ब्रोकर कम्पनीलाई मर्जरमा लैजाने बोर्डको तयारी, ६ जिल्लाकाे कारोबार नेप्सेमार्फत हुँदै
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी(ब्रोकर कम्पनी)ले अर्को ब्रोकर कम्पनीलाई प्राप्ति गर्ने र गाभ्ने/गाभिने सम्बन्धमा नीतिगत व्यवस्था शुरु गर्ने तयारी गरेको छ । बोर्डले धितोपत्र दलाल व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन वाणिज्य बैंकको सहायक कम्पनी तथा ब्रोकर कम्पनीहरुबीच मर्जरको कार्यलाई जोड दिएको हो । त्यस्तै, बोर्ड धितोपत्र दलाल व्यवसायी सम्वन्धी विद्यमान इजाजत र संचालन नीतिमा पुनरावलोकन गर्न धितोपत्र व्यवसायी नियमावली, २०६४ संशोधन मस्यौदा तयार गर्ने क्रममा रहेको बोर्डले जारी गरको विज्ञप्तिमा उल्लेख छ । ब्रोकर कम्पनीको शाखा कार्यालय स्थापना कार्यलाई समेत अझ व्यवस्थित बनाउन नियमावलीमा थप व्यवस्था गरे पश्चात सो प्रक्रिया अगाडि बढाइने बोर्डले जनाएको छ । यसबाट धितोपत्रको दोस्रो बजार सबै प्रदेश सदरमुकाममा हुनुका साथै आर्थिक रुपले सक्रिय जिल्ला/स्थानहरुमा बजार विकास हुने छ । यसका साथै, कुल कारोबार संख्यामा समेत वृद्धि हुने बोर्डको अपेक्षा रहेको छ । हाल धितोपत्र दलाल व्यवसायीले शाखाबाट हुने कारोबार सम्वन्धित धितोपत्र दलाल व्यवसायीको केन्द्रीय कार्यालयमा आवद्ध भई नेप्सेको प्रणालीमार्फत हुने व्यवस्था हुन लागेको बोर्डले जनाएको छ । बोर्डले हाल धितोपत्र दलाल व्यवसायीको शाखा नपुगेका जिल्ला/स्थानहरु महेन्द्रनगर (कञ्चनपुर), बिरेन्द्रनगर (सुर्खेत), घोराही, तुलसीपुर (दाङ), भैरहवा (रुपन्देही) र जनकपुर (धनुषा) मा शाखाबाट हुने कारोबार सम्वन्धित धितोपत्र दलाल व्यवसायीको केन्द्रीय कार्यालयमा आवद्ध गराउन धितोपत्र दलाल व्यवसायीलाई निर्देशन दिएको छ । साथै, बोर्डले उक्त स्थानको कारोबार केन्द्रीय कार्यालयमा आवद्ध गराई नेप्सेको प्रणाली मार्फत हुने व्यवस्था गराउन आठ धितोपत्र दलाल व्यवसायीलाई शाखा खोल्न आवश्यक पूर्वाधार तयार गर्न सूचित गरेको छ । यसबाट धितोपत्रको दोस्रो बजार सबै प्रदेश सदरमुकाममा हुनुका साथै आर्थिक रुपले सक्रिय जिल्ला/स्थानहरुमा बजार विकास हुँदै जाने भई कुल कारोबार संख्यामा समेत वृद्धि हुने बोर्डको अपेक्षा रहेको छ ।
दुई कम्पनीले एक अर्ब ४ करोडको आईपीओ जारी गर्दै, कसले कहिलेदेखि भर्न पाउने ?
