नबिल इन्भेष्टले ल्यायो नयाँ योजना, डिम्याट खाता खोल्दा ५ वटा सेवामा शुल्क नलाग्ने
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ले डिम्याट खाता खोल्नको लागि ‘पञ्चगुणी डिम्याट सेवा’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । साउन १ गतेदेखि शुरु भएको यस योजना बढीमा साउन मसान्तसम्म लागू हुने छ । लगानीकर्ताहरुलाई नेपालको वित्तीय बजार पनि एउटा लगानीको क्षेत्र हुन सक्छ भन्ने उद्देश्यका साथ लगानीकर्तालाई सेयर बजारमा प्रवेश गराउन सर्वप्रथम डिम्याट खाताको आवश्यक पर्ने भएकोले उनीहरुको ध्यानमा राखी उक्त योजना सार्वजनिक गरेको हो । यो योजनामा यस कम्पनीले दिंदै आएको वित्तीय बजारसँग सम्बन्धित विभिन्न ५ (पाँच) वटा सेवाहरुमा लाग्ने शुल्क तथा दस्तुरहरुमा एकपटकको लागि पूर्णरुपमा छुट हुनेछ । पूर्णरुपमा शुल्क छुट हुने सेवाहरु निम्न बमोजिम रहेको छ । यस सुविधाबाट लगानीकर्ताले बढीभन्दा बढी फाइदा लिन सक्ने संस्थाको विश्वास रहेको छ । लगानीकर्ताहरु र उद्यमीहरुको हितलाई ध्यानमा राख्दै नबिल इन्भेष्टले पछिल्ला दिनहरुमा इन्भेष्टमेण्ट बैंकिंग सुविधाहरु संचालनमा ल्याउँदै आएको छ । जसमा लगानी तथा प्राईभेट ईक्विटी परामर्श, विजनेश क्लिनिक, सम्भाव्यता अध्ययन, उद्यमी र लगानीकर्ताहरुलाई जोड्ने र सहज र छिटो बैंक कर्जा उपलब्ध गराउने उपाय सहित एकै छाना मुनि पुरै सबै आर्थिक तथा वित्तीय समाधानहरु पर्दछन् ।
एनआरएन इन्फ्रास्टक्चरले साउन १६ गतेदेखि आईपीओ जारी गर्ने, अन्य क्षेत्रकै पहिलो
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आगामी साउन १६ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले सर्वसाधारणमा ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको हो । संस्थाले हाल कायम रहेको जारी पुँजीको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो । हाल संस्थाको जारी पुँजी एक अर्ब १३ करोड २६ लाख ८२ हजार एक सय रुपैयाँ रहेको छ । यसको ३० प्रतिशत अर्थात ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता सेयर निष्काशन गर्न लागेको संस्थाले जनाएको छ । जसमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गरिने संस्थाले जानकारी गराएको छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । अन्य समूह अन्तर्गतकाे रहेकाे यस कम्पनीको आईपीओ अन्य क्षेत्रमा नितान्त पहिलो प्राथमिक निष्काशन रहेको कम्पनीले जनाएकाे छ ।
साधना लघुवित्तको आईपीओ बाँडफाँड आज ५ बजे
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) आज(असार २९ गते) बाँडफाँड हुने भएको छ । आज साँझ ५ बजे काठमाडौंको जमल स्थित सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा हुने भएको छ । संस्थाले सेयर निष्काशन बन्द गरेकाे ५ दिनमै बाँडफाँड गर्न लागेकाे हाे । उक्त सेयरकाे निष्काशन बन्द गत असार २४ गते भएकाे थियाे । माग गरेभन्दा बढी आवेदन परेपछि संस्थाले छिटो मितिमा सेयर निष्काशन बन्द गरेकाे हाे । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार ४ लाख ५८ हजार ६ सय ४३ जनाले एक करोड १२ लाख ५९ हजार ८ सय ५० कित्ता सेयरको लागि आवेदन दिएका छन् । जुन संस्थाले सर्वसाधारणमा बिक्री गरेको भन्दा १७ गुणा बढी हो । संस्थाले सर्वसाधारणका लागि ६ लाख ६१ हजार ५ सय २० कित्ता सेयर बिक्रीमा राखेको थियो । संस्थाले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ७ लाख ७ हजार ८ सय कित्ता अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको थियाे । जसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, सर्वसाधारणलाई छुट्याएको सेयर मध्येको ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहेकाे ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे हाे ।