नेष्डो समृद्ध लघुवित्तले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रकृया अघि बढाएको छ । संस्थाले कर्मचारी र सामुहिक लगानी कोष समेत गरी ८ लाख २८ हजार ७५० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । सो मात्राको आईपीओ जारी गर्नको लागि संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता हालै सम्पन्न भएको छ । सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका हुन् । पर्वत जिल्लाको कुश्मा बजारमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्था, नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “घ” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्था हो । संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । संस्थापक समुहको ७० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा दुई वटा संस्था र ८१ जना संस्थापक सेयरधनीहरुबाट १७ करोड २१ लाख २५ हजार रुपैयाँ बराबरको सेयरपुँजी चुक्ता भैसकेको छ । वित्तीय संस्थाले हाल ५६ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रियस्तरमा ७८ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिंदै आईरहेको छ । विगत २० वर्षदेखि नेपाल राष्ट्र बैंकवाट वित्तीय मध्यस्थकर्ताको कारोवार गर्ने इजाजत लिई काम गर्दै आईरहेको राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा २०७५ फागुन २९ गतेका दिनदेखि लघुवित्त वित्तीय संंस्थाको रुपमा ईजाजत प्राप्त गरेसँगै यस वित्तीय संस्थाले आफ्नो वित्तीय कारोबार सुचारु गर्दै आएको छ ।
पहिलो दिनमै साढे ५१ प्रतिशत बिक्यो प्रभु सेलेक्ट फण्डको इकाई, कतिले दिए आवेदन ?
काठमाडौं । आज(जेठ ५ गते) देखि बिक्री खुला भएको प्रभु सेलेक्ट फण्डको इकाईमा पहिलो दिनमै ५१.६४ प्रतिशतभन्दा बढी आवेदन परेको छ । प्रभु क्यापिटलका अनुसार पहिलो दिन साँझसम्म ७ हजार ९७२ जना सर्वसाधारण लगानीकर्ताले ४१ करोड १४ लाख रुपैयाँ बराबरको ४ करोड ११ लाख इकाई खरिदका लागि आवेदन दिएका हुन् । क्यापिटलले सर्वसाधारणमा ८ करोड ५० लाख इकाई बिक्री खुला गरेकाे हाे । प्रभु क्यापिटलले जेठ ५ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा कूल १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंकलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु बैंकलाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । जसमा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेठ ९ गते आइतबारसम्म रहेको छ । सम्बन्धित समाचार फण्डबाट उठेको रकम ३० कम्पनीमा लगानी गर्छौं, लगानीकर्तालाई ३ गुणाबढी प्रतिफल दिन्छौं- गिरी
एनसीएचएलको ४० प्रतिशत लाभांश पारित, सञ्चालकमा तीन जना निर्वाचित
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)को नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारण सभा जेठ ५ गते जुम प्ल्याटफर्म मार्फत सम्पन्न भएको हो । सभाले चुक्ता पुँजीको ३८ प्रतिशत बोनस र कर प्रयोजनको लागि २ प्रतिशत नगद गरी कूल ४० प्रतिशत लाभांश पारित गरेको छ । २९ करोड ८ लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी ४१ करोड १ लाख रुपैयाँ पुग्ने छ । कम्पनीले पुँजी वृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने तथा जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन पनि गर्ने योजना बनाएको छ । आ.व. २०७६÷७७ मा कम्पनीको भुक्तानी कारोबारहरुमा उल्लेख्य रुपमा वृद्धी भएता पनि कम्पनीको खुद नाफा २२.२ प्रतिशतले घटेको छ । त्यसै गरी कम्पनीले कुल पुँजी तथा जगेडा कोषको अनुपातमा २९ प्रतिशत बराबरको नाफा प्राप्त गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले कम रहेको छ । कम्पनीको खुदनाफा घट्नुका कारणहरु भने कम्पनीले सञ्चालन गर्दै आएका धेरैजसो भुक्तानी प्रणालीहरुमा कारोबार शुल्क घटाइएको, २०७६ चैत ११ देखि २०७७ असार मसान्तसम्मको पहिलो लकडाउनको चरणमा कारोबार शुल्क पूर्ण रुपमा मिनाह गरिएको, सरकारी लगायतका निकायका भुक्तानीमा शुल्क परिमार्जन गरिएको तथा डिजिटल भुक्तानीको क्षेत्रमा रहेको प्रतिस्पर्धा रहेका छन् । सभाले कम्पनीको सञ्चालक समितिमा वाणिज्य बैंकहरुलाई प्रतिनिधित्व गर्नु हुने तीन नयाँ सञ्चालकहरुको निर्विरोध चयन पनि गरेको छ । हाल वाणिज्य बैंकलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरुको कार्यकाल समाप्त भएसँगै उक्त पदमा हिमालयन बैंकका जेनेरल म्यानेजर उज्ज्वल राजभण्डारी, ग्लोबल आईएमई बैंकका वरिष्ठ उप-प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा सिद्धार्थ बैंकका आइ.टि. प्रमुख सृजन मल्ल निर्वाचित भएका छन् । नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंकका तर्फबाट तीन जना, विकास बैंकका तर्फबाट एक जना र फाईनान्स कम्पनीका तर्फबाट एक जना गरी हाल ६ जना प्रतिनिधी रहेका छन् । कम्पनीले भुक्तानी प्रणालीहरु मार्फत आ.व. २०७६/७७ मा कुल ९७ खर्ब रुपैयाँ बराबरको २ करो ०६ लाख रुपैयाँ भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो ।