सर्किट ब्रेकमा नयाँ व्यवस्था, चैत १९ गतेदेखि कार्यान्वयन हुने
काठमाडौँ । शेयर बजारमा कुनै पनि कम्पनीको शेयर मूल्य चार प्रतिशतले घटे वा बढेमा सर्किट ब्रेक लाग्ने भएको छ । स्टकले सर्किट ब्रेकको प्रणालीमा नयाँ व्यवस्था गरी यही चैत १९ गते मङ्गलबारदेखि कार्यान्वयनमा ल्याउन लागेको हो । स्टकको नयाँ व्यवस्थाअनुसार कारोवार शुरु भएको पहिलो एक घण्टामा चार प्रतिशतले घटे वा बढेमा १५ मिनेटसम्म सर्किट ब्रेक लाग्ने भएको छ । यस्तै दोस्रो घण्टामा पाँच प्रतिशतले घटे वा बढेमा ३० मिनेट तथा तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोवार स्थगित गर्ने व्यवस्था कार्यान्वयन गर्न लागिएको छ । स्टकका अनुसार स्वचालित अनलाइन कारोवार प्रणाली कार्यान्वयनमा आएपछि तीन हजार ५५७ लगानीकर्ता समावेश भएका छन् । दैनिक अनलाइन कारोवारमा सक्रिय लगानीकर्ताको सङ्ख्या ५९६ रहेको छ । स्टकले अनलाइन कारोवारका लागि धितोपत्र दलाल व्यवसायीको कार्यालयमा गएर युजरनेम र पासवर्ड लिनसमेत आग्रह गरेको छ । अनलाइन कारोवार प्रणालीलाई थप व्यवस्थित बनाउन ‘नेशनल क्लियरिङ हाउस लिमिटेड’को प्रणालीमा आवद्ध गराई त्यसका सदस्य अन्य बैंक तथा वित्तीय संस्थामार्फत अनलाइनमा नै रकमको हस्तान्तरणको व्यवस्था मिलाइएको छ ।
चौतारी लघुवित्तमा २ सञ्चालक निर्वाचित
काठमाडौँ । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधारण समूह(समूह ख) बाट २ जना निर्वाचित भएका छन् । कम्पनीको शनिवार सम्पन्न वार्षिक साधारण सभाबाट दोलखाका दीपककुमार बुढाथोकी र अर्घाखाँचीका केशवराज पन्थी सञ्चालक पदमा निर्वाचित भएको प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले जनाएका छन् ।
यूनिभर्सल पावरको वार्षिक साधारणसभा जेठ २० गते, कम्पनी सचिवमा श्रेष्ठ नियुक्त हुँदै
काठमाडौं । यूनिभर्सल पावर कम्पनीले आगामी २०७६ जेठ २० गते वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभा उक्त दिन गर्न लागेको हो । उक्त सभाले कम्पनीको कम्पनी सचिव परिवर्तन गरी देबबहादुर श्रेष्ठलाई नियुक्त गर्दै छ । साथै, कम्पनीका संचालक पुष्पेन्द्र भट्टराईले दिएका राजीनामालाई जेठ २० गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने कम्पनीले जनाएको छ । उक्त निर्णय कम्पनीको २०७५ चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।