राष्ट्रिय सहकारी बैंकको ब्याजदर परिवर्तन, अब कुन खातामा कति ?

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सहकारी बैंकले मंसिर १२ गतेदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो । बैंकले बचततर्फ न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम १०.२५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । जसमा साधारण बचत खातामा ३.५० प्रतिशतदेखि ४ प्रतिशत, विशेष बचतमा ४.२५ प्रतिशत, सुपर बचतमा ४.२५ प्रतिशतदेखि ४.७५ प्रतिशत तोकिएको छ । यस्तै, एनसिसिएल समुन्नत बचच खातामा न्यूनतम ४.२५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत, एनसिसिएल प्रिमियम बचतमा ४.५० प्रतिशतदेखि ५ प्रतिशत, अनिवार्य नियमित बचतमा ९.५० प्रतिशत र क्रमिक बचतमा ९.२५ प्रतिशतदेखि १० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको बैंकले जनाएको छ । यस्तै, बैंकको मुद्दती निक्षेपमा न्यूनतम ८.७५ प्रतिशतदेखि अधिकतम १०.२५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । बैंकका अनुसार कर्जा तर्फ विभिन्न विभिन्न शिर्षकमा ८.५० प्रतिशतदेखि १३.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । बैंकका अनुसार घर घडेरी खरिद तथा भवन निर्माण कर्जाको स्वः लगानी नियमानुसार हुनेछ । लघुवित्त कर्जा, गरिबि निवारण कर्जा, सबल सहकारी कर्जा र दिगो सहकारी कर्जा लगानीको ब्याजदर संस्था वर्गीकरणको आधारमा फरक गरीने जनाएको छ । साथै, मुद्दती निक्षेपको बिड रेट १०.२५ प्रतिशत सम्म प्रस्ताव गर्न सकिने बैंकले जनाएको छ । अपाङ्ग, दलित र महिलाद्वारा संचालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने छ । यस्तो सुविधा दोहोरो हुनेगरी प्रदान गरिने छैन ।

मेरो माइक्रोफाइनान्स लघुवित्त १२औं वर्षमा प्रवेश

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड ११ वर्ष पूरा गरि १२औं वर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवका अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संस्था देशकै अग्रणी लघुबित्त बित्तीय संस्था बन्न सफल भएको बताए । स्थापनाको ११ बर्षसम्म आइपुग्दा संस्थाले ग्राहक सन्तुष्टि र व्यावसायिक उत्कृष्टतालाई उच्चतम स्थानमा राखी सेवा प्रवाह गरिरहेको प्रमुख कार्यकारी अधिकृतले बताए । यस संस्थाले देशका ६४ जिल्लामा छरिएर रहेका १४९ शाखाहरुबाट करिब १ लाख ६० हजार ग्राहकहरुलाई उच्च स्तरीय लघुबित्त सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

आरएसडिसी लघुवित्तले डाक्यो १०औँ वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्नका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको कात्तिक १८ गते बसेको बैठकले १०औँ वार्षिक साधारणसभा मंसिर १५ गते गर्ने निर्णय गरेको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५२६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । साथै, बोनस सेयर वितरणपश्चात् हुन आउने पुँजीमा संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको स्वामित्व ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ । लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ मंसिर ७ गते एक दिनका लागि सेयर दाखिला खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त तथा साधारणसभामा सहभागी हुन पाउने छन् ।