निफ्राको सञ्चालकमा शर्मा नियुक्त, यस्तो बन्यो सञ्चालक समिति

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा धनिराम शर्मा नियुक्त भएका छन् । अर्थ मन्त्रालयको तर्फबाट मनोनित भएका सञ्चालक शर्माले असार २७ गतेदेखि नै आफ्नो जिुम्मेवारी सम्हालेका छन् । संचालक शर्माले बैंक सञ्चालक समितिमा रहेर आफ्नो जिम्मेवारी सम्हालेका छन् । यससअघि उक्त पदमा श्रीकृष्ण नेपाल रहेका थिए । अर्थ मन्त्रालयको तर्फबाट मनोनित भई बैंक सञ्चालक समितिमा रहेका सञ्चालक नेपालको पदावधि सकिएसँगै मन्त्रालयले शर्मालाई मनोनित गरेको हो । यससँगै, हाल निफ्राको सञ्चालक समितिमा ४ जना मात्रै रहेका छन् । जसको नेतृत्व अध्यक्ष अनुज अग्रवालले गरेका छन् । उनी विशाल ग्रपका प्रतिनिधि हुन् । यससँगै, सञ्चालकमा नेपाल सरकारको प्रतिनिधि धनिराम शर्मा, आईएमईका प्रतिनिधि चन्द्रप्रसाद ढकाल र इमर्जिङ्ग नेपालका प्रतिनिधि लालमणी जोशी रहेका छन् ।

अब प्रदेशस्तरमा पनि सेयर ब्रोकर, वाणिज्य र विकास बैंकले पनि लाइसेन्स पाउने

काठमाडौं । धितोपत्र बोर्डले प्रदेशस्तरमा पनि सेयर ब्रोकरको लाइसेन्स दिने भएको छ । यसअघि केन्द्रीयस्तरमा मात्रै ब्रोकरको लाइसेन्स दिदै आएको बोर्डले प्रादेशिक ब्रोकर बनाउने भएको हो । देशका ग्रामीण क्षेत्रमा पनि सेयर बजारप्रति आकर्षित हुनेहरुको संख्या बढेका कारण प्रदेशस्तरीय ब्रोकरको लाइसेन्स दिने सोच बनाइएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । ‘संघीय ब्रोकर अहिले नै छन्, अब प्रदेशस्तरमा पनि सेयर ब्रोकरको आवश्यकता देखिएको छ, यसको अध्ययन गरी नियमावली बनाउनको लागि समिति गठन गरेका छौं, समितिले नियमावलीको मस्यौदा बनाएर पेश गर्छ, त्यो नियमावली स्वीकृत भएपछि सोही अनुसार हुन्छ, प्रदेशस्तरमा पनि ब्रोकरको लाइसेन्स दिने हाम्रो सोच छ,’ अध्यक्ष ढुंगानाले विकासन्युजसँग भने । अहिलेसम्म संघीयस्तरका ब्रोकर छन् । अहिले ५० वटा ब्रोकर संचालनमा छन् । यी ब्रोकरले काठमाडौं उपत्यका बाहिर ‘रिमोर्ट वर्क स्टेसन (आरडब्लुएस) स्थापना गरी काठमाडौं उपत्यका बाहिर सेवा प्रदान गरिरहेका छन् । बोर्डले अब प्रदेशस्तरको लागि बेग्लै ब्रोकर बनाउन लागेको हो । बैंकले पनि ब्रोकर लाइसेन्स पाउने बोर्डले वाणिज्य बैंक र विकास बैंकका सहायक कम्पनीहरुलाई पनि सेयर ब्रोकरको लाइसेन्स दिने तयारी गरेको छ । बैंकलाई सहायक कम्पनीमार्फत सेयर ब्रोकरको काम गर्न दिनुपर्ने आवाज उठिरहेको समयमा बोर्डले विकास बैंकका सहायक कम्पनीलाई पनि लाइसेन्स दिने सोच बनाएको हो । ‘सहायक कम्पनी मार्फत बैंकहरुलाई सेयर ब्रोकरको काम दिनुपर्छ भनेर धेरै अघिदेखि आवाज उठिरहेको छ, सहायक कम्पनी खोलेर बैंकहरुले सेयर ब्रोकरको काम गर्ने लाइसेन्स दिने हाम्रो सोच छ, वाणिज्य बैंकले पाउँछन् भने विकास बैंकलाई किन रोक्नु र, उनीहरुलाई पनि दिनुपर्छ भन्ने लागेको छ,’ अध्यक्ष ढुंगानाले भने । पब्लिक कम्पनी हुनुपर्ने सेयर ब्रोकरको काम गर्ने कम्पनी पब्लिक कम्पनी हुनुपर्ने शर्त बोर्डले राख्न लागेको छ । अहिलेसम्म पब्लिक वा प्राइभेट जस्तो कम्पनी भए पनि सेयर ब्रोकरको काम गर्न पाइने व्यवस्था थियो । अबदेखि भने पब्लिक कम्पनी नै भए हुने व्यवस्था गर्न लागिएको छ । कस्तो पब्लिक ? अहिलेको कम्पनी ऐनले ९९ जनासम्म सेयरधनी भएको प्राइभेट कम्पनी स्थापना गर्न पाइन्छ भने ८ जना सेयरधनी भएको पब्लिक कम्पनी पनि हुन्छ । अहिले सेयर ब्रोकरको काम गरिरहेका केही कम्पनी पब्लिक छन् भने केही प्राइभेट कम्पनी छन् । यसअघि ब्रोकरको लाइसेन्स प्रदान गर्दा पब्लिक कम्पनीलाई ५ अंक बढी दिइएको थियो । तर, ती पब्लिक कम्पनी पनि नाम मात्रका छन् । ‘अहिलेसम्म कम्पनी भए हुन्छ भन्ने व्यवस्था छ, यसमा परिवर्तन गरेर पब्लिक कम्पनी हुनुपर्छ भन्ने व्यवस्था गर्दैछौं, ती कम्पनीले चाहेमा सर्वसाधारणलाई आईपीओ पनि जारी गर्न पाउने छन्,’ कस्तो पब्लिक कम्पनी बनाउन चाहनु भएको भन्ने प्रश्नमा बोर्डका अध्यक्ष ढुंगानाले भने ।

मनकामना स्मार्टको आईपीओ बाँडफाँडः भाग्यमानीले पाए ११ कित्ता, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँड भएको छ । उक्त आईपीओ बाँडफाँड आज (असार २८ गते) बिहान साढे ९ बजे सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा भएको हो । क्यापिटलले सेयर निष्काशन बन्द गरेको साता दिनमै सेयर बाँडफाँड गरेको हो । संस्थाले गत असार १७ गतेदेखि २१ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । आईपीओमा कुल १९ लाख ५४ हजार २७४ आवेदकले २ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये २ हजार ७५३ आवेदकको आवेदन रद्द भएको छ भने बाँकी आवेदन भने रितपूर्वक परेका क्यापिटलले जनाएकाे छ । संस्थाको सेयरमा मागभन्दा बढी आवेदन परेको थियो । यसससँगै क्यापिटलले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट बाँडफाँड गरेको हो । यससँगै रितपूर्वक आवेदन दिनेमध्ये ३६ हजार ३४९ जनाले १०/१० कित्ताको दरले सेयर पाएका छन् । त्यससँगै १० कित्ताभन्दा बढी माग गर्नेमध्ये २ जनाले सीडीएससीकोबाँकी रहेको २ कित्ता सेयर १/१ कित्ता गरी कूल ११ कित्ता सेयर हात पारेका छन् । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण सेयर बिक्री खुला गरेकाे हो । संस्थाले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत सेयर निष्काशन गरेकाे हाे । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिएकाे हाे । यससँगै उक्त आईपीओ रिजल्ट बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट, मेरो सेयर तथा सीडीएससीको आईपीओ रिजल्ट वेबसाइट मार्फत हेर्न सकिनेछ ।