एससिटी र नेपाल फाईनान्सबीच सम्झौता, डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र नेपाल फाईनान्सबीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ । स्मार्टच्वाइस टेक्नोलोजिजको रजिष्टर्ड कार्यालय बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच स्मार्टच्वाइस टेक्नोलोजिजको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र नेपाल फाईनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । क्रियाशील स्मार्टच्वाइस टेक्नोलोजिजले नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई न्यूनीकरण गर्दै विद्युतीय कारोबारलाई बढवा दिँदै आएकाे छ । त्यस्तै, नेपाल फाईनान्सले पनि लामो समयदेखि सर्वसाधारणलाई बैंकिङ्ग सेवा पुर्याउदै आएको छ । यससँगै, दुइ कम्पनीकाे सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्ने विश्वास रहेकाे छ । स्मार्टच्वाइस टेक्नोलोजिजसंगको सहकार्यबाट नेपाल फाईनान्सले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्नेछ । एससिटीसंगको सहकार्यबाट उपलब्ध हुने चिप बेस एटिएम कार्डको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटिएम, ई-कमर्स जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने स्मार्टच्वाइस टेक्नोलोजिजका का.मु. प्रमुख कार्यकारी अधिकृत दिपेश मास्केले बताए ।
वेस्टर्न युनियनकाे दशैंको सौगात, भाग्यशाली विजेतालाई १० लाख उपहार
काठमाडाैं । दशैं तिहारको अवसरमा वेस्टर्न युनियनले ‘दशैंको सौगात’ प्रबद्र्धन योजना ल्याएको छ । यो योजनामा ग्राहकहरुले कात्तिक १ देखि मंसिर २७ गतेसम्म सहभागी जनाउन सक्नेछन् । साथै साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्नेछन् । यो प्रबद्र्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक रेमिटयान्स र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्नेछ । सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्र मा समावेश हुनेछ । यो योजना अन्तर्गत हरेक हप्ता १० जना भाग्यशाली विजेताले २५ हजार रुपैयाँ जित्नेछन् । यो योजना डिसेम्बर १२ तारिखसम्म लागू गरिने कम्पनीले जनाएकाे छ । यस बाहेक, प्रबद्र्धन अवधिभरि सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेताको कारोबार बाहेक ( स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुने र यसमा १ जना भाग्यशाली विजेताले १० लाख रुपैयाँ नगद जित्ने कम्पनीले जनाएकाे छ । लक्की ड्र को विजेता १६ डिसेम्बरमा घोषणा गरिनेछ ।
लघुवित्त बैङ्कर्स संघको उपाध्यक्षमा रामहरी दाहाल र कोषाध्यक्षमा भोजराज बस्याल नियुक्त
काठमाडाैं । नेपाल लघुवित्त बैङ्कर्स संघको उपाध्यक्षमा रामहरी दाहाल नियुक्त भएका छन् । आज (कार्तिक ३ गते) सम्पन्न संघकाे १४औं वार्षिक साधारण सभाले संघकाे रिक्त रहेकाे उक्त पदमा मेरो माइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दाहाललाई नियुक्त गरेकाे हाे । यससँगै, संस्थाकाे कोषाध्यक्षमा स्वाबलम्बन लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल नियुक्त भएका छन् । सभाले संघकाे कार्यसमितिमा हेरफेर गरी उपाध्यक्ष र कोषाध्यक्षसहित ५ जनालाई नियुक्त गरेकाे छ । त्यस्तै, नयाँ सदस्यहरुमा उन्नति सहकार्य लघुवित्तका प्रेम बहादरु पाठक, समता लघुवित्तका डा. मदन घिमिरे र गणपति लघुवित्तका अच्युत सापकोटालाई नियुक्त गरेकाे छ । संघका अध्यक्ष वसन्तराज लम्सालको अध्यक्षतामा संचालन भएको सभाले आ.व.२०७६/७७ को वार्षिक प्रतिवेदन तथा लेखा परिक्षण प्रतिवेदन र २०७७/७८ को वार्षिक कार्यक्रम तथा बजेट छलफल सहित पारित गरेकाे छ । संघले अनलाइन(जुम) मार्फत उक्त सभा सम्पन्न गरेकाे हाे । सभा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट उद्घाटन भएको थियो । उक्त सभामा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकाल तथा डा. प्रकाश कुमार श्रेष्ठ, नेपाल र्बैकर्स संघका अध्यक्ष भुवन दाहाल, नेपाल लघुवित्त संघका अध्यक्ष जगत बहादुर पोखरेल तथा नेपाल लघुवित्त र्बैकर्स संघका पूर्व-अध्यक्ष राम चन्द्र जोशीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नरले संघले लघुवित्त क्षत्रमा देखिएका विकृितहरु रोक्न पहल गर्नु पर्ने र लघुवित्त संस्थाहरुले आफ्नाे उद्देश्य हासिल गर्ने क्रममा आफ्ना ग्राहकहरुलाई समस्या नहोस् भन्ने तर्फ पनि सोच्नु पर्ने सल्लाह दिएका छन् । नेपाल लघुवित्त बैङ्कर्स संघ छाता संगठनका रुपमा २०६३ सालदेखि लघुवित्त क्षेत्रको हकहीतका लागि सक्रिय रहँदै आएको छ । र, ८३ वटा मध्ये ५७ वटा लघुिवत्त संस्थाहरु यसका सदस्य छन् ।