नेपाल इन्स्योरेन्सका दुई सञ्चालकले दिए राजिनामा, अध्यक्षमा पौडेल सर्वसम्मत
काठमाडौं । नेपाल इन्स्योरेन्सका दुई सञ्चालकले आफ्नो पदबाट राजिनामा दिएका छन् । इन्स्योरेन्सका अध्यक्ष अर्जुन पौडेल शर्मा र सञ्चालक विष्णु खेतान अग्रवालले फागुन १७ गते राजिनामा दिएका हुन् । दुई सञ्चालकले आफ्नो व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएका हुन् । जसलाई फागुन १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पारित गरिसकेको छ । त्यस्तै, सोहि दिन बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालक लक्ष्मण पौडेललाई नयाँ अध्यक्षको रुपमा सर्वसम्मत चयन गरेको छ । इन्स्योरेन्स सञ्चालक समितिले गत जेठ ३० गते दुबै सञ्चालकको कार्यकाल थप्ने निर्णय गरेको थियो । बीमा प्राधिकरणले पनि मर्जरमा जाने सहमति अनुसार उनीहरुको नियुक्तिलाई स्वीकृति दिएको थियो । तर अब कम्पनी मर्जरमा नजाने भएसँगै बीमा प्राधिकरणले दुई सञ्चालकको नियुक्तिको सम्बन्धमा सञ्चालक समितिलाई नै निर्णय गर्न पत्राचार गरेको थियो । सम्बन्धित समाचार : नेपाल इन्स्योरेन्सका सञ्चालकहरुको समायावधि नथप्न प्राधिकरणको निर्देशन
सिद्धार्थ प्रिमियरको अध्यक्ष बने सुरेशलाल श्रेष्ठ, कम्पनी सचिवमा आचार्य नियुक्त
काठमाडौं । दुई निर्जीवन बीमा कम्पनी मर्ज भई बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा सुरेशलाल श्रेष्ठ नियुक्त भएका छन् । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको अध्यक्षपदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष श्रेष्ठ प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)का अध्यक्ष हुन् । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्ज भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बनेसँगै उक्त कम्पनीको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरिएको कम्पनी श्रोतले बताएको छ । त्यस्तै, सञ्चालकमा पवन कुमार अग्रवाल, राजन कृष्ण श्रेष्ठ, राहुल अग्रवाल, बलराम श्रेष्ठ र रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । कम्पनीको सीईओमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ बीरेन्द्र बैदवार क्षेत्री रहने छन् । यससँगै, नयाँ बनेको इन्स्योरेन्सको कम्पनी सचिवमा शुदर्शन आचार्य नियुक्त भएका छन् । आचार्य सिद्धार्थ इन्स्योरेन्सका सूचना अधिकारी हुन् ।
बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले माग्यो कार्यकारी निर्देशक
काठमाडौं । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले कार्यकारी निर्देशक पदका लागि आह्वान गरेको छ । उर्जा, जलस्रोत तथा सिंचार्य मन्त्रालयले आईतबार एक सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको हो । सूचना जारी भएको १५ दिनभित्र मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा उर्जा सम्बन्धी विषयमा स्नातकोत्तर उपाधि सहित बैकल्पिक उर्जाको क्षेत्रमा १० वर्ष काम गरेको अनुभव भएका उम्मेद्वारले उम्मेद्वारी दिन सक्ने सूचनामा उल्लेख छ । बैकल्पिक उर्जा विकास समिति गठन आदेश, २०५३ को दफा ७ बमोजिम बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशक माग गरेको उल्लेख छ । इच्छुक उम्मेदवारहरुले आफ्नो हस्ताक्षरसहितको बायोडाटा, दुई हजार शब्दमा नबढाइ लेखिएको चार वर्षे व्यवसायिक कार्ययोजना प्रस्ताव, हाल कुनै संस्थामा कार्यरत रहेको भए सो संस्थाको सहमति र नोटरी पब्लिकबाट प्रमाणित नेपाली नागरिकता, शैक्षिक योग्यता र कार्य अनुभवका प्रमाणपत्रहरु पेश गर्नुपर्नेछ ।