पूँजीगत लाभकरको विषयमा सहमति जुटेसँगै ६ अंकले बढ्यो नेप्से

काठमाडौ । पूँजीगत लाभकरको विषयमा सहमति जुटेसँगै नेपाल स्टक एक्सचेञ्ज(नेप्से)परिसूचक ६.२० अंकले बढेको छ । ०.४९ प्रतिशतले बढ्दा नेप्से परिसूचक १२६५.५७ बिन्दुमा पुगेको हो । बुधबार सेयर बजारमा १ सय ६९ कम्पनीले कारोबार गरे । १२ लाख ६१ हजार ५ सय ९० कित्ता सेयर किनबेच हुँदा ३५ करोड ७८ लाख ३६ हजार १ सय ८५ रुपैयाँको कारोबार भएको छ । नेप्सेको १ सूचक रातो रहँदा अन्य सबै हरियो रहेका छन् । विकास बैक समूह ०.८४ अंकले घटेको हो । बैंक समूह २.०३, ट्रेडिङ् समूह ३.२२, होटल समूह ५.७३, जलविद्युत समूह ०.१७ वित्तीय समूह २.२२, निर्जीवन बीमा समूह ५३.९६, उत्पादनमूलक समूह १३.३२, अन्य २.२८, माईक्रोफाईनान्स ५२.४५, जीवन बीमा समूह ४६.५ र म्यूचुअल फण्ड समूह ०.०८ अंकले बढेका छन् । आज सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने यूनियन हाइड्रो पावर लिमिटेडका लगानीकर्ताले ४.१० प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

सेल पे सेवा शुभारम्भ, यसरी गर्नुस् भुक्तानी र रकम स्थानान्तरण

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राइभेट लिमिटेडले सेल पे सेवा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मंगलबार साँझ राजधानीमा आयोजित एक समारोहका बीच उक्त सेवा शुभारम्भ गरेका हुन् । सेल पे सेवाबाट मोवाइल तथा वेब एप्लिकेशनको माध्यमबाट बिना कुनै वालेट बनाई आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ । सेल पे सेवा विभिन्न अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणाली अपनाई विकसित गरिएको कम्पनीले जनाएको छ । विभिन्न दूर सञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट, सिनेमाहलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, पीटुजी, बीटुपी, बीटुबी र बीटुजी आदि वास्तविक समयमा कार्य गर्ने सेवा प्रदायक कम्पनीको रुपमा स्थापित सेलकम प्रालिले नेपाली उपभोक्ताहरुलाई लक्षित गर्दै सेल पे को शुरुवात गरेको हो । सेल पे सेवा कसरी प्राप्त गर्ने ? सर्वप्रथम गुगल प्ले स्टोर वा एप्पल एप स्टोर वा सेल पेको वेबसाइटमा गई सेल पे एप्स आफ्नो स्मार्टफोनमा डाउनलोड गर्नु पर्नेछ । त्यसपछि एपमा भनिए अनुरुप आफूलाई दर्ता गरी आवश्यक केवाईसी जानकारीहरु भरी आफ्नो बैंक खाताहरुमा जोड्न सकिने र आफ्ना भुक्तानीहरु गर्न सकिने कम्पनीले जनाएको छ ।

बलेफी हाइड्रोले आइपीओ निष्काशन गर्ने, आइएमई क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौँ । बलेफी हाईड्रोपावर लिमिटेडले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । हाईड्रोपावरको प्रति सेयर १०० अंकित दरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर (स्थानीय बासिन्दा समेत) सर्वसाधारणहरुमा निष्कासन गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सेयर निष्कासन सम्बन्धी सम्झौता–पत्रमा हाईड्रोपावरका कार्यकारी अध्यक्ष उमेश कसजु र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् । कम्पनीले ३६ मेगावाट क्षमताको विद्युत उत्पादन गर्नेछ । यस कम्पनीले सर्वसाधारण सेयर निष्कासनका लागि रेटिङ्ग एजेन्सिबाट आईपिओ ग्रेड ४ प्लस प्राप्त गरेको छ ।