बुधबार स्थगित अपर तामाकोशीको साधारण सभा अब असार ३१ मा
काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको बुधबार स्थगित वार्षिक साधारण सभा असार ३१ गते हुने भएको छ। कम्पनीका अनुसार शुक्रबार मात्रै यस सम्बन्धमा सम्पूर्ण सेयरधनीलाई सूचना प्रकाशन गरेर साधारण सभाको विस्तृत जानकारी दिइने छ । कम्पनी नियमावली अनुसार साधारण सभामा ६७ प्रतिशत सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व हुनु पर्नेछ । तर, बुधबार ५१ प्रतिशत संस्थापक र ५६ प्रतिशत मात्रै सर्वसाधारण शेयरधनी उपस्थित भएका कारण साधारण सभा स्थगित भएको थियो । साधारणसभामा ४ जना सञ्चालक निर्वाचनसँगै कम्पनीको निर्वाचन नियमावलीसमेत संशोधन गरी गणपुरक संख्या ५१ प्रतिशत कायम गर्ने प्रस्ताव गरिने बुझिएको छ । आठ लाख १८ हजार शेयरधनी रहेको उक्त कम्पनीमा चार जना सञ्चालकको निर्वाचनका लागि तीन महिला सहित १२ जनाले उम्मेदवारी दिएको कम्पनीले जनाएको छ ।
बिहीबारपनि घट्यो नेप्से, हिमालयन डिस्टिलरीको कारोबार १४ करोड ९७ लाख
काठमाडौँ । साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक १.१४ अंकले घटेको छ । ०.०९ प्रतिशतले परिसूचक घट्दा १२५७.१५ बिन्दुमा पुगेको छ । आज १७२ कम्पनीका १८ लाख ५४ हजार ६ सय ७६ कित्ता सेयर किनबेच हुँदा ६२ करोड ७९ लाख ८ हजार ८ सय १२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज बैंकिङ, होटल, वित्त र अन्य समूह बढेका छन् भने बाँकी समूह राताम्मे भएका छन् । बैंकिङ समूह ०.७२, होटल समूह १८.०८, वित्त समूह ३.४३ र अन्य समूह २.७१ अंकले बढेका हुन् । त्यसैगरी, विकास बैंक समूह २.६७, जलविद्युत समूह २.०७, निर्जीवन बीमा समूह १०१.३५, उत्पादनमूलक समूह १०.६१, लघुवित्त समूह १.६३, जीवन बीमा समूह २२.७४ र म्युचुअल फण्ड ०.०१ अंकले घटेका हुन् । आजपनि हिजोजस्तै हिमालयन डिस्टिलरी लिमिटेडको सबैभन्दा बढी १४ करोड ९७ लाख ७१ हजार ५ सय रुपैयाँको सेयर कारोबार भयो । दोश्रोमा नेपाल बैंकको ५ करोड ६५ लाख ५५ हजार ६ सय रुपैयाँ, तेश्रोमा प्रभु बैंक लिमिटेडको ३ करोड ११ लाख २८ हजार ८६ रुपैयाँ, चौथोमा शिवम् सिमेन्टको २ करोड ९९ लाख १७ हजार ५ सय १० रुपैयाँ र पाँचौँमा सिद्धार्थ बैंक लिमिटेडको २ करोड ५५ लाख ३० हजार ४ सय ४४ रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ । बजारको घटेको दिन आज मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी ९.१५ अंकले नाफा कमाएका छन् भने आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी ४.७५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
घोडीघोडा लघुवित्तको आईपीओ २० गतेदेखि, पहिलो कारोबार नै ३०२ रुपैंयासम्म
काठमाडौं । घोडीघोडा लघुवित्तको आईपीओ असार २० गतेदेखि खुल्ने भएको छ । कञ्चनपुरमा मुख्य कार्यालय भई कैलाली र कञ्चनपुर जिल्ला कार्यक्षेत्र रहेको घोडाघोडीको १ लाख ३२ हजार ६०० कित्ता शेयर खुल्न लागेको हो जसमध्ये १ लाख २४ हजार ५९० कित्ता शेयर सर्वसाधारणलाई र बाँकी संस्थाका कर्मचारी र म्युचुअल फण्डलाई दिइने कम्पनीले जनाएको छ । उक्त शेयर न्यूनतम १० देखि १००० कित्तासम्मको लागि आवेदन दिन सकिन्छ । लघुवित्तको शेयर १०१ रुपैंयादेखि ३०२ रुपैंयासम्मको रेञ्जमा कारोबार हुनेछ ।