नेपालको पुँजीबजार बैंक तथा वित्तीय संस्थाको मात्रै ऐना भएको छ- निरज गिरी

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले नेपालको पुँजीबजार बैंक तथा वित्तीय संस्थाको मात्रै ऐना भएको बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले गरेको छलफल कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । उनले बजारमा रियल सेक्टरभन्दा बैंक तथा वित्तीय संस्थाको बढी बाहुल्यता भएकोले नेपालको पुँजीबजार बैंक तथा वित्तीय संस्थाको मात्रै ऐना भएको बताएका हुन् । पुँजीबजार बैंक तथा वित्तीय संस्थाको ऐना भएकोले नियामक निकाय नेपाल राष्ट्र बैंक तथा बीमा समितिले केहि नीति परिवर्तन गर्नासाथ बजारमा हलचल मच्चिने गरेको उनले बताए । ‘नेपाल राष्ट्र बैंक तथा बीमा समितिले पोलिसी परिवर्तन गर्नासाथ बजारमा हाइक्राई हुन थाल्छ । त्यसैले अन्य रियल सेक्टरका कम्पनी बजारमा प्रवेश भए भने बैंकको पोलिसी चेञ्ज हुँदा बजारमा हाइक्राई हुँदैन थियो होला ।’, स्पष्ट पार्दै उनले भने। साथै, रियल सेक्टरलाई बजारमा प्रवेश गराएपछि मात्र नेपालको पुँजीबजारलाई अर्थतन्त्रको ऐना भन्न मिल्ने उनको भनाई छ । ‘हाम्रो पुँजीबजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता छ । हामीले रियल सेक्टरको कम्पनीलाई अझैपनि बजारमा आकर्षित गराउन सकेका छैनौं । अन्तर्राष्ट्रिय पुँजीबजारको संरचना हेर्ने हो भने त्यहाँ सूचीकृत कम्पनीमा बैंक तथा वित्तीय संस्था कम हुन्छ र रियल सेक्टरका कम्पनीहरु बढी हुन्छन् । तब मात्रै हामीले अर्थतन्त्रको ऐना भन्न सक्छौं ।’, गिरीले भने । त्यसैले नेपालमा बुक बिल्डिङ् विधि लागू गर्नुको मूख्य उद्देश्य नै रियल सेक्टर कम्पनीलाई बजारमा प्रवेश गराउनु रहेको कार्यकारी निर्देशक गिरीले बताए । साथै, उनले राम्रो कम्पनीलाई बजारमा अभिप्रेरित गर्न नयाँ विधि ल्याइएको बताए । राम्रो कम्पनी भन्नाले तीन आर्थिक वर्षदेखि लगातार नाफामा भएको, प्रतिसेयर नेटवर्थ चुक्ता पुँजीको कम्तिमा १५० प्रतिशत र क्रेडिट रेटिङ औषतभन्दा माथिल्लो अर्थात रिक्स कम भएको हुनुपर्छ ।

नागरिक स्टक डिलरले एनटीसीसहित ३९ कम्पनीको सेयर कारोबार गर्न पाउने

काठमाडौं । नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरले ३९ कम्पनीको सेयर कारोबार गर्न पाउने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले आज(चैत १० गते) स्टक डिलरको लागि कारोबार योग्य ३९ कम्पनीको नामावली सार्वजनिक गरेको हो । उक्त नामावली अनुसार डिलरले नेप्सेमा सूचीकृत सबै वाणिज्य बैंकसहित ३९ कम्पनीको सेयर किनबेच गर्न पाउने भएको छ । नेप्सेले छनोट गरेको कम्पनीमा सूचीकृत भएका सबै बैंक अर्थात २६ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, ४ वटा लघुवित्त, अन्य समूहको १ र होटल एण्ड पर्यटन समूहको १ गरी ३९ वटा योग्य कम्पनी रहेका छन् । विकास बैंक समूह अन्तर्गत एक्सेल डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक छनोट भएका छन् । त्यसैगरी माइक्रोफाइनान्स समूहका ४ कम्पनीमध्ये छिमेक लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त वित्तीय संस्था, आरएसडीसी लघुवित्त संस्था र साना किसान विकास लघुवित्त वित्तीय संस्था परेका छन् । त्यसैगरी, अन्य समूहको नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) र होटल एण्ड पर्यटन समूहको तारागाउँ रिजेन्सी होटल कम्पनी छनोट भएका छन् । पुँजी बजारको विकासमा गतिशिलता ल्याउने उद्देश्यले स्थापित भएको उक्त स्टक डिलरले पुँजी बजारमा संस्थागत लगानी बढाउनको लागि भित्रिन लागेकाे हाे । यससँगै नेपालको पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा काम गर्न सक्ने छ । कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ हुनेछ भने चुक्ता पुँजी ५ अर्ब रुपैयाँ हुनेछ । ४ वटा कम्पनीको लगानीमा खोलिएको उक्त कम्पनीमा सबैभन्दा बढी लगानी सीआईटीको रहेको छ । जसको ५१ प्रतिशत सेयर रहेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी(एनटीसी) को ९ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर रहेको कोषले जानकारी दिएको छ । यस्तै, कम्पनीले बढीमा १० अर्ब रुपैयाँसम्म बजारबाट उठाउनेछ । स्टक डिलर कम्पनीले सेयर बजारमा करिब १५ अर्ब रुपैयाँ लगानी गर्नेछ । आफूसँग भएको ५ अर्ब रुपैयाँ र बजारबाट बास्केट फण्डको रुपमा उठाएको १० अर्ब रुपैयाँ लगानी गरेर सेयर बजारलाई स्थायित्व प्रदान गर्ने कोषले बताएकाे छ । कुन कुन हुन् याेग्य कम्पनी ? [pdf id=265567]

