१० वर्षभित्र दीगो विकास लक्ष्य हासिल गर्न नेपाललाई १ खर्ब ३४ अर्ब रुपैयाँ आवश्य

काठमाडौं । सवै पक्षको संलग्नता, सहकार्य, प्रतिवद्धता र जवाफदेहिता भएमा मात्र दीगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सकिनेमा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय योजना आयोगकी योजना अधिकृत सर्मिला कार्कीले दिगो विकास लक्ष्यका सवै बुँदामा स्वास्थ्य जोडिने भएकाले यसमा चनाखो भइ योजना आयोग अगाडि वढिरहेको बताए । सन् २०३० सम्ममा स्वास्थ्यसम्वन्धि दीगो विकास लक्ष्य हासिल गर्नका लागि नेपाललाई १ खर्ब ३४ अर्ब रुपैयाँ आवश्यक पर्ने पनि उनको भनाई छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) को आयोजनामा शुक्रवार भएको दीगो विकास लक्ष्यसम्बन्धि चौंथो राष्ट्रिय परामर्श गोष्ठीमा सरोकारवालाहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा विश्व स्वास्थ्य संगठनका जनस्वास्थ्य प्रशासक डा.मोहम्मद खुर्सिद अलाम हैदरले नेपालमा स्वास्थ्यसम्वन्धि दिगो विकास लक्ष्य हासिल गर्नका लािग प्राथमिक स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्नुपर्ने, तीनओटै सरकारका अंगहरुको क्षमता र सहकार्य वृद्धि गर्नुपर्नेमा जोड दिए । ्कार्यक्रममा आयोजक समितिका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले गैरसरकारी संस्थाहरुको दायित्व र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको जिम्मेवारी तथा कर्तव्यबोध गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जानकारी दिए । दीगो विकास लक्ष्यअन्तर्गतको लक्ष्य नं ३ हासिल गर्नका लागि गरिएको राष्ट्रिय परामर्श गोष्ठीमार्फत नेपालले बनाउन लागेको स्वयंसेवी राष्ट्रिय समीक्षा (भोलुन्टियर नेसनल रिभ्यू) का लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ । सो प्रतिवेदन राष्ट्रिय योजना आयोगले अव आउने संयुक्त राष्ट्र संघको विश्व सम्मेलनमा पेश गरिनेछ । कार्यकारी निर्देशक मुल्मीले दीगो विकासका लक्ष्य अन्तराष्ट्रिय प्रतिवद्धता अनुसार आएको र नेपालले कार्यान्वयनका लागि प्रतिबद्धता जनाइ सूचकहरु समेत निर्माण गरी सोही अनुरुप बजेट तर्जुमा गरिसकेको परिवेशमा सवै पक्षको उत्तिकै भूमिका रहने स्पष्ट पारे । राष्ट्रिय योजना आयोगका सदस्य उषा झाले दीगो विकास लक्ष्य पूरा गर्नु नेपालको समग्र विकासको लागि पनि आवश्यक छ । तर, यसको लागि राजनीतिक एवं प्रशासनिक प्रतिबद्धता, स्थानीय तहसम्मको साझा रणनीति निर्माण र कुशल नेतृत्व आवश्यक रहेको बताए । दीगो विकास लक्ष्य हासिल गर्नका लागि केन्द्र, प्रदेश र स्थानीय स्तरमा सवै पक्ष समेटिने गरी समिति निर्माण गरिएको पनि उनले जानकारी दिए । नेपालले बनाएको दीगो विकास लक्ष्य अनुसार २५ वर्षपछि नेपालीको प्रतिव्यक्ति आम्दानी १२ हजार डलर पुग्नेछ । यसका लागि आयोगले पहिलो ५ वर्ष आधार निर्माण गर्नेछ । त्यसपछिको १० वर्षमा देखिने गरी परिवर्तन गर्ने योजना रहेको उनले बताइन् । यसका लागि सरकारका सवै अंगहरुको उत्तिकै सक्रियता आवश्यक रहेको उनले जोड दिइन् । सरकारले दीगो विकास लक्ष्य नं ३ हासिल गर्नका लागि सवै वडामा आधारभुत स्वास्थ्य सेवा पु¥याउने र सवै पालिकामा अस्पताल र डाक्टर पु¥याउने कार्ययोजना बनाएको जानकारी पनि उनले दिइन् । अन्तराष्ट्रिय गैर सरकारी महासंघका रामनरेस यादवले अहिले पनि केन्द्र, प्रदेश र स्थानीय तहमा जाँदा नीतिगत रुपमा समस्या रहेको बताए । उनले सरकार, निजी क्षेत्र र नागरिक समाज नमिलेसम्म स्थानीय तहमा स्वास्थ्य सेवाको सुनिश्चिता हुन नसक्ने बताए । उनले भने,‘कुनै पनि निजी क्षेत्र वा नागरिक समाजले जति कराए पनि औषधीको गुणस्तर र स्वास्थ्य प्रविधिको गुणस्तर नभएसम्म केही हुने वाला छैन । ’ गैरसरकारी संस्था महासंघका अध्यक्ष जीतराम लामाले दीगो विकास लक्ष्यका सवै सूचकहरुको स्थिति कस्तो छ भनेर अध्ययन हुनुपर्नेमा जोड दिए । दीगो विकास लक्ष्य हासिल गर्नका लागि नागरिक समाजको भूमिका अझै पनि स्पष्ट नभएकोमा उनले आश्चर्य व्यक्त गरे । जनताको स्वास्थ्य अभियन्ता प्रा.