सुधिर बस्नेतले भने-निक्षेपको प्रमाण लिएर आउनुस्, पैसा लैजानुस्

काठमाडौ । ओरेयन्टल को-अपरेटिभ लिमिटेडले निक्षेपकर्तालाई प्रमाण लिएर आउन र पैसा फिर्ता लैजान भनेकाे छ ।  सहकारीका अध्यक्ष सुधिर बस्नेतले उक्त आग्रह गरेका हुन् । पीडितहरुको आधिकारीक प्रतिनिधि अध्यक्ष कुन्तिदेवी पोखरेलसँग २०७५ असार २६ गते त्रिपक्षीय सम्झौता र २०७६ वैशाख ३१ गते द्धिपक्षीय सहमति सम्झौता समेतको आधारमा जग्गा बेचेर निक्षेपकर्तालाई पैसा फिर्ता गर्न लागेकाे उनले बताएका छन् । ओरेयन्टल विल्डर कम्पनी घरजग्गा व्यवसाय डुबेपछि ओरेयन्टल सहकारी पनि संकटमा परेकाे थियाे । सहकारीमा बचत गर्नेले साँवा व्याज पाएका थिएनन् । ओरेयन्टल को-अपरेटिप साउन २९ गतेबाट ६० दिनभित्र निक्षेप दावी गर्न निक्षेपकर्तालाई सार्वजनिक सूचना नै जारी गरेकाे छ ।  निक्षेपकर्ताले सहकारीकाे वेवसाइटमा गइ निक्षेप रहेको शाखा, निक्षेप जम्मा गरेको खाता नम्बर, बचत रकम, सम्पर्क नम्बरसहितकाे फारम भर्ने आग्रह गरेकाे छ । काेभिड संक्रमणकाे जाेखिम रहेकाेले कार्यलयमा भिडभाड नगर्न र अनलाइनबाट निक्षेप दावी गर्न आग्रह गरिएकाे बस्नेतले बताए । निक्षेपको विषयलाई लिएर मुद्दामा गएका निक्षेपकर्तालाई अदालतकाे पैसला आएपछि मात्र भुक्तानी गर्ने उनले बताए । सहकारीका निक्षेपकर्ता र घरजग्गाकाे लागि अग्रिम भुक्तानी गरेका पीडितले उजुरी गरेपछि उनी लामाे समय जेलमा समेत परेकाे थिए । जेलबाट निष्किएपछि उनी व्यवसाय बचाउने प्रयासमा छन् ।

चन्द्र साउदजी ! वेबसाइट मात्रै बन्द गर्ने कि नेप्से नै बन्द गर्ने ?

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न भन्दै सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन जारी गर्यो । तर, चैत ९ र १० गते सेयर कारोबार हुने दिन भएको पनि नेपालको धितोपत्र बजार करिब बन्द नै भयो । सरकारले असार १ गतेदेखि लकडाउन क्रमशः खुकुलो बनाउँदै लग्यो । असार १ गतेदेखि सामान्य पान दुकानसमेत खुले पनि पुँजी बजार खुलेन । बजार खुलाउनु पर्छ भन्ने पक्ष र विपक्षमा तर्क र वहस भइरहे भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पूर्वाधार कमजोर भएको कारण अनलाइन ट्रेडिङ गराउन नसकिएको पछि प्रष्ट भयो । नेप्सेको प्रणालीमा देखिएको खराबीकै कारण पुँजी बजार संचालन गर्न थप १५ दिन कुर्नुपर्यो । नियामक निकाय धितोपत्र बोर्डको अनेकन प्रयत्नको बाबजुत १५ असारदेखि मात्रै सेयर बजार खुलेको छ । तर, खुलेको बजारमा पनि समस्या धेरै देखिएका छन् । नेप्सेको अनलाइन प्रणालीमा समस्या उत्पन्न हुँदा लगानीकर्ताले हैरानी व्यहोर्नु परेको हो । बजार संचालन गर्ने नेप्सेले पूर्वाधार बलियो नबनाउँदा लगानीकर्तादेखि सरोकारवाला सबै हैरान भएका छन् । कमजोर पूर्वाधार नेप्सेलाई कसरी संचालन गरेर प्रविधिमैत्री बनाउनु पर्छ भन्ने सामान्य ज्ञान पनि नभएको व्यवस्थापकीय नेतृत्वको कारण नेपाली पुँजी बजार वास्तविक बजार बन्न नसकेको एक लगानीकर्ताले बताए । ‘नेप्सेका प्रमुख कार्यकारी अधिकृतलाई दिउसै काम सक्ने हतारो हुन्छ, साँझ परेपछि उहाँको व्यक्तिगत काम अरु नै छ जस्तो देखिन्छ, बजारमा नयाँ प्रविधि र लगानीकर्तामैत्री वातावरण कसरी बनाउने भन्ने विषयमा नेप्सेको नेतृत्वको ध्यान छदै छैन, उसको चिन्ता र चासो अन्यत्र छ जस्तो देखिन्छ, त्यसैले नेपाली पुँजी बजार अरुले आरोप लगाए जस्तै जुवाघर नै हो कि भन्ने पनि लाग्न थालेको छ,’ एक लगानीकर्ताले भने । अहिले नेप्सेको वेबसाइट खुल्दैन । वेबसाइट नखुलेका कारण लगानीकर्ताले पाउनु पर्ने सामान्य जानकारी र सुचना पाउन सकिरहेका छैनन् । यस्तै, नेप्सेले ब्रोकरलाई उपलब्ध गराएको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) पनि चलेको छैन । लकडाउनपछि खुलेको बजारमा केही दिनसम्म नेप्सेले निश्चित ब्रोकरलाई सेल र बाइको अर्डर हाल्नको लागि संख्या नै तोकेर नियन्त्रण गर्ने प्रयास गरेको थियो । अहिले पनि प्रणालीमा समस्या उत्पन्न भएको छ । ‘नेप्सेको वेबसाइट बन्द गरेर राखिएको छ, कति पैसामा किनिएको हो, किन समस्या आएको हो भनेर कुनै निकायले पनि नहेर्ने कस्तो अचम्मको निकाय रहेछ नेप्से, यसरी वेबसाइट बन्द गरेर राख्नु वा सेयर खरिद विक्रीको लागि चाहिने आवश्यक पूर्वाधार उपलब्ध गराउन नसक्ने हो भने वेबसाइट मात्रै होइन, नेप्से नै बन्द गरे भयो नि,’ अर्का एक लगानीकर्ताले आक्रोस पोख्दै भने । नेप्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा चन्द्रसिंह साउद छन् । संचालक समिति अध्यक्षमा लक्ष्मण न्यौपाने छन् । यस्तै, संचालकहरुमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु देबकुमार ढकाल, मुकुन्द कुमार क्षेत्री, अर्थमन्त्रालयका उपसचिब रमेश अर्याल, राष्ट्रिय बाणिज्य बैंकका चिफ म्यानेजर देबेन्द्र कुमार खनाल र स्वतन्त्र संचालकको रुपमा लक्ष्मीप्रसाद महर्जन छन् । नेप्सेले बजार संचालनको लागि पूर्वाधार नै उपलब्ध नगराउँदा पनि संचालकहरु किन रमिता हेरेर बसेका छन् भन्ने प्रश्न अहम बनेको लगानीकर्ताको भनाइ छ ।

