निषेधाज्ञामा ‘टी प्लस वान’ भित्रै रकम तथा सेयर भुक्तानी गर्न ब्रोकरको आग्रह

काठमाडौं । धितोपत्र व्यवसायीको छाता संगठन स्टक ब्रोकरर्स एशोसियसन अफ नेपालले लगानीकर्तालाई ‘टी प्लस वान’ अर्थात कारोबार भएको मितिको भोलिपल्टै रकम तथा सेयर भुक्तानी गर्न आग्रह गरेको छ । एशोसियसनले निषेधज्ञाको असहज परिस्थितिमा दोश्रो बजार कारोबार निरन्तरतारको लागि लगानीकर्ता समक्ष उक्त आग्रह गरेको हो । संघले खरिद रकम तथा बिक्री गरिएको धितोपत्र टी प्लस वान भित्र हस्तान्तरण गर्न सक्ने यकिन गरेर मात्रै कारोबार गर्न आग्रह गरेको हो । बैशाख १६ गते हुने निषेधाज्ञा अवधिमा लगानीकर्ताले चेक मार्फत खरिद रकम तथा भौतिक निर्देशन पूर्जी (डीआईएस) मार्फत बिक्री गरिएको ब्रोकरलाई उपलब्ध गराउन असहज हुने भएकाले बोर्डले लगानीकर्तालाई सो अनुरोध गरेको हो । त्यसैले, त्यस्ता माध्यमबाट मात्र रकम तथा धितोपत्र भुक्तानी गर्दै कारोबार गरिरहेका लगानीकर्ताहरुले विद्युतिय माध्यमबाट रकम तथा मेरो सेयर (ईडीआईएस) मार्फत सेयर भुक्तानी गर्ने व्यवस्था मिलाउनु पर्ने भएको छ । त्यस्तै, कारोबारको राफसाफ पश्चात लगानीकर्तालाई गर्नुपर्ने धितोपत्र तथा रकमको भुक्तानी समयमै गराउन ब्रोकर तयार रहेको संघले जनाएको छ । साथै, बैंक खाता अध्यावधिक नभएको, समयमै खरिद रकम भुक्तानी नगरेको, प्रणालीमा आउन सक्ने अनपेक्षित समस्या तथा कर्मचारी संक्रमित भई निश्चित क्षमतामा मात्र कार्यालय सञ्चालन गर्नु पर्ने बाहेका अवस्थामा ब्रोकरले समयमै बिक्री रकम तथा खरिद सेयर हस्तान्तरण गर्ने जानकारी गराएको छ । ब्रोकरले नेप्सेको निर्देशन पालना गर्दै विद्युतिय माध्यमको प्रयोग मार्फत सेयर कारोबार तथा राफसाफ निरन्तर गर्न तथा गराउने भएको छ ।

गोर्खाज फाइनान्सको नाफा साढे २६६ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ बढी

काठमाडौं । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफा २६६.६७ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ । गत वर्षको चैत मसान्तमा ७ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको संस्थाले चालु आवको सोहि अवधिमा २७ करोड ३७ लाख रुपैयाँ कमाएको छ । समिक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी भने घटेको छ । ब्याज आम्दानी घटेपनि अन्य आम्दानी बढ्दा खुद नाफा बढेको हो । गत आवको चैत मसान्तसम्ममा २५ करोड ३१ लाख रुपैयाँ खुद आम्दानी गरेको संस्थाले चालु आवको सो अवधिमा २२ करोड ७९ लाख रुपैयाँ मात्रै त्यस्तो आम्दानी गरेको छ । यस अवधिमा फाइनान्सले ५८ करोड ११ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी र ३९ करोड १० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । जुन गत वर्षको तुलनामा बढी हो । चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको फाईनान्सको जगेडा कोषमा ७८ करोड ५१ लाख रुपैयाँ छ । समिक्षा अवधिमा फाइनान्सले ७ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको यसै अवधिमा फाइनान्सले ६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । फाइनान्सको खराब कर्जा ४.८७ प्रतिशतबाट घटेर ३.७४ प्रतिशतमा झरेको छ । सीडी रेसियो घटेर ७३.११ प्रतिशतमा झरेको छ । त्यस्तै, बेस रेट र स्प्रेड रेट घटेर क्रमशः ९.५२ प्रतिशत र ४.७५ प्रतिशतमा झरेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी बढेर ४२.०५ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १९५.२७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२.१३ गुणा रहेको छ ।

