महिला सहयात्रा माइक्रोफाइनान्सले ८ % नगद लाभांश वितरण गर्ने

काठमाडौँ । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लि.को छैठौं वार्षिक साधारण सभा संस्थाको केन्द्रीय कार्यालय मकवानपुरको थाहा नपा ९, चित्लाङको सभा कक्षमा माघ ५ गते सम्पन्न भयो । सभामा संस्थाका अध्यक्ष भाइराजा तुलाधरले आव २०७४/२०७५ को वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । राष्ट्रिय स्तरको कार्य क्षेत्र र १२ करोेड १० लाख चुक्ता पूँजी रहेको सो वित्तीय संस्थाले आव २०७४÷०७५ को नाफाबाट शेयर धनीहरुलाई कर सहित ८ % नगद लाभांश वितरण गर्ने गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिबेदन र सोहि अवधिसम्मको नाफा नोक्सान पारित गर्नुका साथै आव २०७५/०७६ को लागि वाह्य लेखा परीक्षकमा रञ्जित एण्ड एशोसियट्स चार्टड एकाउन्टेण्ट्स नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । सम्पन्न साधारण सभाले कम्पनीको नाम संशोधन गरी महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि. नामाकरण गर्ने भएका प्रस्ताव पारित गरेको प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धर गुरुङले जानकारी दिइन् ।

अरुण काबेली पावरको सञ्चालक समिति गठन

काठमाडौँ । अरुण काबेली पावर लिमिटेडमा सञ्चालक समिति परिवर्तन भएको भएको छ । पुस ३० गते सम्पन्न सातौं र आठौँ वार्षिक साधारण सभाबाट सञ्चालक समिति गठन गरिएको हो । नयाँ सञ्चालक समितिमा संस्थापक समूहबाट गुरुप्रसाद न्यौपाने, जीवनराम शाक्य, बच्छराज तातेड र भेजप्रसाद तिमल्सिना चयन भएका छन् । त्यसैगरी साधारण समूहबाट मिलन खड्का र नोलकुमारी आचार्य तथा स्वतन्त्र सञ्चालकमा इन्द्रमणि धिताल चयन भएको कम्पनी सचिव सिर्जना खड्काले बताइन् ।

पाण्डे र थापा मिर्मिरे लघुवित्तको सञ्चालक चयन

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडमा संस्थापक समूहका २ जना सञ्चालक चयन भएका छन् । पुस ३० गते बसेको बैठकले सुवर्ण पाण्डे र मोनी बोहरा थापालाई सञ्चालक समितिको सदस्यमा चयन गरेको हो । रिक्त सञ्चालक पदमा बाँकी अवधिका लागि पाण्डे र थापालाई चयन गरिएको कम्पनी सचिव तुलसीराम पाठकले जनाएका छन् ।