हिमालय उर्जाको आईपीओ बाँडफाँड, आवेदन दिने सबैले पाए १० देखि २० कित्ता सेयर
काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको आईपीओ मंगलबार भएको छ । उक्त आईपीओमा रितपूर्वक आवेदन दिने सबै आवेदकले सेयर पाएका छन् । निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्का अनुसार आईपीओमा ६९ हजार ६७० जनाले रितपूर्वक आवेदन दिएका थिए । जसमध्ये ६६ हजार ९५० जनाले २० कित्ताका दरले र २ हजार ७२० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । आईपीओमा कूल ६९ हजार ७०८ वटा आवेदन परेको थियो । जसमा ३८ आवेदकबाट परेको २ हजार ८०० कित्ता आवेदन रद्ध भएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले जानकारी दिएको छ । कम्पनीले गत चैत २० गतेदेखि २५ गतेसम्म निष्काशन गरेको उक्त आईपीओ मंगलबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी बैंकेटमा बाँडफाँड गरेको हो । कम्पनीले कूल १४ लाख ८५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । त्यसमध्ये सर्वसाधारणका लागि १३ लाख ६६ हजार २२० कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमा ४ गुणा बढी आवेदन परेको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेडले जनाएको छ । कूल निष्काशित साधारण सेयरमध्ये कर्मचारीलाई ३ प्रतिशत र सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याईएको छ । तुलनात्मक रूपमा कम लागतमा परियोजना बन्दै गरेको र सम्पन्न हुने चरणमा पुगिसकेकोले लगानीकर्ताले यस कम्पनीको सेयर मन पराएको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताएका छन् । रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मे.वा. को उपल्लो खिम्ति र ७ मे.वा. को अपर खिम्ति–२ गरी कुल १९ मे.वा. का आयोजनाहरु निर्माण गरिरहेको छ । विवरण पत्रमाउल्लेख भएअनुसार १९ मे.वा. निर्माण गर्नको लागि लागत करिव ३ अर्ब १५ करोड रहेको छ । यसरी हेर्दा प्रति मे.वा. लागत करिव १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने उल्लेख छ ।
माउण्टेन हाइड्रोको शेयर कारोबार शुरु, शुरुवाती कारोबारका लागि रेञ्ज कति ?
काठमाडौँ । शेयर बजारमा आजदेखि माउण्टेन हाइड्रोपावर लिमिटेडको शेयर कारोबार शुरु भएको छ । नेपाल स्टक एक्सचेञ्जले सो कम्पनीको शुरुवाती कारोबारका लागि न्यूनतम रु ९३ र अधिकतम रु २८१ बराबरको मूल्य तोकेको छ । कम्पनीले गत चैत २८ गते स्टकमा एक करोड २८ लाख कित्ता शेयर सूचीकरण गरेको थियो । केही समय पहिले मात्रै साधारण शेयर बिक्री गरेको सो कम्पनीसहित शेयर बजारमा २७ जलविद्युत् कम्पनी सूचीकृत भएका छन् ।
पाँच लाख बढीको कारोबारमा प्यान अनिवार्य, ‘शेयर बजारलाई थप व्यवस्थित बनाइने’
काठमाडौँ । पाँच लाख रुपैयाँ भन्दा माथिको शेयर कारोवारमा आजदेखि स्थायी लेखा नम्बर (प्यान) लागू भएको छ । नेपाल धितोपत्र बोर्डको आग्रहमा नेपाल स्टक एक्सचेञ्जले आजदेखि धितोपत्रको कारोवारमा प्यान लागू गरेको हो । रु पाँच लाखभन्दा कम कारोवार गर्नेलाई भने प्यान लागू हुने छैन । धितोपत्रको दोस्रो बजारमार्फत कारोवार गर्नका लागि बोर्डले गत कात्तिक १२ गते आवश्यक निर्णय गरी कार्यान्वयनका लागि स्टकलाई निर्देशन दिएको थियो । सोही आधारमा लगानीकर्ताको सहजीकरणका लागि स्टकले स्थायी लेखा नम्बर दर्ता सहजीकरण डेस्कसमेत खडा गरेको थियो । पछिल्लो पटक चैत १२ गते लगानीकर्ताको माग र सरोकार भएका निकायको ध्यानाकर्षणपछि रु पाँच लाखभन्दा कम कारोवार गर्नेलाई भने ऐच्छिक रुपमा मात्रै प्यान लागू हुने व्यवस्था गरिएको छ । शेयर बजारलाई थप व्यवस्थित बनाउने लक्ष्यका साथ प्यान लागू गरिएको स्टकले जनाएको छ ।