डा.शरदराज वन्तले कुनै पनि तवरबाट गरिब तथा निमुखा परेका लगायतका जनताको स्वास्थ्य अधिकार रक्षा हुनुपर्ने र समानता एवम् सामाजिक न्यायको सिद्धान्तको आधारमा दीगो विकास लक्ष्य चल्नुपर्ने स्पष्ट पारे । अहिले १ जनाले कमाएकोबाट १ हजारलाई खान पुग्ने भए पनि १ करोड जनता भोकै रहेको र २० अर्व जनतालाई पुग्ने गरी घरहरु भएता पनि १ चौथाइ मानिस बेघर रहेको दृष्टान्त उनले प्रस्तुत गरे । सामाजिक न्याय र असमानताका कारण विश्वको आधा सम्पत्ति २८ जनाको हातमा पुगेको पनि उनले जानकारी दिए । नेपालीहरु आर्थिक रुपमा र वैचारिक रुपमा परनिर्भर भएकाले विकास दिगो रुपमा हुन नसकेको पनि उनले जिकीर गरे । एसडीजी नेसनल नेटवर्कका दयासागर श्रेष्ठले स्वास्थ्यका कारण नेपाली जनता गरिब हुँदै गइरहेको र दीगो विकास लक्ष्यका सवै लक्ष्यहरुमा स्वास्थ्य प्रत्यक्ष र अप्रत्यक्ष रुपमा समाहित हुने बताए । वातावरण, सडक सुरक्षा, खानेपानी र सरसफाइमा नेपाल झन झन पछाडि पर्दै गएकोमा पनि उनले दुःख प्रकट गरे । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठले कोरोना भाइरसको २० ओटा मात्र केस नेपालमा देखियो भने सवै क्षेत्रबाट नाकाबन्दी भइ समस्या आउने भएकाले सरकार अहिले यसमा सजग रहेको जानकारी दिए । कुपोषण, क्षयरोग, मलेरिया, कुष्ठरोग, कालाजार, हात्तीपाइले रोग निर्मुल गर्न समस्या भइरहेको पनि उनले स्पष्ट पारे ।

को बन्ला अर्थमन्त्री ? प्रधानमन्त्रीले भने: ‘कि वार कि पार मैले युवराजलाई नै निरन्तरता दिने हो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई अर्थमन्त्रीको रुपमा निरन्तरता दिने खुलेको छ । नेकपाका एक उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. खतिवडालाई नै अर्थमन्त्रीको रुपमा निरन्तरता दिने बताएका हुन् । बुधबार नेकपा सचिवालयले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने गरी सिफारिस गरेको अनुरोधमा प्रधानमन्त्री ओलीले अस्विकार गरेको स्रोतले बतायो । ‘प्रधानमन्त्रीज्यूले युवराज खतिवडालाई नै निरन्तरता दिने बताउनु भएको छ, उहाँले अब कि वार कि पार शुरु हुन्छ भन्नुभयाे, खतिवडा नै अर्थमन्त्री रुपमा दाेहाेर्याउने उहाँकाे मनसाय छ’, स्राेतले भन्याे । डा. खतिवडाको स्थानमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सांसद बनाउने निर्णय सत्तारुढ नेकपाले गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभाको सांसद बनेका डा‍‍. खतिवडाको कार्यकाल २० फागुनमा सकिँदैछ । डा. खतिवडालाई सांसद नबनाउने नेकपा सचिवालयकाे निर्णय प्रधानमन्त्री ओलीले अस्विकार गरेका हुन् । याे सँगै अब उनको अर्थमन्त्री पद जाेगिने सम्भावना पनि बढेको छ । गौतम अर्थमन्त्री डा‍. युवराज खचिवडालाई रोक्ने र बहिर्गमन गराउने रणनीति अन्तर्गत राष्ट्रियसभामा जान तत्पर भएको स्रोतको दाबी छ । तर यो कुरामा प्रधानमन्त्रीले आनाकानी गरिरहेका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार वर्तमान क्याबिनेटमा ओलीका विश्वासिला पात्र खतिवडा नै हुन् । बाँस्कोटा बहिर्गमनपछि धक्का लागेका ओलीले खतिवडामाथि नै भर गर्दै आएका छन् । बाँस्कोटाले सम्हालेको सरकारको प्रवक्ताको जिम्मेवारी पनि खतिवडालाई दिएका थिए ।

डेढ करोड कारोबार गर्दै सकियो खोटाङ दिक्तेल महोत्सव

