सिवाईसी नेपाल लघुवित्तले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । संस्थाले सर्वसाधारणलाई प्रतिकित्ता अंकित मूल्य एक सय रुपैयाँ दरको ३ लाख ९५ हजार ३५५.९७०४ कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । उक्त सेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा लघुवित्त र क्यापिटलबीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा लघुवित्तका तर्फबाट प्रबन्ध सञ्चालक डोलिन्द्र प्रसाद शर्मा र क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरेका छन् । सिवाईसी नेपाल लघुवित्त नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त ‘घ’ वर्गको राष्ट्रिय स्तरको संस्था हो । बाग्लुङ जिल्लाको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेको संस्थाले हालै मात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको छ । त्यसपश्चात वित्तीय संस्थाको अधिकृत पुँजी २० करोडर जारी पुँजी १२ करोड १६ लाख रुपैयाँ रहेको छ । संस्थापक समूहको ६७.५० प्रतिशत सेयर रहेको यस संस्थामा १ संस्थासहित ९९ जना संस्थापक सेयरधनीहरुबाट ८ करोड २१ लाख रुपैयाँ बराबरबको सेयर पुँजी चुक्ता भैसकेको छ । वित्तीय संस्थाले हाल ३७ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रियस्तरमा ४७ हजारभन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिँदै आईरहेको छ । विगत २१ वर्षदेखि नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थकर्ताको कारोबार गर्ने इजाजत लिई लघुवित्तीय कारोबार गर्दै आईरहेको चारतारे युवा क्लब, नेपालले नेपाल राष्ट्र बैंकबाट सिवाईसी नेपाल लघुवित्तको नाममा २०७५ साल माघ २८ गते इजाजत प्राप्त गरेको हो । र, त्यसपछि २०७५ चैत १ गतेका दिनदेखि सम्पूर्ण वित्तीय कारोबारहरु यथावत रुपमा सञ्चालन गर्दै आएको छ ।
५ कम्पनीको धितोपत्र आवेदन खुला, थप १६ अर्ब रुपैयाँको आउँदै
काठमाडौं । पछिल्लो समय नेपाली पुँजी बजारमा विभिन्न प्रकारका धितोपत्र आउने क्रम जारी रहेको छ । बजारमा वाणिज्य बैंकदेखि म्युचुअल फण्डसम्मले धमाधम आईपीओ, लिलामी सेयर, म्युचुअल फण्ड, ऋणपत्र जस्ता विभिन्न किसिमका धितोपत्र जारी गरिरहेका छन् । हालै मात्र विभिन्न ५ कम्पनीले धितोपत्रको निष्काशन तथा बिक्री खुला गरिरहेका छन् । त्यस्तै, केही कम्पनीहरु भने धितोपत्र जारी गर्ने सबै प्रकृया सम्पन्न गरिसकेका छन् । र, उनीहरु मिति तय गरेर धितोपत्र निष्काशन गर्न तम्तयार भएर बसेका छन् । हाल धितोपत्र निष्काशन खुला गरेका कम्पनीमा दुई इन्स्योरेन्स, एक विकास बैंक, एक लघुवित्त र एक म्युचुअल फण्ड रहेका छन् । जसमध्ये युनियन लाइफ इन्स्योरेन्सले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरिरहेको छ । त्यस्तै, स्वावलम्बन लघुवित्त र प्रिमियर इन्स्योरेन्सले लिलामीमा सेयर बिक्री गरिरहेका छन् । त्यसैगरी, ज्योति विकास बैंकले ऋणपत्र र आरविवि मर्चेन्ट बैंकिङ्गले म्युचुअल फण्ड जारी गरिरहेको छ । यससँगै लिलामीमा सेयर बिक्री गर्ने बाहेक हाल कूल २ अर्ब २४ करोड ५० लाख रुपैयाँ बराबरको धितोपत्र बिक्री खुला भईरहेको छ । यूनियन लाइफ इन्स्योरेन्स यूनियन लाइफ इन्स्योरेन्सले आज (असार २४ गते) बाट ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेको छ । जसमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले छिटोमा असार २८ गतेसम्ममा आवेदन दिइसक्नु पर्ने छ । स्वावलम्बन लघुवित्त स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले असार १८ गतेदेखि सेयर लिलामीमा राखेको छ । नबिल बैंकको स्वामित्वमा रहेको संस्थाले संस्थापक समूहको कूल १ लाख ८९ हजार ६५३ कित्ता सेयर लिलामीमा राखेको हो । उक्त सेयर न्यूनतम मूल्य ७ सय रुपैयाँका दरले बोलकबोल माध्यमबाट बिक्री खुला गरिएको हो । यससँगै इच्छुकले असार २९ गतेसम्ममा न्यूनतम ७ सय रुपैयाँ वा सोभन्दा बढी मूल्यमा खरिद गर्न सक्नेछन् । प्रिमियर इन्स्योरेन्स प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले पनि संस्थापक समूहको ५ लाख ४८ हजार २५ कित्ता सेयर लिलामी राखेको छ । इन्स्योरेन्सले उक्त सेयर असार १६ गतेदेखि प्रतिकित्ता न्यूनतम ६ सय रुपैयाँमा बिक्रीमा राखेको हो । यससँगै खरिद गर्न चाहनले असार २५ गतेभित्र बोलपत्र आवेदन पेश गर्नु पर्ने हुन्छ । आरविवि म्युचुअल फण्ड १ राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्गले आरविवि म्युचुअल फण्ड अन्तर्गत आरविवि म्युचुअल फण्ड १ सञ्चालमा ल्याएको छ । मर्चेन्टले असार २३ गतेदेखि प्रति इकाई १० रुपैयाँ रहेको १० करोड इकाई निष्काशन गरिरहेको छ । यससँगै