निषेधाज्ञाको बेलामा सेयर बजार खुल्छ कि खुल्दैन ?

काठमाडौं । काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने निर्णय गरेको स्रोतहरुले पुष्टी गरेपनि औपचारिक रुपमा निर्णय सार्वजनिक भएको छैन । निषेधाज्ञा जारी भएको समयमा सरकारले तोकेका बाहेक पेशा व्यवसाय संचालन गर्न पाइदैन । सरकारले सामान्यतः औषधी पसल र खाद्यान्न पसल बाहेक अन्य व्यवसाय रोक्न सक्ने सम्भावना रहन्छ । निषेधाज्ञाको समयमा सरकारले अत्यावश्यक भनेको सेवा पनि सुचारु हुनेछन् । तर, २०७६ साल चैत ११ गतेदेखि गरिएको देशव्यापी लकडाउन घोषणा गर्दा सेयर बजार पनि बन्द भएको थियो । लकडाउन घोषणा भएको दिनदेखि नै बन्द भएको सेयर बजार २०७७ सालको असार १५ गतेदेखि मात्रै खुलेको थियो । कोरोना भाइरस संक्रमणको दोस्रो लहर चलेसँगै सुरु भएको निषेधाज्ञाको समयमा सेयर बजार बन्द हुन्छ कि खुल्छ भन्ने चासो बढेको छ । तर, अहिले बजार बन्द गर्नुपर्ने अवस्था नरहेको पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना बताउँछन् । ‘यसअघिको लकडाउनको समयमा अनलाइन कारोबार गराउन सक्ने अवस्था देखिएको थिएन, त्यसैले बजार बन्द थियो, अहिले अनलाइन कारोबारको लागि सबै संयन्त्र तयार छन्, निषेधाज्ञा जारी भएपनि बजार बन्द हुँदैन, स्वाभाविक रुपमा सेयर बजार खुल्ला रहन्छ,’ अध्यक्ष ढुंगानाले विकासन्युजसँग भने । सम्बन्धित समाचार धितोपत्र बोर्डले भन्यो- सेयर बजार बन्द नगर्नु, सुरक्षित कारोबारको लागि विभिन्न ६ व्यवस्था अपनाउनु

‘एनआईबिएल समृद्धि फण्ड-२’ मा आजदेखि लगानी गर्न पाइने, यस्तो छ योजनाको उद्देश्य

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआईबिएल एस क्यापिटल लिमिटेडको ‘एनआईबिएल समृद्धि फण्ड-२’ नामक म्युचुअल फण्ड आज बैशाख १३ गतेदेखि बिक्री खुला भएको छ । यससँगै इच्छुक लगानीकर्ताले उक्त फण्डमा लगानी गर्न पाउने भएका छन् । बन्दमुखी प्रकारको यो योजनाको आकार १ अर्ब २० करोड रुपैयाँ बराबरको रहेको छ । प्रतिइकाई मूल्य १० रुपैयाँ दरको १२ करोड इकाई मध्ये बीज पूँजीबापत १० लाख इकाई योजना व्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धकका लागि निष्काशन गरिने छ । त्यस्तै, कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरिने क्यापिटलले जनाएको छ । इच्छुक आवेदकले आगामी बैशाख १३ गतेदेखि छिटोमा बैशाख १७ गतेसम्ममा इकाई किन्न सक्ने छन् । उनीहरुले १० रुपैयाँको प्रतिइकाईका दरले न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड २० लाख इकाईसम्मको खरिदका लागि आवेदन दिन सक्ने छन् । क्यापिटलका अनुसार न्युनतम ६ करोड इकाई बिक्री हुनुपर्ने र अधिकतम १५ करोड इकाई सकारिने छ । सो मात्राको इकाई बिक्री भएपश्चात इकाई बिक्री बन्द गरिने छ । यो योजना ईकाई बाँडफाँड भएको मितिले १० वर्षमा परिपक्क हुने छ । सो अवधि पश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानुन बमोजिम वितरण गरने छ । उक्त फण्ड बिक्रीको लागि कोष प्रर्बद्धकको रेटिङ्ग ‘इक्राएनपी माइनस आईआर ए’ र योजना व्यवस्थापकको रेटिङ्ग इक्राएनपी एएमसी क्वालिटी थ्री प्लस (एमसीथ्रीं) रेटिङ्ग पाएको थियो । योजनाको उद्देश्य यो योजनाले इकाई बिक्रीबाट संकलित रकम धितोपत्र बजारमा लगानी गरी दक्ष लगानी सेवाद्वारा योजनाका लगानीकर्तालाई सर्वाधिक प्रतिफल दिने छ । साथै, एक संस्थागत लगानीकर्ताको हैसियतबाट बजारको दिगो विकासमा सघाउ पर्याउने उद्देश्यले यस योजनाका इकाईहरु निष्काशन गरिएको क्यापिटलले जनाएको छ । सम्बन्धित समाचार ‘एनआईबिएल समृद्धि फण्ड-२’: बिक्रीबाट उठेको रकम विभिन्न क्षेत्रमा लगानी, लगानीकर्तालाई हरेक वर्ष लाभांश एनआईबिएल समृद्धि फण्ड-२ मा लगानी गर्नेले १० वर्षमा २१४ प्रतिशत बढी प्रतिफल पाउँछन्- ढुंगाना

मध्य भोटेकोशीले बैशाख २१ गतेदेखि आईपीओ जारी गर्ने, कहाँ कहाँबाट दिने आवेदन ?

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आगामी बैशाख २१ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित तथा जिल्लाका स्थानिय वासिन्दालाई गरी कूल ६० करोड रुपैयाँ बराबरको सेयरको बिक्री खुला गर्ने भएको हो । अंकित मूल्य १०० रुपैयाँ दरका ६० लाख कित्ता साधारण सेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं.१ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ । र , बाँकी रहेको ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ । यससँगै, आयोजना प्रभावित तथा जिल्लाका स्थानिय वासिन्दाले छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन दिने छन् । इच्छुकले न्यूनतम १० कित्ता र अधिकतमा ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था रहेको बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइमएई क्यापिटल रहेको छ । त्यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल रहेका छन् । आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।