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा आयोजित ‘प्रथम खोटाङ दिक्तेल महोत्सव २०७६’ साढे एक करोड बढी कारोबार गर्दै सकिएको छ । गत फागुन २ गतेबाट शुरु भएको १० दिने महोत्सवमा रु एक करोड ५३ लाख बराबरको आर्थिक कारोवार भएको आयोजकले जनाएको छ । ‘प्रथम खोटाङ दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक समृद्धिको आधार, व्यवसाय प्रवद्र्धनको पूर्वाधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवमा करिब रु एक अर्बको कारोवार हुने प्रक्षेपण गरिएको थियो । महोत्सवमा विभिन्न १२० बिक्रीकक्षबाट रु एक करोड, बाल उद्यान, रोटेपिङ, रेल, कारलगायत मनोरञ्जनका साधनबाट रु २० लाख, होटल व्यवसायबाट रु १५ लाख, टिकट बिक्रीबाट रु १५ लाख ३० हजार र यातायात सेवामा रु तीन लाख बराबरको कारोवार भएको आयोजक उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए । एकलाखभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने भनिएको महोत्सवमा करिब ५६ हजारले मात्र अवलोकन गरेको आयोजकले जनाएको छ । यद्यपि महोत्सवका कारण वार्षिक रु २४ करोड २० लाखको कारोबार हुने वातावरण बनेको आयोजकको दाबी छ । खोटाङको आर्थिक तथा सामाजिक उत्थान गर्न पर्यटन, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, वन पैदावार, जडीबुटीलगायत स्थानीय उत्पादनको बजारीकरण तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रवद्र्धनमा महोत्सव आयोजना गरिएको थियो । त्रिधार्मिकस्थल हलेसी, तुवाचुङ, रुपाकोट, मझुवागढीलगायतका धार्मिक, सांस्कृतिक र रमणीय एवं पर्यटकीयस्थलको प्रचारप्रसार गरी व्यवसाय प्रवद्र्धन गर्न, जिल्लामा भएका पर्यटन, सिमेन्ट, जलविद्युत्, जडीबुटी, वन पैदावारलगायतका बारेमा जानकारी गराएर लगानीको अवसर सिर्जना गर्न, निकासीयोग्य वस्तुको पहिचान र प्रवद्र्धनमा महोत्सवबाट सहयोग पुगेको वाणिज्य सङ्घका महासचिव मनोज बजिमयले बताएका छन् । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेकाे उक्त महोत्सव सोमबार साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले समापन गरेका हुन् । महोत्सव अवधिभर गायक राजेशपायल राई, बद्री पङ्गेनी, ज्योति मगर, कमल खत्री, दुर्गेस थापा, उल्शन श्रेष्ठलगायत दर्जन बढी राष्ट्रियस्तरका कलाकारको प्रस्तुति तथा जिल्लास्थित विभिन्न जातजातिको सांस्कृतिक झाँकी एवं साङ्गीतिक प्रस्तुति रहेको थियो । जिल्लामा पहिलोपटक आयोजना गरिएको महोत्सव सञ्चालनको जिम्मा ठेक्का शैलीमा दिइएकाले जिल्लावासीका लागि कुनै उपलब्धि नभएको गुनासा आएका छन् । महोत्सवले जिल्लाका व्यवसायीलाई फाइदा हुने र व्यापार मन्दीका कारण थिलथिलो बनेको व्यवसायलाई यो महोत्सवले केही हदसम्म राहतको महसुस गराउँछ भन्ने आशामा तुषारापात भएको जिल्लावासीको आरोप छ । महोत्सवको विषयलाई लिएर अहिले सामाजिक सञ्जाल फेसबुकमार्फत धेरैले विरोध जनाएका छन् । महोत्सवकै विषयलाई लिएर समाजवादी पार्टी नेपाल खोटाङका नेता स्ूर्यबहादुर राईले महोत्सवको केही तस्वीरसहित फेसबुकमा राखेर ‘स्टाटस’ लेखेका छन् । उनले लेखेको स्टाटसमा भनिएको छ, “खोटाङको आर्थिक विकासमा कति टेवा पुग्छ ? म नाजवाफ छु !” सरकारले अवलम्बन गरेको समृद्ध नेपालको अभियानमा महोत्सवले टेवा पुर्याउँछ भन्ने अपेक्षा गरिए पनि जिल्लाका लागि उपलब्धिशून्य भएको होटल व्यवसायी निशान राईले बताए । महोत्सवमा खाजा तथा खाना खाने होटलदेखि बेचिने कपडालगायत सबै बाहिरकै व्यवसायीको थियो । यस वर्ष दिक्तेलमा सञ्चालन भएको महोत्सवले जिल्लामा तीन वर्षसम्म आर्थिक मन्दी हुने दिक्तेलबजारका चोकचोकमा टिप्पणी हुने गरेको छ । महोत्सवमै किराँती वेषभूषा तथा सामग्री बिक्रीकक्ष राखेका युगशन किराँतीले महोत्सवमा ल्याइएका बाहिरका व्यापारीले जिल्लावासीको लाखौँ रकम लगेको बताए । रासस