इसेवाको रिफर एण्ड अर्न अफर, ‘इसेवा चलाउँदा ३० रुपैयाँ बोनस’
काठमाडौँ । इसेवाले आफ्ना ग्राहकको हितको लागि रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको छ । नगदरहित समाज निर्माणको लागि आफु पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियान अन्तरगत इसेवाले हरेक व्यक्तिलाई अभियन्ताका रुपमा प्रोत्साहन गर्न यो अफर सार्बजनिक गरेको जनाएको छ । यो अफर अन्तरगत इसेवा चलाउन सिकाए बापत प्रति ग्राहक रु ३० सम्म बोनस प्राप्त गर्न सकिन्छ । यसमा आफ्ना परिवार, साथिभाइ तथा आफ्नो मोबाईलमा रहेका समपर्क नम्बरहरूलाई इसेवा चलाउन सिकाउन सकिनेछ । इसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले हरेक नेपालीलाई डिजिटल अभियन्ता बनाउनका लागि रिफर एण्ड अर्न अफर सुरु गरेको बताए । उनले भने–‘डिजिटल नेपाल निर्माणका लागि सबै निकायले जोड दिइरहेका बेला हामीले पनि इसेवा मार्फत यो अभियानलाई सार्थक बनाउन रिफर अफर सञ्चालन गरेका हौँ ।’ इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिने जनाइएको छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
साञ्जेन र रसुवागढीले भन्यो-‘चाहिएकोभन्दा धेरै आवेदन पर्यो, मंगलबार आईपीओ बन्द हुन्छ’
काठमाडौं । साञ्जेन र रसुवागढी हाइड्रोपावरले मंगलबार आईपीओ निष्कासन बन्द गर्ने भएको छ । छिटोमा बन्द हुनेगरी तय गरेको निष्कासन अवधिमा मागभन्दा बढी आवेदन परेको भन्दै साञ्जेन र रसुवागढीले मंगलबारदेखि नै आईपीओ बन्द गर्ने जनाएको हो । साञ्जेनको निष्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोष र रसुवागढीको निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले छुट्टाछुट्टै सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन् । गत शुक्रबारदेखि खुला भएको ती दुई कम्पनीको आईपीओमा सर्वसाधारणको आकर्षण देखिएपछि मंगलबार बैंकिङ समयभित्र उक्त आईपीओ भर्ने समय रहनेछ ।
ग्रामीण विकासको हकप्रद २७ गतेदेखि, क-कसले पाउँछन् हकप्रद भर्न ?
काठमाडाै । ग्रामीण विकास लघुवित्तको हकप्रद शेयर बैशाख २७ गतेदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट १ः०.५ अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको ग्रामीण विकासले बैशाख २७ गतेदेखि जेठ ३० गतेसम्म उक्त शेयर निष्कासन गर्न लागेको हो । यसका लागि लघुवित्तले शेयरधनी किताब खाता चैत २८ गते बन्द गरिसकेको छ । सो दिनसम्म उक्त शेयर कायम रहने शेयरधनीहरु १०० रुपैंया अंकित मूल्य भएको हकप्रद शेयर भर्नका लागि योग्य हुनेछन् । बुटवल मुख्य कार्यालय भएको तात्कालिन ग्रामीण विकास बैंक ५ ओटा क्षेत्रीय लघुवित्त संस्थाहरु मर्ज भएर बनेको संस्था हो । नेपाल राष्ट्र बैंकको समेत लगानी रहेको उक्त लघुवित्तले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नाम परिवर्तन गरी ग्रामीण विकास लघुवित्त वित्तीय संस्था बनाएको हो । राष्ट्रिय स्तरको संस्थाका देशभरमा १९३ ओटा शाखा छन् । संस्थाले नेपाल राष्ट्र बैंकको न्यूनतम पुँजीकोष अनुपात कायम गर्न हकप्रद निष्कासन गर्न लागेको जनाएको छ ।