प्रभु क्यापिटलले एक अर्बको फण्ड जारी गर्ने, लगानीकर्ताले ३ गुणासम्म प्रतिफल पाउने

काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु सेलेक्ट फण्डको प्राथमिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएको छ । बोर्डले बैशाख १३ गते प्रभु सेलेक्ट फण्डको निष्काशनका लागि स्वीकृति दिएको हो । प्रभु सेलेक्ट फण्ड प्रभु क्यापिटलले व्यवस्थापन गर्न लागेको पहिलो सामुहिक लगानी योजना हो । यो योजना १ अर्ब रकम बराबरको रहेको छ जसमा १० करोड युनिट रहनेछन् । कुल १० करोड युनिट मध्ये १ करोड ५ लाख युनिट प्रभु बैंक र प्रभु क्यापिटलले कोषको ट्रष्टि एवं व्यवस्थापकको रुपमा खरिद गर्नेछन् भने बाँकी ८ करोड ५ लाख युनिट सर्वसाधारण तथा संस्थागत लगानीकर्तालाई खरिद गर्न खुला गर्ने तयारी क्यापिटलले गरेको छ । प्रभु क्यापिटलले निष्काशन तथा व्यवस्थापन गर्ने यो योजनाको ट्रष्टिको रुपमा प्रभु बैंक रहेको छ । प्रभु क्यापिटलले प्रभु सेलेक्ट फण्ड नाममा व्यवस्थापन गर्न लागेको यो योजना अहिले सम्म सञ्चालनमा आएका सामुहिक लगानी योजना भन्दा पृथक रहने कम्पनीले जनाएको छ । यसले एक पटकमा बढिमा ३० वटासम्म कम्पनीहरुमा लगानी गरी आफ्नो छुट्टै बेन्चमार्क बनाउनेछ जसलाई नेप्से ३० बेन्चमार्कको रुपमा लिएर पनि लगाीकर्ताले यसमा लगानी गर्न सक्नेछन । ७ वर्षे अवधि रहेको यो सामुहिक लगानी योजना बन्दमुखी योजना हो । यसले सात वर्षको अवधिमा लगानीकर्तालाई करिब ३ गुणासम्म प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको छ । आफुसँग रहेको बचतलाई लगानीमा परिणत गर्दै दीर्घकालमा उच्च प्रतिफल चाहने लगानीकर्ताले ढुक्कसँग यो सामुहिक लगानी योजनामा लगानी गर्न सक्ने क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलले लगानी व्यवस्थापन तथा योजना व्यवस्थापनका लागि नेपाली पुँजी बजारमा उपलब्ध सबैखाले श्रोतहरुको उच्चतम प्रयोग गर्दै आएको छ । हालको अवस्थामा पनि क्यापिटलले विभिन्न श्रोतबाट जुटाएर गएको १ वर्षयता करिब २ अर्ब रुपैयाँ बराबरको लगानी व्यवस्थापन गर्दै आएको छ जसको औषत प्रतिफल निकै आकर्षक रहेको छ जुन नेप्सेको औषत प्रतिफलभन्दा उच्च रहेको छ । त्यसैले क्यापिटलले योजना व्यवस्थापकको रुपमा सञ्चालन गर्न लागेको यो पहिलो योजनामा लगानीकर्तालाई ढुक्क भई लगानी गर्न आग्रह गरेको छ ।