नेप्से परिसूचक झण्डै दोहोरो अंकले बृद्धि, कारोबार रकमपनि बढ्यो

काठमाडौ । साताको पहिलो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक दोस्रो दिन सोमबार पनि उकालो लागेको छ । सोमबार नेप्से परिसूचक ९.३२ अंकले बढेको हो । ०.७९ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११९१.६८ बिन्दुमा पुगेको छ । सेयर बजारमा १७० कम्पनीले सेयर कारोबार गरेका छन् । २९ लाख ५१ हजार ४ सय ७८ कित्ता सेयर खरिद बिक्री हुँदा ९० करोड ६९ लाख ३६ हजार ७ सय ६३ रुपैयाँको कारोबार भएको छ । बजार बढेको दिन नेप्सको ८ समूह हरिया देखिए भने २ समूह राताम्मे भए । बैंक समूह ४.९८, विकास बैंक समूह १.८३, जलविद्युत समूह ०.६९, वित्त समूह १.२७, निर्जीवन बीमा समूह १५३.७, उत्पादनमूलक समूह ०.३१, लघुवित्त समूह ३६.५१ र जीवन बीमा समूह १६७.५ अंकले बढेका छन् । होटल समूह ५.५ र अन्य समूह २.५६ अंकले घटेका छन् । सम्मीट माइक्रो फाइनान्स डेभलपमेण्ट बैंकका लगानीकर्ताले ९.८४ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरे भने राधी विद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ४.५७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

सिन्धुलीको भीमानमा सेन्ट्रल फाइनान्सको नवौँ शाखा बिस्तार

काठमाडौँ । सेन्ट्रल फाइनान्स लिमिटेडको नवौँ शाखा सिन्धुली जिल्लाको भीमानमा उद्घाटन भएको छ । कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले एक समारोहका बीच शाखा उद्घाटन गरेका हुन् । शाखा उद्घाटन कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत(सिइओ) रजोजमान श्रेष्ठ, कमलामाई नगरपालिका उपप्रमुख मञ्जु देवकोटा र सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदारको पनि उपस्थिति रहेको थियो । कमलामाई क्षेत्रका ग्राहकहरुलाई अझ सर्वसुलभ रुपले बैंकिङ सेवाहरु प्रदान गर्ने उद्देश्यले नवौँ शाखा खोलेको र संस्थाको शाखा सञ्जाल बिस्तार गर्ने योजना अनुरुप यो शाखा सञ्चालन भएको सिइओ श्रेष्ठले बताए । संस्थाले ८ प्रतिशतसम्म ब्याज रहेको विभिन्न प्रकारका बचत योजनाहरु सञ्चालन गर्दै आएको छ । त्यस्तै ३ महिनादेखि ६ वर्षको अवधिमा विभिन्न प्रकारका मुद्दती निक्षेप योजनाहरु सञ्चालन गर्दै आएको जनाएको छ । संस्थाले २०७५ साल चैत ५ गते सम्पन्न २२ औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट आफ्ना शेयरधनीहरुलाई ७ प्रतिशत नगद लाभांश वितरण गरेको जनाएको छ । ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको संस्थाको कुनैपनि शाखाबाट रकम जम्मा र भुक्तानी गर्न सकिने एबीबीएस सुबिधा सहित काठमाडौँको चावहिल, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्यामासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट र बाराको सिमरामा शाखा कार्यालय सञ्चालनमा रहेको छ । संस्थाको चुक्तापूँजी ८२ करोड ३४ लाख, निक्षेप ३ अर्ब २० करोड र लगानी लगानी ३ अर्ब रहेको सिइओ श्रेष्ठले बताए । सेन्ट्रल फाईनान्स लिमिटेडले तत्कालिन कम्पनी ऐन २०२१ बमोजिम मिति २०५३ बैशाख ६ गते नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट मिति २०५४ साल बैशाख २ मा वित्तीय कारोवार गर्ने राष्ट्रिय स्तरको इजाजतपत्र प्राप्त गरी विगत २२ बर्ष देखि वैकिङ्ग कारोवार संचालन गर्दै आएको छ ।

हिमालय उर्जाको सेयर तेश्रो दिनमै झण्डै ३ गुणा आवेदन

काठमाडौँ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले जारी गरेको १३ लाख ६६ हजार २०० कित्ता साधारण सेयर सर्बसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा तेश्रो दिन आइतबार साँझ ५ बजेसम्ममा ५१ हजार ३१६ जना आवेदकहरुले ३७ लाख ३५ हजार २९० कित्ता सेयरको लागि ३७ करोड ३५ लाख २९ हजार रकम आवेदन गरेका छन । बजारमा आएका जलविद्युत् कम्पनीको शेयर मध्ये प्रतिमेगावाट लागत कम भएका कारण लगानीकर्ताहरुको उत्साहजनक सहभागीताले सेयर निष्काशन भएको तेश्रो दिनमै माग भए भन्दा ३ गुण बढी शेयर आवेदन भएको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए । १४ लाख ८५ हजार कित्ता साधारण सेयर मध्ये कर्मचारीहरुलाई छुट्याइएको ३ % अर्थात ४४,५५० र सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ५% अर्थात ७४,२५० कित्ताबाहेक बाँकी रहेको १३,६६,२०० कित्ता साधारण सेयर यहि चैत्र २० गते बाट सर्बसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको छ । कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मेवाको उपल्लो खिम्ति र ७ मेवाको अपर खिम्ति–दोश्रो गरी कुल १९ मेवाका आयोजनाहरु निर्माण गरिरहेको छ । विवरण पत्रमा उल्लेख भए अनुसार १९ मेवा निर्माण गर्नको लागि लागत करिव ३ अर्व १५ करोड रहेको छ । यसरी हेर्दा प्रति मेवा लागत करिव १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने जनाइएको छ ।