साताको पहिलो दिन घट्यो नेप्से, ३१ करोडको मात्रै कारोबार
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आजपनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८४ बिन्दुले घटेर एक हजार २३३.७१ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४० बिन्दुले घटेर २६७.६० बिन्दुमा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६६ कम्पनीको ११ लाख ४५ हजार ५०७ कित्ता शेयर रु ३१ करोड १७ लाख ५६ हजार ८५६ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको सेयर बढेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १३.७७, होटल १६.४६, वित्त १.२५, अन्य १.८८ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ५.०३, विकास बैंक ४.२९, जलविद्युत् ८.८४, निर्जीवन बीमा ३२.१९, उत्पादन १४.७३, लघुवित्त ६.६ र जीवन बीमा ३७.६६ बिन्दुले घटेको छ । स्टकका अनुसार कारोवारका आधारमा आज रसुवागढी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु चार करोड ५९ लाख ५९ हजार ४६८ बराबरको शेयर कारोवार भयो । यस्तै साञ्जेन जलविद्युत् कम्पनीको रु दुई करोड ७९ लाख ९७ हजार ११४, नेपाल इन्भेस्टमेन्ट बैंक रु एक करोड ३७ लाख ३८ हजार ५३१, नेपाल बैंक लिमिटेड रु एक करोड १८ लाख ४४ हजार ७६६, कृषि विकास बैंक रु एक करोड १० लाख ८३ हजार ३९ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड सात लाख ६३ हजार २७६ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहेको छ । स्टकका अनुसार साल्ट टेड्रिङ कर्पोरेशन ९.११ स्वाभिमान लघुवित्त वित्तीय संस्था ५.५५, सिर्जना फाइनान्स ४.३०, साञ्जेन जलविद्युत् कम्पनी ४.०२, मल्टीपर्पोज फाइनान्स कम्पनी ३.६४ र यूनिभर्सल पावर कम्पनीका शेयरधनीले २.३३ प्रतिशतले कमाएका छन् । यस्तै एनसिसि बैंक ९.९१, जोशी हाइड्रोपावर ८.१०, पाँचथर पावर ८.०२, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर ४.४८, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ४.१३, आशा लघुवित्त ३.५५ र छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ३.५२ प्रतिशतले गुमाएका छन् ।
हिमाल दोलखाको आईपीओ भर्ने समय थप, २८ गतेसम्म आवेदन दिन सकिने
काठमाडौँ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडले गत असार २५ गतेदेखि साउन २४ गतेसम्म निष्काशन साधारण सेयर(आइपीओ) भर्ने समय थप गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडका अनुसार साउन २६ गतेदेखि २८ गतेसम्मका लागि समय थप गरिएको हो । कम्पनीले सर्वसाधारणका लागि खुल्ला गरेको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता सम्पूर्ण सेयरका लागि आवेदन प्राप्त नभएकाले समय थप गरिएको जनाएको छ । प्रति सेयर एक सयका दरले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन सकिने छ । आगामी आवदेखि कम्पनी नाफामा गई सेयरधनीहरुलाई लाभांश दिन सक्ने भएकाले सर्वसाधारण लगानीकर्ताहरुको लागि लगानीको राम्रो अवसर रहेको कम्पनीले जनाएको छ । कम्पनीका बित्तीय म्यानेजर अनन्त कार्कीले कम्पनीले एभरेष्ट बैंकसँग ३३ करोड कर्जा लिएको बताउँदै उक्त आईपीओ निष्कासनबाट प्राप्त हुने सम्पूर्ण आम्दानी रकम बैंकको कर्जा तिर्न उपयोग गरिने बताए । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेड इलाम जिल्लाको इलाम नगरपालिका वडा नं। ९, १० र माईनगरपालिका वडा नं। ९ मा रहेको छ । कम्पनीसँग माई खोला साना जलविद्युत आयोजना(४.५ मेगावाट) र माई खोला साना क्यासकेड जलविद्युत आयोजना(८ मेगावाट) दुवै आयोजनाहरुबाट २०६७ फागुन १ र २०७५ चैत २६ गतेदेखि ब्यापारिक उत्पादन शुरु भैसकेको छ । यस कम्पनीले केबीएनआर इशुवापावर लिमिटेड (९७.२ मेगावाट) मा १९५ शेयर लगानी गरेको छ । उक्त आयोजनामा प्रति मेगावाट लागत १० करोड रहेको र सोबाट प्रति मेगावाट ४.३५ करोड आम्दानी हुने जनाएको छ ।
आरएमडीसी लघुवित्तले २६ जनालाई दियो प्रशिक्षक प्रशिक्षण तालिम
काठमाडौँ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाल अन्तराष्ट्रिय श्रम संगठनले तयार पारेको ‘स्टार्ट एण्ड इम्प्रुभ योर विजनेश’ प्रशिषक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । साउन १७ गतेदेखि २३ गतेसम्म तालिम सञ्चालन भएको हो । सो तालिममा आरएमडीसीका १२ वटा साझेदार संस्थाहरुबाट २६ जना वरिष्ठ तहका कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त तालिमको माध्यमबाट साझेदार संस्थाका वरिष्ठ तहका कर्मचारीहरुलाई यस विषयको प्रशिक्षक तयार गर्ने र शाखा कार्यालयका प्रवन्धकहरु र फिल्ड सहायकहरुलाई प्रशिक्षण दिई ग्राहकहरुलाई तालिम प्रदान गरी ग्राहक सदयस्यहरुमा उद्यमशीलता बिकास गर्ने उद्देश्य रहेको छ । तालिममा सेन्टर फर माइक्रोफाइनान्स नेपालका प्रशिक्षकद्वय सनद राजभण्डारी ररुद्र पराजुलीले छलफल, खेल लगाएतका विभिन्न विधिमार्फत सहभागितामूलक रुपमा तालिमको सहजीकरण गरेका थिए । तालिमको अन्तिम दिन नेपाल राष्ट्र बैंक, लघुवित्त प्रवद्र्वन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले लघुवित्तको अवस्था तथा यसका चुनौती सम्बन्धी प्रस्तुुतीकरण गर्नुका साथै सहभागीहरुको जिज्ञासा समाधान गरेका थिए । तालिमको समापन समारोहको अध्यक्षता आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले गरेका थिए । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत ओझाले तालिम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने प्रशिक्षक, आयोजक तथा सहभागीहरु लाई धन्यबाद दिदै तालिममा हासिल गरेका ज्ञान, सीप र क्षमतालाई आफ्नो कार्यक्षेत्रमा सदुपयोग गर्न आग्रह गरेका थिए ।