काठमाडौं । बजारमा दुई कम्पनीले एक अर्ब ४ करोड ७४ लाख ४१ हजार २०० रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्कासन गर्ने भएका छन् । ग्रीन लाइफ हाइड्रोपावरले १८ करोड र यूनिभर्सल पावर कम्पनीले ८६ करोड ७४ लाख गरी सो मात्राको सेयर बिक्री गर्न लागेका हुन् । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितको लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले यही माघ २२ गतेदेखि आगामी फागुन ७ गतेसम्म साधारण सेयर बिक्री गर्नेछ । दोलखाका स्थानीयबासीले उक्त आईपीओमा न्यूनतम २० कित्ता र अधिकतम ९०० कित्तासम्म आवेदन दिन पाउने छन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले ३० प्रतिशतले हुन आउने ५ लाख ४० हजार कित्ता सेयर गौरीशंकर गाउँपालिका वडानम्बर ७ का बासिन्दाका लागि, गौरीशंकर गाउँपालिका वडानम्बर ५, ६, ८ र ९ का बासिन्दाका लागि ४० प्रतिशतले हुन आउने ७ लाख २० हजार कित्ता र बाँकी रहेको ३० प्रतिशतले हुन आउने ५ लाख ४० हजार कित्ता गौरीशंकर १, २ र ४ का बासिन्दा तथा बिगु गाउँपालिकाको वडा नम्बर ४ का बासिन्दाका लागि सुरक्षित गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४४ करोड रुपैयाँ रहेको छ । उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई १८ करोड र सर्वसाधारण तथा कर्मचारीहरुलाई १८ करोड रुपैयाँ बराबरको सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ८० करोड रुपैयाँ नाघ्ने छ । हाल कम्पनीले दोलखामा ४० मेगावाट क्षमता खानीखोला एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सो आयोजनाबाट आगामी चैतदेखि विद्युत् उत्पादन शुरु हुने कम्पनीले जनाएको छ । त्यसैगरी, यूनिभर्सल पावरले माघ २५ गतेदेखि अंकित मूल्य १०० रुपैयाँ दरले ८६ लाख ७४ हजार कित्ता सेयरकाे बिक्री खुला गर्न लागेकाे छ । उक्त सेयरमा इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारणले छिटोमा माघ २९ गते र ढिलोमा फागुन २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । साथै, यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २१ लाख ३५० कित्ता आईपीओ जारी गरी बाँडफाँट गरिसकेको छ । हाल कम्पनीको सेयर बिक्री प्रवन्धकको काम नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेडले गरिरहेको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १३ करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित र सर्वसाधारणलाई गरी कुल ९० करोडको सेयर बाँडफाँड पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ नाघ्ने छ ।
सुरु भयो मार्जिन कारोबार, ब्रोकर र लगानीकर्ताले ब्याजदर तोक्न सक्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको बाटो खुला गरिदिएको छ । बोर्डले शुक्रबार परिपत्र जारी गर्दै मार्जिन कारोबारको बाटो खोलिदिएको हो । अब ब्रोकर कम्पनी र लगानीकर्ताबीचको सहमतिका आधारमा ब्याजदर तय गरेर मार्जिन कारोबार गर्न सकिनेछ । त्यस्तो मार्जिन कारोबारको ब्याजदरबारे बोर्ड र नेप्सेलाई जानकारी भने गराउनुपर्नेछ । बोर्डले नेप्सेलाई मार्जिन कारोबारबारे पर्याप्त प्रचार प्रसार गर्न पनि निर्देशन दिएको छ । साथै त्यस्तो कारोबारको सक्ष्म निगरानी गर्न पनि बोर्डले नेप्सेलाई निर्देशन दिएको छ । मार्जिन कारोबारको ब्याजदरमा अनावश्यक उताचढाव आएमा धितोपत्र बोर्डले आवश्यक हस्तक्षेप गर्न सक्ने व्यवस्था पनि बोर्डले गरेको छ । बोर्डले मार्जिन कारोबार सम्बन्धी आफ्नो निर्णयबारे नेपाल राष्ट्र बैंकलाई जानकारी समेत पठाएको छ । राष्ट्र बैंकको स्वीकृतिपछि मार्जिन कारोबार आरम्भ हुने धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले विकासन्युजलाई जानकारी दिए । ‘हामीले मार्जिन कारोबारको काम सम्पन्न गरेका छौं, राष्ट्र बैंकले स्वीकृति दिने वित्तिकै मार्जिन कारोबार आरम्भ हुन्छ’, बोर्डका प्रवक्ता गिरीले भने । उनले मार्जिन कारोबार आरम्भ भएपछि त्यसको नियमन र दिगोपनको चुनौती भने रहेको बताए । धितोपत्र बोर्डले २०७४ कात्तिक २० गते मार्जिन कारोवार सुविधा सम्वन्धी निर्देशन, २०७४ जारी गरेको थियो भने नेपाल स्टक एक्सचेञ्जले २०७५ बैशाख १०९ गते “मार्जिन कारोवार सुविधा सम्बन्धी कार्यविधि, २०७५” ल्याएको थियो ।