७.४९ अंकले बढ्यो नेप्से, ९६ करोडको कारोबार
काठमाडौ । साताको चौथो दिन नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ७.४९ अंकले बढेको छ । ०.५७ प्रतिशतले बढ्दा नेप्से परिसूचक १३१९.६३ बिन्दुमा पुगेको हो । बुधबार सेयर बजारमा १७१ कम्पनीले सेयर कारोबार गरेका छन् । ३४ लाख ३६ हजार ९ सय ३७ कित्ता सेयर खरिद बिक्री हुँदा ९६ करोड ६६ लाख ९३ हजार २ सय ४९ रुपैयाँको कारोबार भएको छ । बजार बढेको दिन नेप्सेका २ सूचक मात्र राता देखिए भने बाँकीमा हरियाली छायो । बैंक समूह २.५९, होटल समूह ५२.२३, विकास बैंक समूह ६.०३, जलविद्युत समूह ६८.६३, वित्त ४.०३, निर्जीवन बीमा १०.९४, अन्य ८.१३, माईक्रोफाइनान्स ७.२१ र जीवन बीमा समूह ४३.५९ अंकले बढेका छन् । बजार बढेको दिन उत्पादनमूलक समूह ८४.५३ अंकले र म्यूचुअल फण्ड ०.२ घटेका छन् । बुधबार अरुण भ्याली हाईड्रो पावर डेभलपमेण्ट कम्पनीका लगानीकर्ताले १० प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने घलेम्दी हाईड्रोका लगानीकर्ताले ९.४८ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
कुवेतमा पनि ‘मेगा रेमीट’को सेवा, सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनीसँग सम्झौता
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कुवेतमा ‘मेगा रेमीट’ सेवा विस्तार गरेको छ । मेगा बैंक र कुवेतको सबैभन्दा ठूलो रेमीट्यान्स कम्पनी अल मुल्ला एक्सचेन्जबीच रेमीट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको हो । अल मुल्ला एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ । अल मुल्ला एक्सचेन्जका ८५ वटा शाखाबाट नेपालीहरुले नेपालमा मेगा रेमीटमा रकम पठाउन सक्नेछन् । यसका साथै, अलमुल्लाको मोबाइल एपमार्फत पनि नेपालीहरुले रकम पठाउन सक्ने मेगा बैंकले जनाएको छ । ‘मेगा रेमीट’ सेवालाई संसारका बिभिन्न देशहरुमा जोड्ने क्रममा मेगा बैंकले कुवेतमा पनि सेवा विस्तार गरेको जनाएको छ ।
हिमाल दोलखाले ७८ लाख कित्ता साधारण शेयर बिक्री गर्ने, बोर्डले दियो स्वीकृति
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हिमाल दोलखा हाइड्रोपावर कम्पनीलाई साधारण शेयर बिक्रीका लागि स्वीकृति दिएको छ । बोर्डका अनुसार कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित इलामका बासिन्दालाई १६ लाख कित्ता साधारण शेयर बिक्री गर्नेछ । दोस्रो चरणमा ६२ लाख कित्ता साधारण शेयर आम सर्वसाधारणलाई बिक्री गर्नेछ । कम्पनीले कूल ७८ लाख कित्ता साधारण शेयर बिक्री गर्ने गरी बोर्डबाट स्वीकृति पाएको हो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ । केयर रेटिङ नेपाल लिमिटेडले गरेको वित्तीय विश्लेषणमा ग्रेड चार प्राप्त गरेको छ । कम्पनीले निर्माण गरेको ४.५५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत् आयोजना र आठ मेगावाट क्षमताको माई साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । दुवै आयोजना इलाममा अवस्थित छ । बोर्डले हालसम्म विभिन्न २५ कम्पनीलाई रु सात अर्ब २४ करोड चार लाख १६ हजार ८०० बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिइसकेको छ ।