६.८३ अंकले घट्यो नेप्से, १४ करोडको कारोबार

काठमाडौ । साताको तेस्रो दिन मंगलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । नेप्से परिसूचक ६.८३ अंकले घटेको हो । ०.५९ प्रतिशतले घट्दा नेप्से परिसूचक ११४७.१५ बिन्दुमा पुगेको हो । मंगलबार सेयर बजारमा १५८ कम्पनीले कारोबार गरेका छन् । ५ लाख ३४ हजार ९ सय ९५ कित्ता सेयर खरिद बिक्री हुँदा १४ करोड ८६ लाख ३३ हजार २ सय ४५ रुपैयाँको कारोबार भएको छ । नेप्सेका सबै सूचक आज राता देखिएका छन् । बैक समूह ६.७५, ट्रेडिङ २.८७, विकास बैक ९.९८, जलविद्युत ७.८५, वित्त कम्पनी ३.२७, निर्जीवन बीमा २२.३९, उत्पादनमूलक समूह ४.७४ , अन्य समूह ४.४३, माइक्रोफाइनान्स ७.४३, जीवन बीमा २०.२३ अंकले घट्न पुगेका छन् । आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९५ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस्तै, मितेरी डेभलपमेण्ट बैकका लगानीकर्ताले ४.८९ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

इष्टर्न हाइड्रोपावरको शेयर खुला, कस्ले कति भर्न पाउँछन् ?

भोजपुर । पिखुवा खेलामा निर्माण भइरहेको इष्टर्न हाइड्रोपावरको आजदेखि संस्थापक शेयर खुला गरिएको छ । हाइड्रोपावरको मुख्य रुपमा प्रभावित क्षेत्र पर्ने भोजपुर नगरपालिका वडा नम्बर ५, ६,७ र ९ तथा अन्य जिल्लाबासीका लागि शेयर खुला गरिएको इष्टर्न हाइड्रोपावर लिमिटेडले जनाएको छ । प्रभावित ४ वटा वडाका स्थानीयवासीले प्रतिकित्ता एक सय र प्रभावित क्षेत्रबाहेकका अन्यले प्रतिकित्ता १५० मा कम्तीमा ५० कित्ता र बढीमा १० हजार कित्तासम्म शेयर खरिद गर्न सक्ने कम्पनीका जनसम्पर्क अधिकृत दीपेन राईले जानकारी दिनुभयो । शेयर प्रभु बैँक भोजपुरमार्फत लिन सकिने जनाइएको छ । शेयर आजदेखि १५ दिनसम्म खरिद गर्न सकिने अधिकृत राईले जानकारी दिए । हाइड्रोपावरको काम ९९ प्रतिशत सम्पन्न भएकाले यही चैतभित्र सञ्चालन गरिने कम्पनीले पत्रकारसम्मलेनमार्फत जनाएको छ । यो जलविद्युत जिल्लाको हालसम्मकै सबैभन्दा बढी पाँच मेगावाट क्षमताको हो । जलविद्युत् आयोजना करीब एक अर्ब २० करोड लागतमा निर्माण भइरहेको छ ।

दिव्य लघुवित्तका अध्यक्ष जीवन भट्टराईले राष्ट्र बैंकका कार्यकारी निर्देशक समक्ष सपथ लिए

काठमाडौँ । दिव्य लघुवित्त वित्तीय संस्था लि.को सञ्चालक समितिको अध्यक्षमा जीवन भट्टराई नियुक्त भएका छन् । फागुन ३० गते अध्यक्ष भट्टराईले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल समक्ष सपथ ग्रहण समेत गरेका छन् । संस्थाको प्रथम बार्षिक साधारण सभा फागुन २५ गते नमोबुद्ध न.पा. २ भकुण्डेवेशी, काभ्रेमा सम्पन्न भएको थियो । कम्पनीका अध्यक्ष जीवन भट्टराईले एक समारोहकाबीच कार्यक्रम उद्घाटन गरेका थिए । सभाले आगामी ४ बर्षको लागि जीवन भट्टराई(प्रतिनिधि-सेञ्चुरी कमर्सियल बैंक लि.), प्रकृतिराज तिमिल्सिना(प्रतिनिधि-कैलाशविकास बैंक लि.), महेशबहादुर बस्नेत र नचोङ गुरुङ गरी ४ जनालाई सञ्चालकको रुपमा निर्विरोध निर्वाचित गरेको थियो । साथै, नयाँ सञ्चालक समितिले भट्टराईलाई समितिको अध्यक्षमा चयन गरेको हो ।