‘एनआईबिएल समृद्धि फण्ड-२’: बिक्रीबाट उठेको रकम विभिन्न क्षेत्रमा लगानी, लगानीकर्तालाई हरेक वर्ष लाभांश

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआईबिएल एस क्यापिटल लिमिटेडको ‘एनआईबिएल समृद्धि फण्ड-२’ नामक म्युचुअल फण्ड आगामी बैशाख १३ गतेदेखि खुल्ने भएको छ । यससँगै इच्छुक लगानीकर्ताले सो दिनदेखि उक्त फण्डमा लगानी गर्न पाउने छन् । बन्दमुखी प्रकारको यो योजनाको आकार १ अर्ब २० करोड रुपैयाँ बराबरको रहेको छ । प्रतिइकाई मूल्य १० रुपैयाँ दरको १२ करोड इकाई मध्ये बीज पूँजीबापत १० लाख इकाई योजना व्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धकका लागि निष्काशन गरिने छ । त्यस्तै, कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरिने क्यापिटलले जनाएको छ । इच्छुक आवेदकले आगामी बैशाख १३ गतेदेखि छिटोमा बैशाख १७ गतेसम्ममा इकाई किन्न सक्ने छन् । उनीहरुले १० रुपैयाँको प्रतिइकाईका दरले न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड २० लाख इकाईसम्मको खरिदका लागि आवेदन दिन सक्ने छन् । क्यापिटलका अनुसार न्युनतम ६ करोड इकाई बिक्री हुनुपर्ने र अधिकतम १५ करोड इकाई सकारिने छ । सो मात्राको इकाई बिक्री भएपश्चात इकाई बिक्री बन्द गरिने छ । यो योजना ईकाई बाँडफाँड भएको मितिले १० वर्षमा परिपक्क हुने छ । सो अवधि पश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानुन बमोजिम वितरण गरने छ । उक्त फण्ड बिक्रीको लागि कोष प्रर्बद्धकको रेटिङ्ग ‘इक्राएनपी माइनस आईआर ए’ र योजना व्यवस्थापकको रेटिङ्ग इक्राएनपी एएमसी क्वालिटी थ्री प्लस (एमसीथ्री+) रेटिङ्ग पाएको थियो । योजनाको उद्देश्य यो योजनाले इकाई बिक्रीबाट संकलित रकम धितोपत्र बजारमा लगानी गरी दक्ष लगानी सेवाद्वारा योजनाका लगानीकर्तालाई सर्वाधिक प्रतिफल दिने छ । साथै, एक संस्थागत लगानीकर्ताको हैसियतबाट बजारको दिगो विकासमा सघाउ पर्याउने उद्देश्यले यस योजनाका इकाईहरु निष्काशन गरिएको क्यापिटलले जनाएको छ । कहाँ कहाँ लगानी हुन्छ ? योजनाको इकाई बिक्रीबाट उठेको वा संकलन भएको रकम कुनै वा सबै क्षेत्रमा लगानी हुनेछ । नियमावलीको नियम ३४ एवं निर्देशिकाको अधिनमा रही क्यापिटलले बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत धितोपत्रमा लगानी गर्ने छ । नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बील तथा मुद्रा बजारका अन्य साधनहरुमा पनि यो लगानी गर्न सकिने छ । त्यस्तै, बैंक निक्षेप, मुद्रा बजार उपकरण, बोर्डले तोकिदिएको अन्य क्षेत्रहरु र साथै योजनाको लगानी गर्न सक्ने क्षेत्र तथा लगानीको सिमा सम्बन्धमा सामूहिक लगानी कोषमा व्यवस्था भए बमोजिम लगानी गरिने क्यापिटलले जनाएको छ । विदेशमा लगानी गर्ने योजना छ कि छैन ? यो योजनाको रकमलाई हाल विदेशमा लगानी गर्ने कुनै योजना रहेको छैन । तथापि भविष्यमा बजारको अवस्था हेरि नियमन निकायको स्वीकृति लिई नियामावलीको व्यवस्था बमोजिम विदेशमा लगानी गर्न सकिने संस्थाले जनाएको छ । योजनाको मुनाफा वितरणको लक्ष्य योजनाले कमाएको खुद मुनाफाको अनुपातमा इकाईको अंकित मूल्यको आधारमा मुनाफा वितरण गरिनेछ । खुद मुनाफामध्ये आवश्यकता अनुसार संचित मुनाफा (रिर्टेन अरनिङ्ग) पुनः लगानीका लागि उपयोग गरिनेछ । पुरानो योजनालाई नयाँमा परिणत गर्न सकिने योजनाका ईकाईहरु अर्को योजनामा हस्तान्तरण नहुने व्यवस्था रहेको छ । योजनाको अवधि समाप्त भए पश्चात् योजनाको सम्पत्ति बिक्री गरी इकाईधनीहरुलाई समानुपातिक आधारमा वितरण गरिनेछ । अवधि समाप्त भएको अवस्थामा इकाईधनीको सहमतिमा यस योजनालाई नयाँ योजनामा परिणत गर्न सकिनेछ । योजनालाई नयाँ योजनामा परिणत गर्ने सम्बन्धी व्यवस्था र अपनाउने प्रकृया नियमावलीको अधीनमा रही बोर्डको स्वीकृति अनुरुप हुनेछ । क-कसले आवेदन दिन पाउछन् ? नेपाली नागरिक, गैरआवसीय नेपालीको प्रमाणपत्र (परिचयपत्र) जारी भएका व्यक्ति, प्रचलित कानुनबमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चयकोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले फण्डको इकाई खरिद गर्न आवेदन दिन सक्ने व्यवस्था रहेको छ । लगानीकर्ताहरुले कसरी पाउँछन् लाभांश ? यस योजना अन्तर्गत लगानी गर्ने लगानीकर्ताहरुले इकाईको अंकित मूल्यमा प्रत्येक आर्थिक वर्षको अन्तमा लगानी गरेको आधारमा योजनाले कमाएको खुद मुनाफा अनुपातमा लाभांश पाउने छन् । यसरी लाभांश दिँदा योजनालाई आफ्नो लगानी वापत प्राप्त हुने  पुँजीगत मुनाफा, व्याज, लाभांश, सेयर प्रत्याभूति कमिशन वा सम्पत्तिको मूल्य वृद्धि वा अन्य वित्तीय कारोबारबाट भएको आम्दानीबाट दिइनेछ । प्रत्येक आर्थिक वर्षमा योजनाले खुद मुनाफाबाट लाभांश दिने निर्णय गर्नेछ । खुद मुनाफाबाट लाभांश कट्टा गरी बाँकी रहेको रकम संचित मुनाफा रहने छ । योजनाको कार्य प्रगतिका आधारमा आगामी वर्षहरुमा अझ बढी लाभांश प्रदान गर्न सकिने छ । कुनै वर्ष योजनाको आम्दानीले नखामेमा योजनाको संचित मुनाफाबाट लाभांश दिन सकिनेछ तथापि योजनाले हरेक वर्ष निश्चित मुनाफा दिने सुनिश्चितता भने रहँदैन । को-को छन् कोष सुपरिवेक्षकमा ? फण्डको कोष सुपरिवेक्षकमा बिमलप्रसाद कोईराला, शम्भुराम सिम्खडा, दुर्गेशमान सिंह, जितेन्द्र बहादुर राजभण्डारी र राजु नेपाल गरी ५ जना रहेका छन् । जसमध्ये अर्थशास्त्रमा पीएचडी गरेका बिमलप्रसाद कोईराला हाल स्वतन्त्र परामर्शदाता हुन् । उनीसँग ३१ वर्षभन्दा बढीको नेपाल सरकारको विभिन्न प्रशासकीय क्षेत्र तथा उद्योग, अर्थशास्त्र तथा अन्तराष्ट्रिय वित्तीय एवं विकासको अनुभव रहेको छ । इन्टरनेशनल रिलेशनमा पीएचडी गरेका शम्भुराम सिम्खडासँग राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुमा ३० वर्षभन्दा बढीको कार्य अनुभव रहेको छ । उनी हाल काठमाडौंको चिरनमिलन वल्र्डपिस क्याम्पसका संस्थापक हुन् । दुर्गेश मान सिंह आर्थिक तथा राजनैतिक क्षेत्रका विज्ञ हुन् । अर्थशास्त्रमा पीएचडी गरेका सिंह हाल चितवनका गुञ्जमान सिंह हस्पिटलका अध्यक्ष हुन् । एफसीए चार्टर्ड एकाउण्टेन्ट जितेन्द्र बहादुर राजभण्डारीसँग ३९ वर्षभन्दा बढीको व्यवसायिक अनुभव रहेको छ । उनी हाल जे.बि.राजभण्डारी एण्ड डिविन्स चार्टर्ड एकाउण्टेन्टसका प्रमुख पार्टनर पनि हुन् । त्यस्तै, राजु नेपाल व्यवस्थापन, आर्थिक तथा राजनीतिक परामर्श सम्बन्धी क्षेत्रका विज्ञ हुन् । उनीसँग २३ वर्षभन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव रहेको छ ।