विदेशी लगानी भित्र्याउन सजिलो हुने गरी विशिष्टीकृत लगानी कोष संशोधन गरियो

काठमाडौं । धितोपत्र बोर्डले विदेशी कोष र विदेशी लगानीलाई भित्र्याउन र प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डको दायरा विस्तार गर्न विशिष्टीकृत लगानी कोष सम्बन्धी नियमावली संशोधन गरेको छ । संशोधित व्यवस्थाले विदेशी कोष र विदेशी लगानीलाई भित्र्याउन र प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डको दायरा विस्तार गरी डेब्ट इन्स्ट्रुमेन्ट र ऋणलाई समावेश गर्न सहज हुने बोर्डको भनाइ छ । संशोधित विशिष्टीकृत लगानी कोष नियमावली साउन १ गतेदेखि लागू गरिएको बोर्डले जानकारी दियो । यस्तो भयो नयाँ प्रमुख व्यवस्था –विदेशमा दर्ता भएको कोष वा कोष व्यवस्थापकले प्रचलित नेपाल कानूनको अधिनमा रही त्यस्तो कोष वा कोष व्यवस्थापकको पूर्ण वा अधिकांश स्वामित्वमा नेपालमा कोष स्थापना वा कोष व्यवस्थापनको कार्य गर्न सक्ने व्यवस्था गरिएको छ । –प्राइभेट इक्वीटी फण्डको दायरा विस्तार गरी प्राइभेट इक्वीटीको परिभाषामा साधारण शेयरमा परिवर्तनीय धितोपत्र वा ऋणको स्वरुप भएको उपकरण (डेब्ट इन्स्ट्रुमेन्ट) वा ऋण वा स्वःपूँजीसँग सम्बन्धित अन्य उपकरणमा लगानी गर्ने कोष भनी थप गरिएको छ । –भेन्चर क्यापिटल फण्डको दायरा विस्तार गरी परिभाषामा ऋणको स्वरुप भएको उपकरण (डेब्ट इन्स्ट्रुमेन्ट) वा ऋण लगानी गर्ने कोष समेत थप गरिएको छ । –योग्य लगानीकर्तामा द्विपक्षीय वा बहुपक्षीय अन्तराष्ट्रिय संस्थागत लगानीकर्ताको साथै विदेशी व्यक्ति, विदेशी फर्म, विदेशी कम्पनी, विदेशी संस्थागत लगानीकर्ता, विदेशमा दर्ता भएको कोष, विदेशी कोष व्यवस्थापक र अन्य यस्तै प्रकारको संगठित संस्थालाई समावेश गरिएको छ । नियमावलीको संशोधनका व्यवस्थाहरुले पूजी बजारमा विदेशी कोष र लगानीलाई भित्र्याउन सहज गर्न सक्ने वोर्डको अपेक्षा गरेको छ । यस्तो छ नियमावलीको पूर्णपाठ [pdf id=228543]