अब खल्तीबाटै मेरो सेयर तथा डिम्याट खाता नविकरण गर्न सकिने, शुल्क नलाग्ने

काठमाडाैं । अब मेराे सेयर तथा डिम्याट खाता नविकरण खल्ती डिजिटल वालेटबाटै गर्न सकिने भएकाे छ । साे सम्बन्धी खल्ती (स्प्यारो पे प्रा. लि) र सिडिएस एण्ड क्लियरिंग (सीडीएससी) बीच सम्झाैता भएकाे छ । यससँगै मेराे सेयर तथा ७६ वटा डिम्याट खाता संचालक कम्पनी (डिपी) को डिम्याट एकाउन्ट नवीकरण शुल्क खल्ती डिजीटल वालेटबाटै भुक्तानी गर्न सकिने भएकाे छ । साथै, उक्त खाता नविकरण गर्दा कुनै पनि शुल्क नलाग्ने भएकाे छ । सीडीएसका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलबीच सम्झौता भएको हो । यस अन्तर्गत अब मेराे सेयर र डिम्याट खाताकाे नवीकरण खल्ती डिजिटल वालेटबाटै गर्न सकिने भएकाे छ । डिम्याट खाताधनीले मेरो सेयरको हाेम स्क्रिनमा लग-इन गरी त्यहाँ रहेकाे प्राेफाइलमा खाता नवीकरण गर्ने सुविधा उपलब्ध गरिएको छ । सेयर डिम्याट खाता र मेरो सेयर शुल्क तिरेर नवीकरण गर्नुपर्ने नियम रहेको छ । समयमा शुल्क नतिरेको खण्डमा मेराे सेयर खाता निष्क्रिय हुने गरेको छ । खाता निष्क्रिय भएको खण्डमा डिम्याट खातामा भएको सेयर स्थानान्तरण गर्न सकिँदैन । साथै विभिन्न कम्पनीले निष्काशन गर्ने प्राथमिक सेयरहरु (आईपीओ) मा पनि आवेदन गर्न सकिँदैन । ‘अब ३० लाख भन्दा बढी खाताधनीहरूले खल्ती एप डाउनलोड गरी अनलाइन डिम्याट र मेरो सेयर नवीकरण गर्न मिल्ने भएको छ। यसले थप जनतालाई लगानी गर्न प्रोत्साहन गर्ने कुरामा म विश्वस्त छु। साथै यसले डिजिटल नेपालको हाम्रो अभियानमा निकै ठूलाे योगदान पुर्याउने पनि विश्वास राख्दछु।’, खल्तीका सहायक प्रबन्धक भूर्तेलले बताए । लगानीकर्ताहरू यसअघि डिम्याट खाता संचालक मेराे सेयर र कम्पनी (डिपी) को कार्यालय धाएर डिम्याट खाताकाे नवीकरण शुल्क तिर्दै आएका थिए । खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १७ लाखभन्दा बढी छन् । कसरी डाउनलोड गर्ने ‘खल्ती’ एप ? ‘खल्ती’ एप लिंकबाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ । माेबाइलमा डाउनलाेड गर्न गुगल प्ले स्टाेर वा एप्पल स्टाेरमा याे एप उपलब्ध छ ।