चन्द्रागिरी हिल्स १८ करोड बढी नोक्सानीमा, आम्दानी बढाउन यस्तो छ कम्पनीको रणनीति

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले चैत मसान्तसम्ममा १८ करोड ११ लाख रुपैयाँ बराबरको खुद नोक्सानीमा रहेकाे छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले १५ करोड ९३ लाख रुपैयाँ बढीको नोक्सानी व्यहोरेको छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो ९ महिनामा २ करोड १८ लाख रुपैयाँ मात्र नोक्सानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २३ करोड ७९ लाख रुपैयाँ घटेको छ भने अन्य आम्दानी २१ करोड २७ लाख रुपैयाँले घटेको छ । त्यस्तै, कम्पनीको कूल खर्च ५ करोड ३८ रुपैयाँँ बराबरको रकम ऋणात्मक रहेको छ । कम्पनीको गत आवको चैत मसान्तसम्ममा १४ करोड रुपैयाँ बढी रहेको कम्पनीको सञ्चालन मुलना घटेर अहिले २ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ । हाल १ अर्ब ५३ करोड रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ३२ करोड ८ लाख रूपैयाँले ऋणात्मक रहेको छ । त्यस्तै, कम्पनीको वार्षिक प्रतिसेयर अम्दानी घटेर ११.८१ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ घटेर ७९.०९ रुपैयाँमा झरेको छ । हालै आईपीओ जारी गरी दोश्रो बजारमा प्रवेश गरेको कम्पनीको कूल ४४ दिन कारोबार भएको छ । यो अवधिमा कम्पनीको ८ लाख ८३ हजार २५१ कित्ता सेयर ५१ हजार ९६५ पटकमा किनबेच भएको हो । त्यस्तै, यो अवधिमा संस्थाको न्यूनतम मूल्य १५९ रुपैयाँ र अधिकतम मूल्य २ हजार ८ सय रुपैयाँमा पुगेको छ । यस्तो छ कम्पनीको रणनीति कोरोना भाइरस संक्रमणको यस प्रतिकूल परिस्थितिमा कम्पनीले व्यवसायिक गतिविधिमा वृद्धि गर्न विभिन्न समस्या तथा चुनौती सामाना गर्नुपरेको अवस्था रहेको कम्पनीले जनाएको छ । यो अवस्थामा पनि भ्रमणमा आउने तथा रिर्सोटमा बस्न आउने पर्यटकलाई प्रदान गर्ने गुणस्तरीय सेवा तथा अपनाउनुपर्ने सुरक्षा मापदण्डमा स्तरोन्नति, संरचनाका सेवा तथा सुविधा सम्बन्धी भौतिक पूर्वाधारको स्तर वृद्धि गर्ने तथा व्यवसायिक कार्यकुशलतालाई पूर्ण क्षमतामा प्रयोग गर्ने कम्पनीको याेजना रहेको छ । कम्पनीको सञ्चालन न्युनतम खर्चमा गर्ने, कम्पनी सञ्चालनार्थ सम्बन्धित खर्चको मितव्ययीता सहित अन्य अनावश्यक खर्चहरुलाई समेत कटौती गर्दै कम्पनीलाई प्रतिकूल परिस्थितिमा पनि अनुकूल वातावरण बनाई आम्दानीमा वृद्धि गर्न बजार व्यवस्थापन गर्नतर्फ उच्च प्राथमिकता दिने कम्पनीको रणनीति रहेको छ ।

रु रु जलविद्युतको आईपीओ बाँडफाँड भोलि, कति बजे ?

काठमाडौं । रु रु जलविद्युत परियोजनाले हालै निष्काशन गरेको आईपीओ भोलि अर्थात बैशाख ३ गते बाँडफाँड हुने भएको छ । उक्त आईपीओ भोलि बिहान ८ः३० बजे नागपोखरीमा रहेको एनएमबी क्यापिटलमा बाँडफाँड हुन लागेको हो । कम्पनीले गत चैत २० गतेदेखि चैत २४ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो । जसमा अन्तिम दिनसम्म १६ लाख ६९ हजार ५६६ जना आवेदकले संस्थाको २ करोड ३३ लाख ७७ हजार २२० कित्ता सेयर माग गरेका थिए । जुन, कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा ६१.६५ गुणा बढी आवेदन हो । कम्पनीले सर्वसाधारणमा ४ लाख ७ हजार ७०६ कित्ता सेयरको बिक्री खुला गरेको थियाे । जसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेकाे हाे । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गरेकाे हाे । संस्थाले स्थानियमा भने अंकित मूल्य १०० रुपैयाँमै सेयर बिक्री गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड ६१ लाख रुपैयाँ रहेको छ । आईपीओ निष्काशत तथा बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ४० करोड ७७ लाख रुपैयाँ नाघ्ने छ ।