सेञ्चुरी क्यापिटल उद्घाटन, ‘चाँडै उत्कृष्ट मर्चेन्ट बैंकर हुने’
काठमाडौँ । सेञ्चुरी क्यापिटल मार्केट्सको आज एक समारोहका बीच उद्घाटन भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले काठमाडौँ प्लाजा, कमलादीमा ताम्रपत्र अनावरण गरेर सञ्चुरी क्यापिटलको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा डा. कार्कीले अहिले ३१ औं मर्चेन्ट बैंकरको रुपमा सेञ्चुरी क्यापिटल आएकोले थुप्रै प्रतिस्पर्धा, चुनौतीहरु रहेको बताए । तालिम प्राप्त योग्य कर्मचारी, पर्याप्त अनुसन्धान सहित धितोपत्र बोर्डले ल्याएका नयाँ क्षेत्रका कामहरुलाई अवसरको रुपमा लिई अघि वढ्न समेत उनले सुझाव दिएका थिए । समारोहमा सेञ्चुरी कमर्सियल बैंक लि.का प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र मर्चेन्ट बैंक एशोसिएशनका अध्यक्ष धु्रव तिमिल्सिनाले सबै अवसरहरुलाई सकारात्मक रुपमा लिएर चाँडै उत्कृष्ट मर्चेन्ट बैंकरको रुपमा स्थापित हुन सफल होस् भन्ने शुभकामना व्यक्त गरे । यसैबीच, शुक्रबार नै सेञ्चुरी क्यापिटल मार्केट्स लि.ले दोश्रो बार्षिक साधारण सभा समेत सम्पन्न गरेको छ । सभाले संस्थागत परामर्श सेवा तथा विशिष्टिकृत लगानी व्यवस्थापक समेतको काम गर्ने गरी प्रबन्धपत्रमा उद्देश्य थप गर्ने निर्णय गरेको जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत झविन्द्र खत्रीले स्वागत मन्तव्य गरेको कार्यक्रम कानूनी सल्लाहकार पुरुषोत्तमप्रसाद घिमिरेले सञ्चालन गरेका थिए । संस्थाका अध्यक्ष रणबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम समापन गर्ने क्रममा चाँडै नै वहुआयामिक ढंगले संस्थाले आप्mनो कारोबार सञ्चालन गर्ने र चाँडै उत्कृष्ट मर्चेन्ट बैंकर हुने कुरा राख्दै उद्घाटन समारोह तथा दोश्रो बार्षिक साधारण सभामा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७३ साल साउन २६ गते दर्ता भई नेपाल धितोपत्र बोर्डबाट २०७५ साल फागुन २ गते मर्चेन्ट बैंकिंग कारोवार गर्ने ईजाजत पाएको कम्पनीको अधिकृत पूँजी ३० करोड, जारी पूँजी २५ करोड र हालको चुक्ता पूँजी २० करोड रहेको छ । चुक्ता पूँजी मध्ये संस्थागत लगानीकर्ता सेञ्चुरी कमर्सियल बैंक लि.को ८५.७५ प्रतिशत तथा व्यक्तिगत लगानीकर्ताको १४.२५ प्रतिशत संस्थापक शेयर रहेको कम्पनीले जनाएको छ ।
नबिल इन्भेष्टमेन्ट ब्यालेन्स फण्ड २ मा पहिलो दिनमै २३ करोडको आवेदन
काठमाडौं । नबिल इन्भेष्टमेन्ट ब्यालेन्स फण्ड २ मा पहिलो दिन मै २३ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड-नबिल इन्भेष्टले बिहीबारदेखि सार्वजनिक गरेको इकाईमा मात्र एक दिनमा सो मात्राको आवेदन परेको हो । नबिल इन्भेष्टका प्रमुख कार्यकारी अधिकृत सबिर बाँदे श्रेष्ठका अनुसार बिहीबार एक दिनमा ४ हजार ३६२ जनाले कूल २३ करोड रुपैयाँ बराबरको माग गरेका बताएका छन् । नबिल इन्भेष्टले वैशाख ५ गते अर्थात बिहीबारदेखि १२ करोड इकाई सर्वसाधारणका लागि निष्काशन गरिरहेको छ । इन्भेष्टले आफ्नो तेश्रो योजना अन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको फण्ड बिक्री गरिरहेको छ । इच्छुक लगानीकर्ता(व्यक्ति तथा संस्था)ले यस योजनामा न्युनतम एक हजारदेखि १२ करोड रुपैयाँसम्म लगानी गर्न सक्नेछन् । लगानीकर्ताले छिटोमा वैशाख ९ गते भित्र आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले अन्य धितोपत्र बिक्री गरेजस्तै गरी आफ्नो सी आश्वा खाता रहेको बैंक वा मेरो सेयरमा लगइन गरी अनलाईन आवेदन गर्न सक्ने छन् । यो एक बन्दमुखी योजना हो जसको आकार एक अर्ब २० करोड रुपैयाँ रहेको छ । जसको अवधि १० वर्षको रहेको छ ।नबिल इन्भेष्टमेण्ट बैंकिंगले यस अघि नबिल ब्यालेन्स फण्ड १ र नबिल इक्विटी फण्ड सञ्चालनमा ल्याइसकेको छ । नबिल ब्यालेन्स फण्ड २ को मूख्य उद्देश्य प्रचलित सामूहिक लगानी कोष नियमावली एवं निर्दे्शिकाको अधिनमा रही इकाई बिक्रीबाट उठेको वा संकलन भएको रकमलाई विविध क्षेत्र र उपकरणहरुमा जोखिम न्युनीकरण गर्दै लगानी गरी सोबाट आर्जन भएको मुनाफा इकाई धनीहरुलाई वितरण गर्नु रहेको संस्थाले जनाएको छ ।
अन्ततः छिमेक लघुवित्तले पायो ४० प्रतिशत लाभांश वितरण गर्ने स्वीकृति
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आवको मुनाफाबाट चुक्ता पुँजीको १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव संस्थाको संचालक समितिको २१२औं बैठकले गरेको हो । संस्थाले उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकमा पेस गरेको थियो । तर राष्ट्र बैंकले २०७५ पुस १९ गते पठाएको पत्र अनुसार संस्थालाई सो मात्राको लाभांश वितरण गर्न अस्विकृत गरेको थियो । त्यसपछि संस्थाले राष्ट्र बैंकको विशेष निरिक्षणबाट औंल्याईएका समस्याहरु सुधार गरी पुनः राष्ट्र बैंकमा प्रस्तावित लाभांश समेत वितरण गर्ने स्वीकृतीको माग गरेको थियो । सोही अनुसार राष्ट्र बैंकले अन्तत २०७६ वैशाख १ गते संस्थालाई सो मात्राको लाभांश वितरण गर्न स्वीकृति दिएको हो । साथै, उक्त प्रस्तावित बोनस र नगद लाभांश आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ । संस्थाको साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।