इच्छुकले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सक्नेछन् । मर्चेन्टले छिटोमा असार २७ गतेसम्म र ढिलोमा साउन ६ गतेसम्म बिक्री गर्ने जानकारी गराएको छ । ज्योति विकास बैंकको ऋणपत्र ज्योति विकास बैंकले असार २० गतेदेखि एक अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरिरहेको छ । बैंकले असार २० गतेदेखि १० वर्ष अवधिको उक्त ऋणपत्र निष्काशन तथा बिक्रीमा राखेको हो । जसको वार्षिक ९ प्रतिशत ब्याजदर रहेको छ । यससँगै इच्छुकले साउन ३ गतेसम्म न्यूनतम २६ कित्तादेखि अधिकतम ३० लाख कित्तासम्मको लागि उक्त ऋणपत्रमा आवेदन दिन सक्नेछन् । ४ कम्पनीले धितोपत्र जारी गर्दै त्यस्तै, बजारमा विभिन्न ४ वटा कम्पनीको धितोपत्र आउँदै छन् । उनीहरुले कूल ११ करोड ६१ लाख ३५ हजार ५५८ कित्ता धितोपत्र जारी गर्दै छन् । जसमध्ये दुई कम्पनीले ऋणपत्र, एकले हकप्रद र एकले लिलामीमा सेयर जारी गर्दै छन् । ऋणपत्र जारी गर्नेमा दुबै वाणिज्य बैंक रहेका छन् । हकप्रद जारी गर्नेमा हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) रहेको छ । जसले हालसम्मकै उच्च रकमको हकप्रद जारी गर्न लागेको हो । त्यस्तै, समृद्धि फाइनान्सले भने लिलामीमा सेयर बिक्री गर्न लागेको हो । एचआईडीसीएल हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले आगामी साउन ५ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले सो दिनदेखि एक सय अंकित दरका ११ करोड कित्ता अर्थात ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । यससँगै योग्य लगानीकर्ताले साउन ५ गतेदेखि साउन २५ गतेभित्रमा कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । गत जेठ २७ गतेसम्म कायम सेयरधनीहरु कम्पनीको हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन् । लक्ष्मी बैंक लक्ष्मी बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्रको बिक्री खुला गर्दैछ । बैंकले आगामी असार २८ गतेदेखि उक्त ऋणपत्र खुला गर्न लागेको हो । जसमा इच्छुकले छिटोमा असार ३१ गते र ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । १० वर्षे अवधिको यस ऋणपत्रमा ८.५ प्रतिशत ब्याजदर पाइने छ । माछापुच्छ्रे बैंक माछापुच्छ्रे बैंकले आगामी असार ३१ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले सो दिन ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामको एक हजार रुपैयाँ दरको ३० लाख थान ऋणपत्रको निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । बैंकको यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ । जसमा वार्षिक ८.५ प्रतिशतका दरले ब्याज भुक्तानी गरिने छ बैंकले जनाएको छ । ऋणपत्र किन्न चाहने इच्छुकले असार ३१ गतेदेखि छिटोमा साउन ४ गतेसम्म र ढिलोमा साउन १७ गतेसम्म खरिद गर्न सक्नेछन् । सर्वसाधारणहरुले न्युनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मको ऋणपत्र खरिद गर्न सक्ने छन् । समृद्धि फाइनान्स समृद्धि फाइनान्स कम्पनीले आगामी असार २९ गते मंगलबारदेखि ११ लाख ३५ हजार ५५८ कित्ता सेयर लिलामीमा राख्दै छ । कम्पनीले बिक्री नभएको सो मात्राको सेयर आगामी साउन ५ गतेसम्म बिक्री खुला गर्ने भएको छ । कम्पनीले गत असार ३ गतेदेखि असार १० गतेसम्म हकप्रद सेयर बिक्रीमा राखेको थियो । जसको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यससँगै इच्छुकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ ।
बोटलर्स नेपाल (तराई) भन्छ: ५ वर्षसम्म पनि लाभांश लिन आएनन् लगानीकर्ता
काठमाडौं । बोटलर्स नेपाल (तराई)का सेयरधनीले ५ वर्ष पुग्दा पनि लाभांश नबुझेका छैनन् । केही सेयरधनीले हालसम्म पनि आर्थिक वर्ष २०७१/७२ सालको लाभांश लिन नगएका कम्पनीले बताएको हो । कम्पनीका अनुसार गत २०७२ साल पुस २८ गते सम्पन्न कम्पनीको आर्थिक वर्ष २०७१/७२ को पारित लाभांश सेयरधनीले लिएका छैनन् । उक्त लाभांश सम्बन्धित सेयरधनीले वा निजको हकवालाले ५ वर्ष पुगिसक्दा पनि हालसम्म लिन नआएको तथा दावी समेत नपरेको कम्पनीको भनाई छ । यससँगै उक्त लाभांश भुक्तानी गर्न कम्पनीले सेयरधनीलाई आग्रह गरेको छ । जसको लागि लगानीकर्ताले कम्पनीको सेयर रजिष्ट्रारको कार्यालय काठमाडौंको नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ्गमा सम्पर्क गर्न सक्नेछन् । उनीहरुले आफ्नो सेयर प्रमाणपत्रका साथ परिचय पत्र लिई आजको मितिबाट एक महिनाभित्रमा सम्पर्क गर्नुपर्ने हुन्छ । यदि सो अवधिभित्र लाभांश लिन नगएमा उक्त लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जानकारी गराएको छ । सो कोष कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापित भएको हो ।