१० अर्ब रुपैयाँको एनआरएन नेपाल डेभलपमेन्ट फण्डले लगानीकर्तालाई कसरी फाइदा दिन्छ ?
काठमाडौं । गैरआवसीय नेपालीबाट नेपालभित्र वैदेशिक लगानी भित्र्याउन खोलिएको फण्ड हो, एनआरएन नेपाल डेभलपमेन्ट फण्ड । जुन गैरआवसीय नेपाल संघले १० अर्ब रुपैयाँको पुँजीमा स्थापना गरेको हो । फण्डले गैरआवसीय नेपालीलाई लक्षित गरेर नेपालको लागि नेपालीबाट माया र सद्भावको रुपमा लगानी भित्र्याउने प्रयास गर्नेछ । र, उक्त लगानी नेपालको पूर्वाधार, उत्पादनशील लगायतका क्षेत्रमा गरिनेछ । सन् २०१८ मै अर्थ मन्त्रालयमा प्रस्तुत भएको यो अवधारणाले २०२१ मा बल्ल मूर्त रुप पाएको फण्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनलराज भट्टराई बताउँछन् । १० अर्ब पुँजी रहेको फण्डमा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ सेयर लगानी हुनेछ । सरकारको ५० करोड रुपैयाँ सेयर लगानी सहित गैरआवासीय नेपाली प्रबर्द्धक रहेको कम्पनीमा ३ अर्ब रुपैयाँको वैदेशिक मुद्रामा लगानीको प्रतिबद्धता प्राप्त भइसकेको छ । र, अझै पनि थप फण्डको लागि कमिटमेन्ट प्राप्त भइरहेको सीईओ भट्टराईले जानकारी दिए । यस्तो छ उद्देश्य नेपालको उद्यम, व्यवसाय र यातायात, पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने नै कम्पनीको मुख्य उद्देश्य रहेको छ । र, नेपाललाई आवश्यक पर्ने परियोजनाहरुमा फण्डले हातेमालो गर्दै अघि बढ्नेछ । ‘हाम्रो उद्देश्य भनेको विकास, पूर्वाधार तथा उत्पादनशील क्षेत्रमा लगानी गर्ने, रोजगारी प्रवद्र्धन गर्ने, गैरआवसीय नेपालीको पुँजी र प्रविधि परिचालन गरेर नेपालको आर्थिक वृद्धिमा सहयोग पुर्याउन हातेमालो गर्ने हो । अहिले नै हामी सबै गर्छौं भन्न सक्दैनौं, तर हातेमालो गर्दै सरकारले प्राथमिकतामा राखेको परियोजनाहरुमा नेपाललाई अति आवश्यक हुने परियोजनाहरु माहातेमालो गर्छौं । जसले समाजको जीवनस्तर उकास्नको लागि सहयोग होस् । र, रोजगारी पनि श्रृजनाहोस्,’ सीईओ भट्टराईले भने । साथै, देशको यातायात, पूर्वाधार, सहरीकरण, उत्पादनशील उद्योग, उर्जा लगायतका क्षेत्रमा लगानी गर्ने फण्डको योजना रहेको छ । ५० अर्ब बढीको फण्ड बनाउने लक्ष्य करिब ३ वर्षपछि मूर्तरुप पाएको यो फण्डले शुरुमा १० अर्ब रुपैयाँ भित्र्याउने भएको छ । र, केही वर्षमा नै लगानीयोग्य रकम ५० अर्ब रुपैयाँभन्दा बढी पुर्याउने संस्थाको लक्ष्य रहेको छ । ‘पहिलो चरणमा १० अर्ब रुपैयाँ भित्र्याउँछौं । त्यसपछि विभिन्न चरणमा लगानी भित्र्याउँदै ठूलो फण्डको रुपमा लैजाने योजना रहेको छ । र, हामी ५० अर्ब रुपैयाँभन्दा माथिको फण्ड बनाउने लक्ष्यका साथ अघि बढ्छौं’, सीईओ भट्टराईले थपे । उनका अनुसार यसले पहिला नेपालको समग्र विकासमा पूर्वाधारदेखि सबै किसिमको विकासमा र उत्पादकत्व वृद्धि गर्नको लागि आवश्यक क्षेत्रहरु पहिचान गर्ने छ । त्यस्तो क्षेत्र पहिचान गरेपछि लगानीको काम अघि बढाउने छ । ठूला सँगसँगै साना लगानीकर्तालाई पनि अवसर यो फण्डले विदेशमा रहेका ठूला लगानीकर्तासँगै साना लगानीकर्तालाई नेपालको विकासमा सहभागी गराई लगानी गर्ने अवसर प्रदान गर्नेछ । ‘फण्डले विदेशमा बसेका नेपालीलाई नेपालको विकासमा सहभागी गर्ने अवसर