोरा भारतमा काम गर्छन्, एउटा छोरा यही गाडी चलाउँछ’, उनले भने, ‘छोराको विवाह गर्दा लागेको पाँच लाख रुपैयाँ ऋण तिर्नै धौधौ परेपछि रिक्सा चलाएर कमाइ गर्नुपरेको हो ।’ धनगढीमा छ धुर जग्गामा बनेको कर्कटपाताको छानो भएको घर छ । उनले १० वर्षदेखि अटो रिक्सा चलाउँदै आएका छन् । यसअघि स्थानीय एक निजी विद्यालयमा रिक्सा चालकका रुपमा काम गरेका उनले युवा अवस्थामा भारतमा मजदुरीको काम गरेका थिए । ‘अटो रिक्सा चलाउँदा सुरुका वर्षमा राम्रै कमाई हुन्थ्यो, हाल रिक्सा धेरै हुँदा यात्रु नपाएर कमाई घटेको छ’, उपाध्यायले थपे, ‘कमाई घटे पनि रिक्साले रोजगारी दिँदा सन्तुष्टि छ ।’ अर्का अटो रिक्सा चालक ६३ वर्षीय अरुण पुजाराले आफ्ना हातपाउ छउञ्जेल आफ्नै देशमा काम गरेर खाने बताए । ‘विदेशमा गएर तल्लोस्तरको काम गर्न तयार हुने तर आफ्नै देशमा काम गर्न लाज मान्ने र इज्जत जाने कुरा गर्नेको प्रगति हुन सक्दैन’, उनले भने, ‘आफ्ना हातगोडा चलेसम्म काम गरेर खाने हो ।’ एकदशक बढी समय भारतको देहरादुनमा मजदुरी गरेका पुजाराका पाँच छोरा सबैले स्वरोजगारी गर्छन् । आफ्नो कमाइप्रति सन्तुष्टि व्यक्त गर्दै उनले थपे, ‘आफू कुनै समयमा महिनामा एक लाख रुपैयाँसम्म कमाउँथे ।’ अहिले दिनमा पाँच सय रुपैयाँदेखि सात सयसम्म कमाइ हुने गरेको उनको भनाइ थियो । धनगढीमा पछिल्ला वर्षमा विद्युतीय रिक्साको व्यवसाय फस्टाएको छ । बजार क्षेत्रका यात्रुको आवागमनका लागि सजिलो साधनका रुपमा रहेको यो व्यवसायबाट धेरैले रोजगारी पाएका छन् । घरायसी काममा मात्रै सीमित रहेका रिक्सा चलाएर कमाइ भइरहेको रिक्सा चालक गौरी चौधरीले बताए । उनले भने, ‘घरमा कमाइ हुने अर्को बाटो छैन, रिक्सा चलाएर हुने कमाइले जासोतसो जीवन गुजारा भइरहेको छ ।’ यहाँले महिलाले पनि रिक्सा चलाएर जीविकोपार्जन गरिरहेका छन् भन्दै चौधरीले महिलाले रिक्सा चलाएको अनौँठो मान्ने सोच र प्रवृत्ति कतिपय ठाउँमा अझै देखिने भनाइ थियो । ‘यस्तो सोचलाई निरुत्साहित गर्दै धेरै महिला विद्युतीय रिक्सा चलाएर आयआर्जन गर्न थालेका छन्’, उनले भने । विद्युतीय रिक्सा चलाएर उनले दैनिक  सात/आठ सय रुपैयाँसम्म कमाइ गरिरहेका छन् । पछिल्ला वर्षमा सहरी क्षेत्रमा भित्रिएका विद्युतीय रिक्सा बेरोजगार भएर बसेकाका लागि मुख्य रोजगारको माध्यम बन्न थालेको रिक्सा मजदुरले बताएका छन् । स्थानीय रिक्सा चालक भीमबहादुर चौधरीले भने, ‘रिक्सा चलाउने कामबाट भइरहेको आयआर्जनबाट घरधन्दा चलाउन सहज भएको छ ।’ विद्युतीय रिक्सा ‘रिचार्ज’ गरेर चलाउन मिल्छ । एक पटक ‘रिचार्ज’ गर्दा झण्डै एक सय किलोमिटरको दूरीसम्म चलाउन सकिन्छ । पेट्रोलियम पदार्थको खपत घटाउन विद्युतीय रिक्सा व्यवसायले धेरै योगदान दिएको छ । यस व्यवसायप्रति आकर्षण बढ्दै जाँदा बजार क्षेत्रमा रिक्साको सङ्ख्या पनि बढ्दै गएको छ । छोटो दूरीमा यात्रा गर्न सहज र सस्तो माध्यम बनेको स्थाीयको भनाइ थियो । विद्युत्बाट चार्ज गरेर चलाउन सकिने भएकाले पछिल्लो समय विद्युतीय रिक्सासँगै स्कुटर र विद्युतीय साइकलको प्रयोग पनि बढ्दै गएको छ । विद्युतीय रिक्सा व्यवसाय फस्टाउँदै गए पनि यसको दर्ता गरी रुट परमिट लिन र चालक अनुमतिपत्र पाउन सास्ती खेप्नु परेको रिक्सा मजदुरको गुनासो छ । यातायात व्यवस्था कार्यालयले यी रिक्सा दर्ता र चालक अनुमतिपत्र प्रदान गर्दछ । सुरुका वर्षमा धनगढी उपमहानगरपालिका कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था थियो । धनगढीमा झण्डै तीन हजार विद्युतीय रिक्सा सञ्चालनमा छन् । विद्युतीय रिक्सा सञ्चालनसँगै दुई दशकअघिसम्म सञ्चालनमा रहेका परम्परागत तीनपाङ्ग्रे रिक्साको व्यवसाय पूर्णरुपमा विस्थापित भएको छ । रासस