तीन वाणिज्य बैंकले २ अर्ब ७० करोडको म्युचअल फण्ड बिक्री गर्ने
काठमाडौं । बजारमा विभिन्न तीन वाणिज्य बैंकले कुल २ अर्ब ७० करोड रुपैयाँ बराबरको सामूहिक लगानी कोष(म्युचअल फण्ड) बिक्री गर्ने भएका छन् । नबिल, सिटिजन्स र नेपाल इन्भेष्टमेन्ट बैंकले गरी २७ करोड इकाई फण्ड निष्काशन गर्न लागेका हुन् । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपश्चात यी तीन कम्पनीले सो मात्राको फण्ड निष्काशन गर्ने भएका छन् । सो मध्ये नबिल बैंकले एक अर्ब २० करोडको १२ करोड इकाई नबिल ब्यालेन्स फण्ड २ निष्काशन गर्न लागेको हो । बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङबाट सो मात्राको फण्ड बिक्री गर्न बोर्डको अनुमति पाएको हो । त्यस्तै, सिटिजन्स बैंकले एक अर्बको १० करोड इकाई सिटिजन्स म्युचअल फण्ड २ बिक्री गर्न बोर्डको अनुमति पाएको छ । बोर्डको अनुमति अनुसार बैंकले सीबीआईएल क्यापिटलमार्फत फण्ड निष्काशन गर्ने छ । साथै, बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंकलाई ५० करोडको ५ करोड इकाई एनआईबिएल सहभागिता फण्ड निष्काशन गर्न अनुमति दिएको छ । यसको फण्ड म्यानेजको काम एनआईबिएल एस क्यापिटलले गर्ने छ ।
इसेवाको रिफर एण्ड अर्न अफर, ‘इसेवा चलाउँदा ३० रुपैयाँ बोनस’
काठमाडौँ । इसेवाले आफ्ना ग्राहकको हितको लागि रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको छ । नगदरहित समाज निर्माणको लागि आफु पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियान अन्तरगत इसेवाले हरेक व्यक्तिलाई अभियन्ताका रुपमा प्रोत्साहन गर्न यो अफर सार्बजनिक गरेको जनाएको छ । यो अफर अन्तरगत इसेवा चलाउन सिकाए बापत प्रति ग्राहक रु ३० सम्म बोनस प्राप्त गर्न सकिन्छ । यसमा आफ्ना परिवार, साथिभाइ तथा आफ्नो मोबाईलमा रहेका समपर्क नम्बरहरूलाई इसेवा चलाउन सिकाउन सकिनेछ । इसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले हरेक नेपालीलाई डिजिटल अभियन्ता बनाउनका लागि रिफर एण्ड अर्न अफर सुरु गरेको बताए । उनले भने–‘डिजिटल नेपाल निर्माणका लागि सबै निकायले जोड दिइरहेका बेला हामीले पनि इसेवा मार्फत यो अभियानलाई सार्थक बनाउन रिफर अफर सञ्चालन गरेका हौँ ।’ इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिने जनाइएको छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
साञ्जेन र रसुवागढीले भन्यो-‘चाहिएकोभन्दा धेरै आवेदन पर्यो, मंगलबार आईपीओ बन्द हुन्छ’
काठमाडौं । साञ्जेन र रसुवागढी हाइड्रोपावरले मंगलबार आईपीओ निष्कासन बन्द गर्ने भएको छ । छिटोमा बन्द हुनेगरी तय गरेको निष्कासन अवधिमा मागभन्दा बढी आवेदन परेको भन्दै साञ्जेन र रसुवागढीले मंगलबारदेखि नै आईपीओ बन्द गर्ने जनाएको हो । साञ्जेनको निष्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोष र रसुवागढीको निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले छुट्टाछुट्टै सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन् । गत शुक्रबारदेखि खुला भएको ती दुई कम्पनीको आईपीओमा सर्वसाधारणको आकर्षण देखिएपछि मंगलबार बैंकिङ समयभित्र उक्त आईपीओ भर्ने समय रहनेछ ।