प्रदान गर्छ । ठूला लगानीकर्ताहरुसँग त पर्याप्त मात्रामा पुँजी हुन्छ, लगानी गरे कै हुन्छन् । तर साना लगानीकर्ताहरु, जसले लगानी गर्छु भन्दा कतिले अवसर पाएका नै हुँदैनन् । कतिले अवसर पाए पनि पर्याप्त मात्रामा पुँजी नभएको कारणले त्यो अवसर यतिकै गुमाउन बाध्य हुन्छन् । त्यसैले यो फण्डले पर्याप्त मात्रामा पुँजी नहुनेलाई पनि लगानी गर्ने अवसर प्रदान गर्ने छ,’ भट्टराईले भने । सानो लगानी, ठूला विकास काम यो फण्ड अन्तर्गत सामूहिक लगानी हुन्छ । कुनै पनि व्यवसाय सञ्चालन गर्न वा कुनै पनि विकासको काम गर्नको लागि समूह भएर लगानी गर्दा सजिलो तथा प्रभावकारी हुने देखिएकोले यो सञ्चालनमा ल्याइएको भट्टराई बताउँछन् । त्यस्तै, समूहबाट लगानी गर्दाको फाइदा भनेको सानो सानो पुँजीबाट पनि एकदमै ठूला विकासका कामहरु गर्न सकिने उनको विश्वास छ । अन्तर्राष्ट्रिय स्तरका वित्तीय उपकरण भित्र्याइने यो फण्डबाट गरिने लगानीमा विभिन्न किसिमको वित्तीय उपकरणहरु प्रयोग गरिन्छ । अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध नयाँ उपकरणहरु नेपालमा भित्र्याउने प्रयासमा फण्ड रहेको छ । पुँजी, कर्पोरेट कल्चर, सुशासन, प्रविधि भित्र्याउने लगायत यसले अन्तर्राष्ट्रिय मापदण्डभित्र रहेर सुशासन र पारदर्शी भएर काम गर्नेछ । विदेशी लगानी भित्र्याउन ८२ वटा संयन्त्रको प्रयोग गरिने फण्डको अर्को उद्देश्य भनेको नेपालको बजारलाई पनि अन्तर्राष्ट्रिय बजारमा चिनाउने हो । जसको लागि फण्डले विदेशी लगानीकर्तालाई आवश्यक परामर्शका साथै उनीहरुको लगानी भित्र्याउन थप सुविधाहरु दिने बताएको छ । ‘नेपाली बजारलाई अन्तर्राष्ट्रिय बजारमा कसरी चिनाउने भन्नेमा हामी लाग्नेछौं । नेपाल एउटा अवसर नै अवसरले भरिएको मुलुक हो भनेर चिनाउनको लागि हामीले अन्य विदेशी लगानीकर्तालाई पनि आवश्यक परामर्श दिनेछौं,’ भट्टराईले भने । गैरआवसीय नेपालीको लगभग ८२ वटा देशमा संयन्त्र छ । त्यो संयन्त्रलाई प्रयोग गरेर विदेशी लगानीकर्तालाई समेत सल्लाह दिने फण्डको योजना छ । अर्को, उनीहरुलाई नेपालमा भित्र्याउने, उनीहरुको कोष तथा वित्तीय व्यवस्थापन गरिदिने, नेपालमा कुनै परि आयोजना चलेको छ भने त्यसको व्यवस्थापकीय काम हेरिदिनेदेखि लिएर सबै सुविधाहरु दिने कोषको योजना छ । रोजगारीको अवसर पनि विकास, पूर्वाधार तथा उत्पादनशील क्षेत्रमा लगानी गर्ने उद्देश्य रहेको यो फण्डले रोजगारी पनि प्रवद्र्धन गर्नेछ । फण्डले लगानी गर्ने प्रोजेक्ट अनुसार नेपालीलाई रोजगारी दिनेछ । तर, अहिले नै यतिलाई रोजगारी दिन्छौं भन्ने एकिन नहुने संस्थाले जनाएको छ । ‘हामी होल्डिङ्ग कम्पनीको रुपमा काम गर्छौं । त्यसकारण हाम्रो कुनै लामो समयको लगानी होला कुनै छोटो समयको लगानी होला । कुन प्रोजेक्टको लागि कति फण्ड प्राप्त हुन्छ, वित्तीय व्यवस्थापन कस्तो हुन्छ, त्यहि अनुसारको प्रबन्ध हुन्छ । त्यसैले एउटै स्ट्याण्डर्डमा यतिलाई दिन्छौं भन्ने हुँदैन । प्रोेजेक्ट अनुसार कतिलाई रोजगारी दिने भन्ने डिजाइन गरिन्छ । त्यसैले अहिले फिक्स्ड हुँदैन,’ सीईओ भट्टराई भन्छन् । चुनौतिलाई आत्मसाथ गर्दै अघि बढ्ने जहाँ अवसर छ, त्यहाँ चुनौति हुन्छ नै । चुनौति नभएको