युनाईटेड फाइनान्स र एनबीआईबीच सम्झौता

काठमाडौँ । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि.(एनबीआई) र युनाईटेड फाईनान्स लि.बीच भदौ ४ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार एनबीआईले युनाईटेड फाईनान्स लि.का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । उक्त सम्झौता पत्रमा युनाईटेड फाईनान्स लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।

आशा लघुवित्तद्वारा १२ प्रतिशत सेयर लाभांश दिने घोषणा

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई १२ प्रतिशत सेयर लाभांश दिने घोषणा गरेको छ । साउन ३१ बसेको कम्पनी सञ्चालक समितिको बैठकले आव २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने २ करोड ४८ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर लाभांश वितरणको प्रस्ताव गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकबाट स्वीकृति पछि साधारण सभाले पारित गरेपछि सेयर लाभांश वितरण हुने कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद दुलालले जनाएका छन् ।

१५ प्रतिशत नगद लाभांश दिने नेपाल एग्रो लघुवित्तको घोषणा

काठमाडौँ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनी सञ्चालका समितिको साउन ३२ गते साँझ बसेको बैठकले चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने रकम रु. ७४ लाख ६६ हजार ६ सय ७० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । राष्ट्र बैंकबाट स्वीकृति पछि साधारण सभाले पारित गरेपछि मात्र नगद लाभांश वितरण गरिने प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव तेजेन्द्र शर्मा लम्सालले जनाएका छन् ।