अवसर कहीँ पनि हुँदैन । त्यसैले, अवसर नै अवसर रहेको यो फण्डको कन्सेप्ट पनि चुनौतिसँगै आएको हो । ‘नेपाल धेरै अवसर भएको मुलुक हो । याे फण्ड मार्फत विदेशमा बसेर आफुले कमाएको, बचत गर्न सकेको पैसालाई नेपालमा ल्याएर उत्पादनशील कार्यमा लगाउन सक्यो भने नेपालमा सर्पोट हुन्छ भन्ने हिसाबले चुनौतिका बावजुत पनि यो धारणा ल्याएका हौं । त्यसैले, चुनौतिलाई आत्मसाथ गर्दै अघि बढ्ने छौं,’ भट्टराईले प्रष्ट्याए । नेपाल सरकार र नियामक निकायहरु लगायत नेपालीको सहयोग र सद्भाव रहने हुनाले चुनौतिलाई पार गर्न सकिने प्रवद्र्धकहरुको विश्वास रहेको सीईओ भट्टाईले थपे । जतिसक्दो चाँडो आईपीओ जारी गर्ने फण्डले गैरआवसीय नेपालीलाई जतिसक्दो चाँडो आईपीओ जारी गर्ने तयारी गरेको छ । तर, यति रुपैयाँको जारी गर्ने भन्ने एकिन भइनसकेको सीईओले बताएका छन् । ‘हामीले अहिले १० अर्ब रुपैयाँको आईपीओ निष्काशन गर्ने भनेका छौं । तर त्यो निश्चित भइसकेको छैन । भोलि १० अर्बभन्दा बढीको पनि हुन सक्ने छ । हामीले परिस्थिति हेरेर आवश्यकता अनुसार सेयर जारी गरी पुँजी वृद्धि गर्नेछौं’, सीईओले भने । दोश्रो लहरको कारोना नआईदिएको भए यहि आर्थिक वर्षभित्रै आईपीओ जारी गर्ने सम्भावना बढी रहेको बताउँदै सीईओ भट्टाराईले उक्त आईपीओ सार्क मुलुक बाहेकका गैरआवसीय नेपालीले मात्रै खरिद गर्न पाउने जानकारी गराएका छन् ।
समता घरेलु लघुवित्तको सेयर कारोबार फुकुवा, मंगलबारदेखि किनबेच गर्न पाइने
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेको बैशाख २० गतेको निर्णयले मर्जर प्रयोजनको लागि रोक्का गिरिदिएको संस्थाको सेयर कारोबार फुकुवा गरिदिएको हो । साविकको समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाको एक आपसमा गाभिएर समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । दुई संस्था १ बराबर ०.८० को अनुपातमा एक आपसमा गाभिएका हुन् । गाभिएपछि बनेको समता घरेलु लघुवित्तको २८ लाख ५६ हजार २०१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । र, दोश्रो बजारमा सेयर कारोबार फुकुवा भएको छ । यससँगै, सेयरधनीले भोलि(बैशाख २१ गतेदेखि) संस्थाको सेयर किनबेच गर्न पाउने छन् ।
दोश्रो चरणको हकप्रद जारी गर्न अपि पावरले पायो बोर्डको अनुमति
काठमाडौं । अपि पावर कम्पनीले दोश्रो चरणको हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डले बैशाख १९ गते कम्पनीलाई १ बराबर ०.२९३८ काे अनुपातमा अर्थात २९.३८ प्रतिशत हकप्रद जारी गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर जारी गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्फत ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने छ । कम्पनीले २०७७ कात्तिकमा मात्रै १ कित्ता साधारण सेयर बराबर ०.४७६ कित्ता साधारण सेयरको अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रतिसेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । उक्त हकप्रद पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९८ लाख रुपैयाँ रहेको छ । २९.३८ प्रतिशत हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ९३ करोड रुपैयाँ नाघ्ने छ ।